‘चुनावमा माेनाे रेल ल्याउने भनिए पनि अहिलेसम्म परियाेजना सुरु गर्न सकिएन’

 मंसिर २६, २०७७ शुक्रबार १८:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा नागरिक समक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरू सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

मेयर शाक्यले काठमाण्डौ महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनो रेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रियस्तरको मेगा हललगायतका परियोजना सुरु गर्नसमेत नसकिएको बताउनुभयो । शुक्रबार कुराकानी गर्दै मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताउनुभएको हो ।

काठमाण्डौ महानगरपालिकाको हरि भवन पुनर्निर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण सुरु गर्न नसकिएको बताउनुभयो । तर पनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको उहाँकाे भनाइ छ । महानगरबासीलाई एउटै भवनबाट सेवा दिने प्रतिबद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको बताउनुभयो । 

उपत्यकाको चक्रपथमा मोनो रेल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको उहाँले बताउनुभयो । चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनो रेल निर्माण गर्ने कार्यको सुरुवात गर्न नसकिएको उहाँ भन्नुहुन्छ ।  

यस्तै तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको पनि उहाँले बताउनुभयो । बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको उहाँकाे भनाइ छ ।  

यस्तै काठमाण्डौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाण्डौको भृकुटी मण्डपमा बनाउने भनिए पनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताउनुभयो । तर सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिए पनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो । 

महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिए पनि काम गर्न नसकिएको उहाँकाे दाबी छ । काम गर्न खोज्दा खोज्दै पनि विरोध गर्ने प्रवृत्तिले गर्दा आयोजनाहरूलाई अगाडि बढाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । कुनै पनि कामको विरोध गर्ने प्रवृत्तिलाई धर्मको रूपमा लिने र विरोध गरी असफल बनाइ आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको उहाँकाे भनाइ छ ।    

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया