व्यङ्ग्य - देशमा बेस, त्यही अध्यादेश !

 पुस ४, २०७७ शनिबार १०:११:३० | मिलन तिमिल्सिना
unn.prixa.net

भन्नेले त प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई अध्यादेश, विद्यादेश र सिध्यादेश समेत भने । तर जो जस्ले जेसुकै भनून्, यो देश नचल्नु र देशमा भनेजस्तो नहुनुको मुख्य कारण अध्यादेशको अभाव हुनु हो भन्ने कुरा हरेक प्रधानमन्त्रीलाई थाहा छ ।

यो देशको समस्या भनेकै अध्यादेश कम हुनु हो र कम भएको स्थान पूर्ति गर्न अध्यादेश ल्याउँदा प्रधानमन्त्रीलाई बसीखान नदिनु हो । बिचरा प्रधानमन्त्रीले त सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन अध्यादेश ल्याउन खोजेकै हुन् ।

अध्यादेशबाटै सबैथोक गर्न खोजेका हुन् । तर आफ्नैले बिरोध गरे । अध्यादेशबाट देश चलाउने र देशबासीको भलो गर्ने प्रधानमन्त्रीको अभियानलाई पार्टीभित्रकै बिरोधीहरुले भाँजो हाले र हाल्दैछन् । खुरुखुरु अध्यादेश ल्याउन दिएको भए अहिलेसम्म के के भैसक्थ्यो !

ठूला कुरा किन गर्नु, अहिलेको चिसो र उखु किसानकै कुरा गरौं । पुस लागेदेखि चिसो ह्वात्तै बढेको छ । रुई, फुई र दुई नहुनेहरु चिसोले कठ्याङ्ग्रिएका छन् । खुरुखुरु अध्यादेश ल्याउन दिएको भए प्रधानमन्त्रीले रुई, फुई र दुई सम्बन्धी अर्को अध्यादेश ल्याउनुहुन्थ्यो । तापक्रम माइनसमै गए पनि मान्छेको न्यानो प्लस हुन्थ्यो । चिन्ता गर्नै पर्दैनथियो ।

चिनी मिलबाट लिनुपर्ने पैसा खोज्दै उखु किसान तराईको तातो छोडेर काठमाण्डौको चिसोमा नारा लगाउन आएका छन् । जतिसुकै रुवाबासी र हारगुहार गरे पनि चिनी मिलले पैसा दिने ठेगान छैन । पैसा पाउने नपाउने ठेगान नभए पनि उखुबारेको अर्को अध्यादेश ल्याउन सकिने निश्चित थियो । जुन अध्यादेश पढेपछि उखु किसान गदगद हुँदै जिल्ला फर्कन पाउँथे । तर उखु किसानको हितमा आउन सक्ने यो अध्यादेशको बाटो पनि बन्द भयो ।

पैसा पाउने नपाउने ठेगान नभए पनि उखुबारेको अर्को अध्यादेश ल्याउन सकिने निश्चित थियो । जुन अध्यादेश पढेपछि उखु किसान गदगद हुँदै जिल्ला फर्कन पाउँथे । तर उखु किसानको हितमा आउन सक्ने यो अध्यादेशको बाटो पनि बन्द भयो ।

तत्काल नभइ नहुने अर्को अध्यादेश त बिहेको लगन सम्बन्धी थियो । वर्षभरिमा बिहे गर्न पाउने लगन मुश्किलले १५, २० दिन मात्रै हुन्छ । वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनका केही दिन । यसपालि कोरोनाले वैशाख, जेठ र असारमा बिहे हुन पाएन ।

बिहे गरेपछि पनि भौतिक दूरी पालना गर्नुपर्ने डरले धेरैले हुन लागेको बिहे पनि हापे । त्यतिबेला रोकिएका धेरै मंसिरमा पास भए । तर मंसिरको लगनले मात्रै सबैको बिहे गर्ने इच्छा पूरा हुन सकेको छैन । बाँकी भएकाको माघ र फागुनमा गर्न हुन्थ्यो । तर यसवर्ष माघ र फागुनमा लगन नै छैन ।

माघ र फागुनमा बिहेको लगन नहुँदा जोडी बाँध्न ठिक्क परेर बसेकालाई मात्र होइन, जन्त र भोजभतेर पर्खेर बसेकालाई पनि खल्लो भएको छ । ९ महिनापछि मंसिरमा बल्लबल्ल एक दुई ठाउँबाट भोजको निम्तो मिल्यो । तर त्यति स्वादको भएन । माघ, फागुनमा स्वाद मानेर भोजभतेर खाने चाहना लगन नहुँदा पूरा नहुने भएको छ ।

जोडी बाँध्न लागेका र भोजभतेरको स्वाद पर्खेर बसेकाहरुको हितमा ध्यान दिंदै मिले यही पुसमा, नभए माघ र फागुनमा जसरी पनि बिहेको लगन झिक्ने अध्यादेश आउनुपर्ने थियो । प्रधानमन्त्रीलाई काम गर्न दिएको भए यो अध्यादेश पनि आउँथ्यो । तर यसतर्फ पनि कसैको ध्यान पुगेन ।

चिसोमा नुहाईधुवाई गर्न पनि गाह्रो हुन्छ । घरमै बस्दा होओस् या काममा निस्कँदा जाडोभरी नुहाईधुवाई गर्नै नपर्ने व्यवस्थासहितको अध्यादेश पनि यतिबेलाको आवश्यकता थियो । अनि कोरोनाको डर त कम भएको छ, तर कोरोना हटिसकेको छैन । अस्पताल, औषधि र खोपको तनाव लिनुभन्दा कोरोना हटिजाने खालको अध्यादेश पनि चाहिएको थियो ।

लकडाउनले महिनौंसम्म घरमा बस्दा पढ्ने र काम गर्ने बानी गयो । सरकारले स्कुल कलेज खोल्न थाल्यो । परीक्षा पनि सुरु भयो । तर पढ्ने र परीक्षा दिने आनीबानी हराइसक्यो । बदलिँदो आनीबानीअनुसार पढ्दै नपढी र केही पनि नगरी खान पाइने बन्दोबस्त मिलाउने अध्यादेश पनि यतिबेला धेरैको आवश्यकता थियो ।

आमनागरिकको टड्कारो आवश्यकता पूरा गर्न मात्रै होइन, सरकारका ठूल्ठूला नारा, सपना र अभियान सफल बनाउन पनि अध्यादेश नभई भएको थिएन । दुई वर्षअघि नै प्रधानमन्त्रीले भनेजस्तो रेलको टिकट काटेर बसेका कतिपय नागरिकको आँखा अझै उत्तर र दक्षिण सीमानामै छ ।

पानीजहाज कहिले चल्ला भनेर व्यग्र प्रतीक्षा छ । देशले काँचुली फेरेको, सबै नागरिक सुखी र खुशी भएको, जता फर्के पनि समृद्धि नै समृद्धि छताछुल्ल भएको हेर्न सबै लालायित छन् । सरकारको काम र योजनाले त यी सबै कुरा पूरा हुने छाँट छैन । यसकै लागि भए पनि अध्यादेश चाहिएको थियो । 

अध्यादेशले नै रेल गुडाउने, अध्यादेशले पानीजहाज चलाउने, अध्यादेशले देशको काँचुली फेर्ने, अध्यादेशले आमनागरिकको रोग भोक र अभाव मेट्ने प्रधानमन्त्रीको चाहनामा पार्टी भित्रकै बिरोधीले पहिले गारो लगाए र अहिले गारोमा तगारो समेत हालिदिए ।

अध्यादेश बिना देश चल्दैन भन्ने सबै पूर्व प्रधानमन्त्रीलाई थाहा हुँदा हुँदै देश अघि बढाउन श्री के.पी. शर्मा ओलीले ल्याएका अध्यादेशमा यसरी ब्रेक लाउन परेपछि देश अब कसरी चल्छ ? कसरी अघि बढ्छ ? लौ भन्नोस् त पूर्व प्रधानमन्त्री श्री ..... श्री .... श्री ..... र प्रमुख प्रतिपक्षी श्री ........... ज्यू !

अन्तिम अपडेट: माघ १७, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया