नाग्म–गमगढी सडककाे १३ किलाेमिटर ५ वर्षमा पनि बनेन, काम नगर्ने कम्पनीलाई नवौँ पटक पत्र

 पुस ९, २०७७ बिहिबार १३:५९:२४ | नेत्र शाही
unn.prixa.net

नाग्म–गमगढी क्षेत्रको हिमा गाउँपालिकामा एम्बुलेन्स हिँड्न पनि कठिन सडक, तस्बिर: नेत्र शाही, जुम्ला ।

जुम्ला – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नाग्मबाट मुगुको गमगढी जोड्ने सडकको सुरुवाती विन्दु १३ किलोमिटरको काम अलपत्र भएको छ । १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले कामको जिम्मा लिएको हिल्दुङ एण्ड थोकर–हिरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ । 

डिभिजन सडक कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम सुरु गर्न पटक–पटकको निर्देशन नटेरेपछि नवौँ पटक पत्र काटिएको छ । बीचैमा काम छोडेर गएको निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते काम गर्न भनि अन्तिम पत्र काटिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

विसं २०७३ साल वैशाख १३ गते पहिलो पत्र दिइएको कम्पनीलाई अहिले नवौँ पटक पत्र दिइएको हो । पछिल्लो पटक पुस २ गतेको पत्र भने सात दिनको अल्टिमेटमसहित दिइएको कार्यालयले जानकारी दिएको छ ।  पत्रमा कार्यालयले मिति २०७३ वैशाख १३ गते, २०७३ फागुन १७ गते, २०७४ असार ३२ गते, २०७४ फागुन २५ गते, २०७५ साउन २ गते, २०७६ भदौ २९ गते, २०७६ पुस २० गते, २०७६ चैत २ गते आठ पटक र २०७७ पुस २ गते काम गर्न ताकेतासहितको पत्र काटिएको उल्लेख छ ।  

यसैगरी कार्यालयले २०७६ असोज २ गते र २०७७ कात्तिक २१ गते आर्थिक राष्ट्रिय दैनिकमा समेत काम गर्न भन्दै सूचना जारी गरिएको भए पनि काम अगाडि नबढेकोले पछिल्लो पुस २ गतेको सूचना अनुसार १० दिनभित्र काम नभए ठेक्का रद्द गरिने र अर्कोलाई जिम्मा दिइने कार्यालयले जानकारी दिइएको छ ।  

आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठ रहेको सांसद बहादुर सिंह लामाको फमको नम्बर १२/०७२/०७३ को यस ठेक्का सम्झौता २०७२ माघ ८ देखि २०७५ पुस ७ गतेसम्म थियो । दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि थपिए पनि काम हुन सकेको छैन । १३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार एक सय ३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यता आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले भने अन्तिम सूचनाको अन्तिम दिन बिहिीबार (आज) मात्रै काम सुरु गर्ने भनेर फोन गरेको कार्यालयले जनाएको छ । उनले दर्जनौँ पटक काम गर्छु भनेका तर अहिलेसम्मको बाँकी काम अलपत्र भएको कार्यालयले जनाउँदै आएको छ । 

ठेक्का नम्बर ३.१ –२०७४/०७५ मा खड्का कृष्ण गाल्भा–दक्याराभान जेभीको राजुसिहं कठायत र तारासिंह कठायतले जिम्मा लिनुभएको काम नाग्म–गमगढी राजमार्गको १७ देखि २५ सम्म आठ किलोमिटर जिम्मा लिइएको अहिले त्यस क्षेत्रको काम भने धमाधम भइरहको कार्यालयले जानकारी दिएको छ । 

नाग्म–गमगढी अन्तर्गत १३ किलोमिटरको काम समयमै नसकिँदा रारा र सिञ्जा जाने पर्यटकलाई सास्ती हुने गरेको छ । सडकको काम नसकिँदा स्थानीयलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । यस सडकमा एम्बुलेन्ससमेत हिँड्न कठिन भएको स्थानीय बरमबहादुर शाहीले जानकारी दिनुभयो । 

सडक कार्यालयको पुस २ गतेको पत्र–  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया