प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धनुषा – सहयोग भनेको स्वच्छ मनले गर्ने हो । भनाइ पनि छ, ‘मनमा कुनै स्वार्थ बोकेर सहयोग गर्नु पाप हो ।’
तर सबै सहयोग स्वार्थविनाको नहुन पनि सक्छन् । यदि त्यसो हुन्थ्यो भने त २१ वर्षमै श्रीमान गुमाएकी बबिता देवीले विश्वास गरेकै मानिसबाट धोका सहनु पर्दैन थियो । सुखले पाल्ने सपना बाँडेर परदेश गएका श्रीमानको नाममा आएको क्षतिपूर्ति बापतको रकमका लागि लड्नु पर्दैन थियो । तर स्वार्थी दुनियाँमा पीडामा भएकालाई सहयोगको नाममा ठग्न खोज्नेहरु पनि हुँदा रहेछन् ।
बबिता देवीको घर धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ जुरीमा पर्छ । घरको अभाव टार्न र केही कमाउने आशमा उहाँका श्रीमान छुथहर्वा मण्डल खत्वे कतार उड्नुभयो, बबिताको काँधमा दुई छोराछोरी र घरव्यवहार छाडेर । तर दैवको खेला कमाउन गएका श्रीमानको कमाइ हैन बाकसमा प्याक भएर लास आइपुग्यो ।
गएको मे १६ मा छुथहर्वाको हृदयघातका कारण कतारमै ज्यान गयो । बबिताको जिन्दगीको एक मात्र आधार श्रीमान् नै हुनुहुन्थ्यो । तर उनै श्रीमान बाकसमा प्याक भएर आउँदा २१ वर्षकै उमेरमा बबिताको जीवनमा कालो बादल मडारियो, कहिल्यै नफाट्ने गरी । तर बाध्यता । जाने कहाँ, गर्नु के ? वास्तविकतालाई स्वीकार्नु नै थियो ।
कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा बबिताले केही समय श्रीमानको शव ल्याउनसमेत कुर्नु पर्याे । लामो समयदेखि आकाशमा जहाज नउड्दा र जताततै कोरोनाको डरले बबिताको मनले हरेस खान थालिसकेको थियो । कोरोनाको भन्दा पनि बबिताको मनमा आफ्नो श्रीमानलाई अन्तिम पटक पनि भेट्न पाउँदिन कि भन्ने अत्यास बढ्यो ।
सानै उमेरमा श्रीमान गुमाउनुको पीडामा डुबेकी बबितालाई सहयोग गर्न आइपुगे गाउँकै छिमेकी ।
सन्तोष दास नाम गरेका उहाँका छिमेकी बबितालाई सहयोग गर्न अघि सरे । सन्तोषले परदेशबाट छुथहर्वाको शव झिकाउनको लागि धनुषामा रहेको आप्रवासी स्रोत केन्द्रमा बबितालाई पनि साथै लगेर निवेदन लेखिदिए ।
नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत अहिले धनुषामा जस्तै देशभरीका ३९ जिल्लाहरुमा आप्रवासी स्रोत केन्द्रहरु सञ्चालित छन् ।
केन्द्रकै समन्वयमा छुथहर्वाकाे शव सरकारले उद्धार उडान सुरु गरेपछि गएको जुन १९ तारिखमा नेपाल आइपुग्यो । यस्तो अप्ठ्यारो समयमा आफ्ना श्रीमानको शव नेपाल ल्याउन सहयोग गरेकोमा बबिताले सन्तोषलाई धन्यवाद दिनुभयो ।
वैदेशिक रोजगार ऐन अनुसार श्रम अवधिभित्रै ज्यान गुमाएका श्रमिकको परिवारले बीमा बापतको रकमसहित वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाउँछन् । तर बबितालाई भने त्यही रकम लिन पनि हम्मेहम्मे भयो । आफू पढेलेखेको नभएपछि परदेशबाट श्रीमानको शव झिकाउनदेखि पाउनुपर्ने रकम पाउन पनि अरुको सहयोग लिनु पर्यो । छिमेकी सन्तोषले नै उहाँलाई यी काममा सहयोग गरे ।
भनेअनुसारका सबै कागजात लिएर बबिता र सन्तोष आप्रवासी स्रोत केन्द्र धनुषामा पुगे । स्रोत केन्द्रले सबै कागजातको जाचँ गरेर प्रक्रिया पूरा गरी क्षतिपूर्तिका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को ठेगाना र सम्पर्क नम्बर दियो र उनीहरुको ‘केस’ पीएनसीसीलाई पठाइ पनि दियो ।
पीएनसीसीले पीडितको अवस्था हेरी बोर्डमै जानुपर्ने भयो भने पनि गइदिने भएकोले स्रोत केन्द्रले पीएनसीसीमा रेफर गरिदियो । बबिताले काठमाण्डौ आउनुपर्ने भयो । तर कोरोनाका कारण देशव्यापी लकडाउन थियो । सार्वजनिक यातायात ठप्प थिए ।
त्यसको लागि पनि आप्रवासी श्रोत केन्द्रले नै प्रमुख जिल्ला अधिकारीसँग भेटेर सवारी पास उपलब्ध गराउनमा सहयोग गरिदियो ।
बबितासँगै सन्तोष पनि काठमाण्डौ आए । काठमाण्डौ आएपछि बबितालाई आफ्नो आफन्तको कोठामा राखेर सन्तोष साथीसँग होटलमा बस्न गए । भोलिपल्ट बीमा र वैदेशिक रोजगार बोर्डको काम सके । त्यसमा पीएनसीसीले पनि सहयोग गर्यो । बबिताले बोर्डबाट आर्थिक सहायता बापत ७ लाख र बीमा बापतको १४ लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
बैंकमा बबिताको नाममा खाता खोलेर बोर्डले दिएको चेकको रकम त्यहाँ जम्मा गर्नुपर्ने भयो । तर बबिताले भगवान सरह विस्वाश गरेका सन्तोषले पैसाको चेक हातपरेपछि घात गरे ।
‘त्यही मौका छोपेर सन्तोषले विभिन्न तीनवटा खाली चेकमा मलाई हस्ताक्षर गर्न लगाएछ’, बबिताले भन्नुभयो, ‘म काठमाण्डौबाट घर आइपुगेपछि खाताबाट दुई लाख रुपैयाँ निकालियो भनेर मेरो मोबाइलमा म्यासेज आयो ।’
आफूले ननिकालेको रकम कसरी झिकियो भनेर बबिता अचम्ममा पर्नुभयो । तर सन्तोषले बबिताबाट रकम लिन भने थप उपाय अपनाउँदै गए ।
‘तीन, चार जना अज्ञात व्यक्तिहरु राति मेरो घर आएर म काठमाण्डौबाट आएको हुँ, काठमाण्डौको सर र आप्रवासी श्रोत केन्द्रको सरहरुले थप पैसा मागेको छ भने’, बबिताले सुनाउनुभयो, ‘पछि गाउँलेहरुले ती अज्ञात व्यक्तिहरुको परिचय–पत्र हेर्न खोजे, तर उनीहरुले आफ्नो परिचयपत्र नदेखाएपछि गाउँलेहरुले उनीहरुलाई लखेटे ।’
बबिताका अनुसार ती अज्ञात व्यक्ति सन्तोषका साथी थिए । आप्रवासी स्रोत केन्द्रले कसैले पनि पैसा माग्यो भने नदिनु भनेको बबितालाई राम्रोसँग सम्झना थियो । त्यसपछि बबिताले गाउँमा पञ्च बोलाउनुभयो ।
‘पञ्चको बीचमा सन्तोषले दुई लाख ४० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भयो’ बबिताले भन्नुभयो, ‘त्यसपछि उसँग बोल्ने कुनै शब्द नै थिएन, लाजले शीर निहुराएर छेउमा बसिरह्यो ।’
पञ्चको छलफलपछि सन्तोषले दुई लाख रुपैयाँ फिर्ता गर्ने र गाडी भाडा, खाना र बस्नमा खर्च भैसकेको ४० हजार रुपैयाँ फिर्ता नगर्ने कबुल गरे । ‘म आफैंले पनि सहयोग गरेको भनेर सन्तोषलाई ४० हजार रुपैयाँ माफ गरिदिएँ’, बबिताले भन्नुभयो ।
कहिल्यै कारोबार नगरेको तथा बैंक र पैसाको बारेमा त्यति जानकारी नराख्ने बबितालाई अहिले पनि त्यो क्षण सम्झँदा नरमाइलो लाग्छ । भन्नुहुन्छ, ‘दुःखमा सहयोग ग¥यो, ठग्ला भनेर त कसले सोच्छ र !’
ठग्ने नियत ले नै सही तर आफूलाई आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा पुर्याएकाले ठगीबाट बचियो भन्ने लाग्छ बबितालाई ।
एकातिर श्रीमान् गुमाउनुको पीडा अनि अर्कोतिर ठगको जाल । बबिताले सहयोगमा स्वार्थ छुट्याउन सक्नुभएन । तर स्रोत केन्द्रले पैसा पाउने प्रक्रिया र कसैले ठग्न सक्छन् भन्ने जानकारी बेलैमा दिएकाले बबितालाई सहज भयो ।
अहिले पनि बबिता भन्नुहुन्छ, ‘यो केन्द्र नभएको भए मेरो श्रीमानको शव ल्याउन र यतिको रकम मैले पाउन सक्थिनँ कि, आफ्नाहरुले त ठगीहाल्ने रहेछ ।’
आफू आफन्तै र विस्वाश गरेकै मानिसबाट ठगीमा परेपछि अहिले बबिता सचेत हुनुभएको छ । उहाँ अब यस्ता ठगहरुबाट बच्ने उपाय आफैं अपनाउन थाल्नुभएको छ भने वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नेलाई सही सूचना, जानकारी र सहयोगका लागि आप्रवासी स्रोत केन्द्र धनुषामा समेत ल्याउन थाल्नुभएको छ ।