व्यङ्ग्य - देश विकास गर्छु भन्थे ओली, बिचरा धोवीको काम पो गर्दा रहेछन् !

 पुस १८, २०७७ शनिबार १०:१३:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

 हेर्दा हेर्दै राजनीति फेरियो । पार्टी कार्यालयभन्दा पाटी प्यालेस प्यारो भयो । पद र भुँडी वाइड, तर सोच चाहिँ साह्रै ‘न्यारो’ भयो । ठूलो भाग खोज्दै दुईतिर बाँडिएका नेकपाका शीर्षहरुलाई देख्दा र उनीहरुको कुरो सुन्दा रमाइलो नमान्ने मान्छे कमै होलान् ।

बालुवाटार र पार्टी कार्यालयमा बैठक हुँदा प्रधानमन्त्री सोफामा बसे भनेर खैलीबैली गर्नेहरु नै पाटी प्यालेसमा पुगेर ठूलो सोफामा गजक्क परेर बस्छन् । नाक फुलाउँछन्, त्यसैत्यसै दंग पर्छन् । मन नपरेको मान्छेलाई त्यहीँ बसेर पार्टीबाट हटाउन मिल्छ । आफैंले आफैंलाई ठूलो पदमा पुगेको घोषणा गर्दै फूलमाला पहिरिन पाइन्छ । ताली पनि त्यहीँ हुन्छ, गाली पनि त्यही फुर्छ । 

एउटै पाटी प्यालेस दुवैथरीको साझा भएको छ । तर सडक र सरकारमा चाहिँ भागबण्डा भैसकेको छ । ठूलो भाग पाएका र पाइन्छ भन्ने आशमा रहेकालाई सरकार, अनि ठूलो भाग नपाएका र पाउने छाँट पनि नभएकालाई सडक !

भागमा सरकार परेकाहरु चिल्ला कारमा हुईंकिन्छन् । अनि सरकारी भाग खान छाडेर सडकमा पुगेकाहरु चाहिँ चिल्ला कारबाट ओर्लेर एकछिन चिल्लो सडकमा पलेँटी कस्छन् । त्यसपछि बुरुकबुरुक उफ्रन्छन् । अस्तिसम्म अँगालो हालेर बसेको सहयात्रीको उछित्तो काढ्छन् ।  

ओहो गाली पनि कति आएका ! त्यो डाँका हो ! उ लोभी हो ! त्यो पापी हो ! त्यो दुष्ट हो ! उ चोर हो ! त्यो पाकेटमारा हो ! यो झन् ज्यानमारा हो ! उ त हारेर पनि चुनाव जितेको पानीमरुवा ! उ चाहिँ जित्न लायक नभएर पनि जितेको सिल्ली ! पटक्कै योग्य नभएर पनि सत्तामा पुगेको असक्षम हो त्यो ! उ फटाहा हो ! त्यो बेइमान हो ! उ नामुद भ्रष्टाचारी हो ! त्यो त बलात्कारी नै हो ! त्यो प्रतिगमनकारी हो ! उ प्रतिक्रियावादी हो ! विदेशी दलाल हो ! शोषक, सामन्ती, गरिबमारा हो.........!  

यो सबै थोक हामीले होइन, उनीहरुले नै भनेका । पहिले मिल्दासम्म त्यो फटाहा साह्रै सज्जन थियो, तर फुटेपछि रातारात दुश्मन भयो । त्यही दुश्मन अघिल्लो दिनसम्म पनि सहयात्री थियो । तर छुट्टिएपछि उ जस्तो हराम, असक्षम, हुतिहारा अर्को मान्छे नै भएन । एकले अर्कोलाई केही बाँकी नराखीकन पोल खोलेको र आन्द्राभुँडी सबै खोतलेर गाली गरेको सुन्दा हामीलाई पनि पछुतो लाग्नुपर्ने हो, कस्तोलाई नेता मानेका रहेछौं । तर यस्ता गाली र अपशब्द सुन्दा हामीलाई पनि रमाइलो मात्रै लाग्छ ।

एकजना नेता मुख फुलाउँदै चोर औंला ठड्याउँदै भन्छन्: रानीपोखरी ओलीले होइन, कालीगढले बनाएका हुन् । हामी हो मा हो मिलाउँदै पररर ताली बजाउँछन् । सर्पको खेती गर्न करोडौँ अनुदान पाएपछि भाषण गर्दै मच्चीमच्ची फेरि थप्छन्: ओली गोमन साँप नै हुन् । सर्पको खेती गर्ने र विष बेचर धन कमाउने सर्वहाराका नेताले भनेका कुरा कसरी नपत्याउनु ! सुन्नेबित्तिकै कार्यकर्ता रमिता मानेर ताली बजाउँछन् । हामीलाई पनि पत्यार नै लाग्छ ।

प्रधानमन्त्री ओलीको त दक्षता नै उखान टुक्काको हो । आफूलाई अध्यक्षबाट निकालेको पाटी प्यालेसमा  पुगेर ठूलो रहस्यको पर्दाफास गर्दै भन्छन्: प्रचण्डलाई नुहाउँदा नुहाउँदा ड्रमका ड्रम, ट्यांकरका ट्यांकर पानी, सेम्पो र साबुन सकियो । हामी मुर्छा परेर हाँस्छौं र सुइय सिठी फुक्छौँ । ओलीले यो रहस्य खोलेपछि बल्ल हामीलाई थाहा भो, काठमाण्डौमा मेलम्चीको पानी नआउनु र पानीको अभाव हुनुको मुल कारण ।

मेलम्चीको पानी समेत प्रचण्डलाई धुन र पखाल्न खर्च हुँदो रहेछ, ससुरालाई धुँदै धुँदै सकिने मेलम्चीको पानी बिचरा प्रचण्डकी बुहारीले कसरी राजधानीबासीका धारामा खसाउन् ! प्रधानमन्त्री त झन् बिचरै भएछन् ।

देश र नागरिकको हितको लागि काम गर्छु भन्थे, तर धोबीको काम पो गर्दा रहेछन् ! दिनदिनै प्रचण्डका जीउमा पानी हाल्ने, साबुन र सेम्पो लाएर मिचिमिचि मयल निकाल्ने, फेरि ड्रम र ट्यांकरबाट पानी खन्याएर नुहाइदिने र पुछिदिने ।

गर्मीका बेला दिनदिनै दुई अध्यक्षको वार्ता भन्ने सुनिन्थ्यो, तर अहिले बल्ल थाहा भो वार्ताका नाममा प्रधानमन्त्री त नुहाई धुवाईमा पो खट्दा रहेछन् । प्रधानमन्त्रीले पुसको जाडोमा समेत ड्रम र ट्यांकीको चिसो पानी खन्याएर साबुन र सेम्पोले रगड्न नछाडेका कारण पो चिसो खप्न नसकेर पो ओलीबाट प्रचण्ड भागेका रहेछन् भन्ने कुरा अहिले छर्लंग भयो ! 

प्रचण्डलाई धुने काम नभएपछि अहिले प्रधानमन्त्री फुर्सदिला भएका छन् । काम गर्न कार्यालय जान नसक्ने प्रधानमन्त्री पार्टी प्यालेसमा मान्छे जम्मा गरेर आफूलाई गाली गर्ने माथि महागाली वर्षाउँछन् । ओलीले अति गरे भनेर पहिलेका सहयात्री मुख छाड्दै सडकमा उत्रन्छन् । प्रतिपक्षलगायतका अरु दल पनि जिन्दावाद र मूर्दावाद भन्छन् । एउटा भन्छ-चुनाव, अर्को भन्छ-संसद पुनस्र्थापना । जे होस्, नेता र कार्यकर्ताले काम पाएका छन् । नागरिकले पनि हाँस्न र रमाइलो मान्न पाएका छन् ।

सडकमा बुरुकबुरुक गर्नेको ताँती लागेपछि अब सडकमा कोरोना हैन, कुरौटेहरु मात्रै बाँकी छन् । विश्वका अरु देश खोप लगाउने र ल्याउने हतारोमा छन् । हामीलाई खोप नै चाहिएको छैन । किनकी हिजोआज सडकमा कोरोना नै छैन । कोरोना नै नभएपछि किन चाहियो खोप ?

कोरोनाको कहर र खोपको हतारो छोडेर हामी आआफ्नो ठाउँमा उभिएर आफू कहाँ हो भनेर जनाउ दिइरहेका छौं । नेकपा सडकवादी र विपक्षी दलका नेता कार्यकर्ता उत्तरतिर फर्केर भन्छन् - हामी यहाँ छौं । प्रधानमन्त्री र उनी निकटका नेता कार्यकर्ता दक्षिणतिर फर्केर भन्छन् - हामी यहाँ छौं ।

यता न उताको अवस्थामा रहेका कांग्रेसका नेता कार्यकर्ता अलमलिँदै भन्छन् - हामी खै कताकता ! नेताहरुका रातदिनका झगडाले चेपुवामा परेका नागरिक उकुसमुकुस भएर छामछुम गर्दै भन्छन् - हामी चाहिँ कहाँ छौं? 

जे होस् सबै आआफ्नै ठाउँमा छौं । व्यस्त छौं, मस्त छौं ।

 

अन्तिम अपडेट: माघ १, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • JITENDRA DHAMI

    Jan. 2, 2021, 10:52 a.m.

    समसामयिक विषय बस्तुमा पेचिलो व्यंग्य !! एकदम राम्रो छ, नेता र जनता हरुको घैटो मा चाडै घाम लागोस !!

  •  0 Reply

तपाईको प्रतिक्रिया