माछा मार्ने विषयमा दुई पक्षबीच झडप हुँदा सप्तरीमा एक महिलाको ज्यान गयाे, चार जना घाइते

 मंसिर २९, २०७७ सोमबार १३:३२:५९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा माछा मार्ने विषयमा दुई पक्षबीच भएको झडपमा एक महिलाकाे ज्यान गएकाे छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । सप्तरीको बोदे बरसाईन नगरपालिका ३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।  

छपकी पोखरीमा माछा मार्ने विषयमा आइतबार राति भएको झडपमा स्थानीय ४० वर्षीया गंगीया देवी मण्डलको ज्यान गएकाे हाे । झडपका क्रममा टाउकोमा बञ्चराे लागेर मण्डलकाे घटनास्थलमै ढलेर ज्यान गएकाे स्थानीयले बताएका छन् ।

यसैगरी झडपमा त्यही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् । गम्भीर चोट लागेका तीनै जनालाई उपचारको लागि विराटनगरकाे न्युरो शिक्षण अस्पताल पठाइएको छ भने जोगिन्द्रको बोदे बरसाईनकाे क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा संलग्न अर्को पक्षका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यही ठाउँका ४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया