मनकामना मन्दिरसँगै केबलकार २८ गतेदेखि खुल्ने

 मंसिर २३, २०७७ मंगलबार १७:३१:२४ | किरण लोहनी
unn.prixa.net

गोरखा – गाेरखाको मनकामना मन्दिर मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण मन्दिर गएको चैत ७ गतेदेखि बन्द गरिएको थियो ।

मनकामना क्षेत्र विकास समितिको मङ्गलबार बसेको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड र कार्यविधि तयार पार्दै भक्तजनका लागि मन्दिरको पूजाआजा सुरु गर्ने निर्णय गरेको हो । तर तत्कालका लागि भने पञ्चबली, लाखबत्ती बाल्ने जस्ता ठूला पूजाआजा भने गर्न नदिने निर्णय भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेविन्द्र गुरुङले बताउनुभयो ।

मन्दिरमा दर्शन र पूजाआजा गर्न आउने भक्तजनले नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । दर्शन गर्न आउने भक्तजनलाई प्रवेश विन्दुमै ज्वरो नाप्ने र अन्य सामान्य स्वास्थ्य परिक्षणको व्यवस्था गरिनेछ भने व्यक्तिगत विवरण पनि सङ्कलन गरिनेछ ।

समूहगत रूपमा आएकाहरूको हकमा एक जनाले सबैको विवरण भर्नुपर्ने गरी कार्यविधि बनाइएको कार्यकारी निर्देशक गुरुङले जानकारी दिनुभयो । ‘हामीले सकेसम्म परिचयपत्रसहित आउन आग्रह गर्दछौँ’, उहाँले भन्नुभयो, ‘६० वर्षमाथिका भक्तजनलाई लाइनमा नराख्ने गरी दर्शन गर्ने व्यवस्था मिलाउने छौँ ।’

भक्तजनहरूका अतिरिक्त मन्दिरका पुजारी र क्षेत्र विकास समितिका कर्मचारीहरूको पनि बिहान र बेलुका दैनिक दुई पटक स्वास्थ्य जाँचको व्यवस्था गरिने उहाँको भनाइ छ । मन्दिर परिसरमा हात धुने ठाउँको व्यवस्थापन गर्दै भौतिक दुरी कायम हुने गरी दर्शन गर्ने प्रबन्ध मिलाउने काम सुरु भइसकेको गुरुङले जानकारी दिनुभयो ।

मनकामना मन्दिरसँगै मनकामना केबलकार पनि मङ्सिर २८ गतेबाटै सञ्चालन हुने भएको छ । ‘क्षेत्र विकास समितिको बैठकमा केबलकारका प्रतिनिधिहरूलाई पनि बोलाएका थियौँ’, कार्यकारी निर्देशक गुरुङले भन्नुभयो, ‘नाै महिनादेखि बन्द रहेको केबलकार सञ्चालनको प्राविधिक काम सकेर २८ गतेदेखि नै सञ्चालन गर्ने तय भएको छ ।’

सरकारले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सुरुमा धार्मिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयनमा समस्या देखिएपछि मनकामना केबलकार र मन्दिर बन्द गरिएको थियो । भक्तजनलाई दर्शनका लागि बन्द गरिए पनि मनकामना मन्दिरको नित्य पूजा भने सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया