उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – महिला सांसदहरूले पुरुष सांसदहरूबाट नै सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । लैङ्गिक न्यायका लागि सङ्घीय सांसदहरूको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरूले कतिपय पुरुष सांसदहरूबाटै हिंसा हुने गरेको बताएका हुन् ।
राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौडेलले सङ्घीय संसद्का पुरुष सांसदहरूबाटै महिला हिंसा भएका उजुरीहरू विभिन्न सङ्घ संस्थामा परेको बताउनुभयो । उजुरी परेपछि सांसदहरूले दबाब दिने गरेको त्यस्ता सङ्घ संस्थाका सञ्चालिकाहरूले आफूसमक्ष बताउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पीडितहरूलाई राख्ने सङ्घ संस्थाका सञ्चालिकाहरूले अहिलेकै बहालवाला सांसदले पनि महिला हिंसा गरेको उजुरी आएको छ वा पीडित महिलालाई राखिरहेका छौँ र त्यो पीडित महिलालाई किन राख्नुभयो, मेरो विरुद्धमा किन मुद्दा हाल्नुभयो भनेर बहालवाला सङ्घीय सांसदले हामीलाई थर्काइ राख्नुभएको ५ भनेर भन्नुहुन्छ । त्यो एकदमै जटिल कुरा हो ।’
महिला सांसदहरूको यो समूहले छाउपडीदेखि सांसदबाट हुने हिंसाको विरुद्धमा एकसाथ आवाज उठाउनुपर्ने पनि सांसद पौडेलले बताउनुभयो । यस्तै कतिपय कुरामा महिलाहरूले आफै हिंसा निम्त्याइरहेको पनि उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहनुभएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पवित्रा निरौला खरेलले चुनावमा उम्मेदवारी दिने विषयमा समेत महिलाहरू राजनीतिक हिंसामा पर्ने गरेको बताउनुभयो । जित्ने ठाउँमा पुरुष उठ्ने र नजित्ने ठाउँमा महिलालाई उठाएर राजनीतिक रूपमा महिला हिंसा हुने गरेको बताउनुभयो । महिला संसदहरू कानुन निर्माण गर्ने थलोमा रहँदा समेत हिंसामा पर्दा प्रताडित हुने गरेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी कानुन बनाउनको लागि यो ठाउँमा उभिएका छौँ । आइपुगेका छौँ । तर हामी पनि आज हिंसामा छौँ । आज पनि हामीहरू राजनीतिक हिंसाबाट प्रताडित भइरहेका छौँ । आज पनि महिला भन्ने बित्तिकै सभा सम्मेलन गोष्ठीमा बोलाउनुपर्दा पोर्टफोलियोको हिसाब गरिँदैन । त्यहाँ पुरुषलाई पहिला बोलाउने र महिलालाई चिट दिएपछि मात्रै बोलाउने काम हुन्छ ।’
सांसद निरौलाले चुनाव जितेर आएका महिला सांसदहरुलाई पनि विभिन्न मानसिक तनाव दिने गरिएको बताउनुभयो ।
नेकपाकी सांसद विन्दा पाण्डेले अपराध संहिताको दफा २६ मा जबरजस्ती करणी गरेको अवस्थामा महिलाले आत्मरक्षाका लागि प्रतिकार गर्दा पुरुषको ज्यान गएमा कसुर नलाग्ने उल्लेख भए पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । पछिल्लो समय धनकुटामा भएको घटनामा त्यस्तै देखिएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकारले नल्याएका विधेयकहरू महिला सांसदहरू मिलेर गैरसरकारी विधेयकका रूपमा संसदमा दर्ता गराउनुपर्ने बताउनुभयो । त्यसका लागि अहिलेको यो समूहले नेतृत्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले ल्याउने विधेयकहरू त छँदैछन् । गैरसरकारी विधेयकहरू पनि दर्ता गर्नुपर्छ, हामी महिलाहरूले साँच्चै यो विधेयक आवश्यक छ । सरकारले यो विधेयक हामीले भनेको जस्तो न्याय दिने खालको विधेयक ल्याएको छैन भने हामीले गैर विधेयकका रूपमा सरकारले नल्याएको विधेयक संसदमा दर्ता गराएर त्यसका लागि छलफल गराउनुपर्छ ।’
नेकपाकी सांसद विद्या भट्टराईले महिलामाथि हुने हिंसालाई अपराधको रूपमा लिइनुपर्ने बताउनुभयो । तर अहिले हिंसा र अपराधका मुद्दालाई महिला विकासको रूपमा मात्र व्याख्या गरी कार्यक्रमहरू गरिएकाले हिंसाका घटना भइरहेको बताउनुभयो । यसमा दलहरूबीच छलफल चलाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले नेपाल सरकारका मातहतका समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व नगराउनु पनि महिलाविरुद्धको हिंसा भएको बताउनुभयो । संविधानले दिएको व्यवस्थासमेत कार्यान्वयनमा नआएको भन्दै महिलाको उपस्थिति बढाउन फेरि संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफलमा सांसदहरूले राजनीतिक रूपमा नै हिंसा अन्त्य नभएसम्म तल्लो तहमा हुने हिंसाका गतिविधिमा न्यूनीकरण ल्याउन नसकिने बताएका छन् । ऐन, कानुन बुझेकाहरूबाटै हिंसा भइरहने समाजमा ऐन, कानुन नबुझेकाबाट हुने हिंसा न्यूनीकरणका लागि धेरै काम गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।