एअरपोर्टदेखि कलङ्कीसम्म २ हजार आधुनिक सडक बत्ती जडान गर्न सम्झौतामा हस्ताक्षर

 मंसिर २५, २०७७ बिहीबार १६:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्नको लागि सम्झौता भएको छ । मुख्य सडकमा दुई हजार बत्ती जडानको लागि सहमतिपत्रमा काठमाण्डौ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा झण्डै १७ करोड रुपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको काम अघि बढ्नेछ ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै यातायातमन्त्री वसन्त नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो सङ्घीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताउनुभयो ।  

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।

आधुनिक सडक बत्तीमा काठमाण्डौ महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । बत्ती जडानको लागि खनिएको ठाउँको सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्ने पनि सम्झौतामा उल्लेख छ ।

सडक बत्ती जडान, सञ्चालनलगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित संयन्त्रले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने पनि सम्झौतामा उल्लेख छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया