इलाममा मानव अधिकार उल्लङ्घनका ४८८ घटना

आत्महत्याका दुई सय ६५ घटना

 पुस ८, २०७७ बुधबार २०:१४:११ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१७ देखि अहिलेसम्म जिल्लामा मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना भएका हुन् । यी घटनामध्ये सबैभन्दा बढी आत्महत्याको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

इन्सेक जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा इलामकी अध्यक्ष कोकिला ढकालले त्यस अवधिमा जिल्लामा बलात्कार, बहुविवाह, घरेलु हिंसा, आत्महत्या, कुटपिट, बालविवाह, जातीय विभेद, बलात्कारपछि हत्या, हत्या र मानव बेचबिखन जस्ता मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना घटेको जानकारी दिनु भयो ।

उहाँका अनुसार, सन् २०१७ मा एक सय ७८, २०२० मा एक सय ४०, २०१८ मा एक सय ३७ र २०१९ मा ३३ घटना घटेका छन् । जसमा आत्महत्याका दुई सय ६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचविखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई/दुई र बालविवाह एक रहेका छन् । 

घटना बढ्दो

अभिलेखित घटना गएको वर्षको तुलनामा यो वर्ष बढेर गएको देखिन्छ । सन् २०२० मा एक सय ४० घटना छन् भने सन् २०१९ मा ३३ वटा मात्रै रहेको इन्सेकको अभिलेखमा उल्लेख छ । यो तथ्याङ्कका आधारमा उल्लङ्घनका घटना एक सय सातले बढेको देखिन्छ । 

जसमा यस वर्ष सबैभन्दा बढी आत्महत्याका घटना छन् भने सबैभन्दा कम जातीय विभेदको घटना छ । गएको वर्ष शून्य रहेको यो घटना यस वर्ष बढेर एक सय १४ पुगेको छ । यस्तै जातीय विभेदको घटना पनि गएको  वर्ष शुन्य रहेको इन्सेकले जानकारी दिएको छ । 

प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले केही घटना अभिलेखीकरण गर्नबाट छुटेको बताउनुभयो । मानवीय सुरक्षालाई ध्यान दिने क्रममा पनि यस्ता घटना सार्वजनिक गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का कारण लागुऔषध प्रयोगकर्तामा उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ र स्वास्थ्य बीमा गरेका बीमितले औषधी नै नपाएको उदाहरण छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर १ का उपाध्यक्ष सोम सुसेलीले तथ्याङ्कमा यसलाई पनि समावेश गर्न सके राम्रो हुने सुझाव दिनुभयो । 
जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले मानव उल्लघङ्नका घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्दै जिल्लामा बल प्रयोगसम्बन्धीका तालिम दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तालिम दुई पटक भयो दिएको, यस तालिमले घटना घटाएर जेल सजाय भोगिरहेका व्यक्तिलाई प्रहरीले मायालु व्यवहार गर्न सिकाउँछ ।’ 

‘कोभिडका कारण लागुऔषध प्रयोगकर्ता बढेको छ । जसमा बालबालिका तथा किशोर–किशोरीलाई प्रयोगकर्ताले बढी प्रयोग गरेको पाइएको देखिन्छ’, उहाँले थप्नुभयो । 

नेपालमा अहिले तीन तह छ । अधिकार पालिकालाई सुम्पिएकाले हरेक घटना उसैसँग हुन्छ । गम्भीर अवस्थाका घटना, नीतिगत र अदालती घटना मात्रै जिल्ला प्रशासनसम्म आइपुग्ने भएकाले यस्ता घटना सार्वजनिक गर्नमा पत्रकारको समेत महत्त्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा प्रशासनको पूर्ण साथ रहन्छ ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहन सिंह थेवेले मानव अधिकार उल्लङ्घनका घटनाबारे सक्रिय भइ जानकारी लिइरहेको बताउनुभयो । अन्तर्क्रियाबाट आएका सुझावलाई समेत आउँदो वर्ष समेट्ने उहाँको भनाइ छ । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरेर वर्ष पुस्तक प्रकाशन गर्ने गरेको इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले जानकारी दिनुभयो । 

मानव अधिकार वर्ष पुस्तक २०२० पूर्ववार्षिक समीक्षा तथा मानव अधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा विभिन्न सङ्घ–सस्था, सम्बन्धित निकाय, सरोकारवाला, पत्रकारलगायतको सहभागिता थियो । मानव अधिकार मञ्च नेपाल इलामले यस कार्यक्रमको आयोजना गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया