अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्द्रावतीमा सहायता सामग्री वितरण

 मंसिर १८, २०७७ बिहिबार २०:२४:१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्द्रावती गाँउपालिकाद्वारा आयोजित रक्तदान कार्यक्रम तथा अपाङ्गता सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । 

इन्द्रावती गाउँपालिकाको कार्यालय नवलपुरमा भएको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री पनि वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै इन्द्रावती गाँउपालिकाका अध्यक्ष वशंलाल तामाङले कोरोना महामारीको बीचमा रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । 

कार्यक्रममा नौ जनालाई अपाङ्गता सहायता सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । वितरण गर्न बाँकी अपाङ्गता सहायता सामग्री इन्द्रावती गाउँपालिकाले जिम्मा लिएको छ । ती सामग्री आवश्यकताअनुसार वितरण गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार २२ थान वैशाखी, १९ थान सेतो छडी, ३६ थान खाद्यान्न सामग्री, दुई बोरा आठ प्याकेट डाइपर रहेको थियो । कार्यक्रम सप्रोस नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घको सहयोग, इन्द्रावती गाउँपालिका अपाङ्ग सञ्जालको समन्वयमा भएको हो । कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको थियो ।  

सप्रोस नेपालको सहयोगमा इन्द्रावती गाँउपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको हो । साथै गाँउपालिकास्तरीय अपाङ्गता समन्वय समिति पनि गठन गरीएको छ, यो समिति गठनको लागि सप्रोस नेपालले सहजीकरण गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया