गोरखा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द, डाक्टरमाथि भएको हातपातको घटना छानबिन गर्न समिति गठन

 मंसिर २१, २०७७ आइतबार १५:७:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा – गाेरखा अस्पतालका कर्मचारीहरूले आकस्मिक बाहेकको सेवा बन्द गरेका छन् । ड्युटीमा खटिएका डाक्टरमाथि हातपात भएको विरोधमा उनीहरूले आइतबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । 

उनीहरूले हातपात तथा दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नभएसम्म आकस्मिक बाहेकका सेवा नदिने जनाएका छन् । आइतबार बिहान अस्पताल परिसरमा जम्मा भएका स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउँदै आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् ।

कोरोनाको जोखिमका बीचमा पनि सेवामा कमी नगरेको तर डाक्टरमाथि हातपात गर्नु निन्दनीय भएको अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष चिजकुमार श्रेष्ठले बताउनुभयो ।

गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ सुत्केरी हुन अस्पताल भर्ना हुनुभएको थियो । शौचालय जाँदा लडेपछि उहाँका कुरुवाहरूसँग स्वास्थ्यकर्मीको सामान्य विवाद भएको थियो । सुत्केरी महिलाका श्रीमान् देवेन्द्रजंग कुँवरले स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि गोरखा अस्पताल विकास समितिमा निवेदन दिनुभएको छ ।

घटनाबारे छानबिन गर्न गोरखा अस्पताल विकास समितिले पाँच सदस्यीय समिति नै गठन गरेको छ । समितिलाई घटनाबारे छानबिन गरेर एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताउनुभयो । घटनाबारे छानबिन सुरु भइसकेकाले सेवा बहिष्कार गरेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्कन आग्रह गरिएको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया