मेयर शाक्य जुम्लामा : काठमाडौँ महानगर र चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध

 पुस ८, २०७७ बुधबार १२:५७:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाले एक आपसमा भगिनी सम्बन्ध जोडेका छन् । 

जुम्लामा एक कार्यक्रमकाबीच काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालबीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी साइनो स्थापना गरिएको हो ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहित आठ जनाको टोली जुम्ला आएर चन्दननाथ नगरपालिकासँग साइनो जोडेका हुन् । 

समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्र भित्रका संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गर्न आवश्यक भएको जानकारी दिनुभयो ।

मेयर शाक्यले प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरिएको जानकारी दिनुभयो । 

उहाँले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिनुभयो । 

भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य गर्ने महानगरको आशा छ । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भगिनी साइनोले सकारात्मक भूमिका खेल्ने र यहाँका विकास निर्माणमा पनि टेवा पुग्ने बताउनुभयो ।

भगिनी सम्वन्ध स्थापना गर्दै कामठमाडौँ महानगरपालिकाले डेढ करोड सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको प्रशासकीय प्रमुख खढानन्द चौलागाईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया