न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
लमजुङ– जिङ्ङ्ङ्ङि, सेताम्य फुलेका दारी र कपाल । हातमा फलामे साङ्लो । साँघुरो कोठा, कोठामा काठको एउटा मात्रै फल्याक । काठको त्यही फल्याकमाथि कम्बल ओढेर बसिरहेका थिए, लमजुङको दोर्दी गाउँपालिका ९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङ ।
१८ वर्षको उमेरदेखि गुरुङले यस्तै हालतमा कष्टकर जीवन बिताइरहनुभएको थियो । तीन दशकसम्म उहाँले साङ्लोमै बाँधिएर जीवन बिताइरहनुभएको थियो ।
१८ वर्षको उमेरमै मानसिक सन्तुलन गुमाउनुभएका गुरुङले गाउँघरमा दुःख दिने गरेपछि घरपरिवारले उहाँलाई साङ्लोमा बाँधेर राखेका हुन् ।
स्थानीयका अनुसार गुरुङ भारतीय सेनामा भर्ती हुन जानुभएकाे थियाे तर भर्ती हुन नसकेपछि उहाँलाई डिप्रेशनको समस्या भएको थियो । बा–आमाले सक्दो उपचार गर्दै आएका थिए, बा–आमाको निधनपछि उहाँले थप उपचार पाउन सक्नु भएन ।
मानसिक सन्तुलन गुमाएपछि गाउँघरमा दुःख दिने गरेकै कारण उहाँलाई घरको एउटा कोठामा तीन दशकदेखि साङ्लोले बाँधेर राखिएको थियो ।
कष्टकर जीवन बिताइ रहनुभएका गुरुङको बेसीसहर नगरपालिका ७ हाइस्कुल चोकमा रहेको मानव सेवा आश्रम लमजुङले उद्धार गरेको छ ।
गुरुङले लामो समयदेखि कष्टकर जीवन बिताइरहेको थाहा पाएसँगै सम्बन्धित निकायसँगको समन्वयमा उद्धार गरी उहाँलाई आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो ।
‘लामो समयदेखि कष्टकर जीवन बिताइरहनु भएका उहाँको उद्धार गरिएको छ,’ उहाँले भन्नुभयो ।
‘उहाँलाई सरसफाइ गरी नयाँ लुगा लगाइदिएका छौँ, आश्रममा हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘आश्रममा शान्त भएर नै बस्नुभएको छ, दुःख दिनुभएको छैन ।’
उहाँको पालनपोषणका साथै सक्दो उपचार गरिने र निको भएपछि उनलाई परिवारमा पुनर्मिलन गराइने संयोजक अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार २०७३ साल चैत १२ गते लमजुङमा स्थापना भएको आश्रमले असहाय, अनाथ, अशक्त, सडक मानवका साथै सहाराविहीनहरुको उद्धारसँगै उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । अहिले आश्रममा ११ महिला, १० पुरुष र पाँच बालिका गरी २६ जना आश्रित छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।