साेलुखुम्बुमा यस वर्षकाे पहिलाे हिमपात, खुम्बु क्षेत्र सेताम्मे

 पुस २१, २०७७ मंगलबार १४:५२:१७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । साेलुखुम्बुकाे खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मे बनेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो ।

हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।

अघिल्लो वर्ष मङ्सिरको दाेस्राे हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्राे हप्तामा मात्रै हिउँ परेको हो । ओलखढुङ्गाकाे तल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुङ्गाको जन्तरधामलगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।

यसैबीच, खुम्बुसहित साेलुखुम्बुकाे तल्लो क्षेत्रमा पनि तापक्रम वृद्धि भएको स्थानीयले महसुस गरेका छन् । सोमबारदेखि हावा चल्न थालेसँगै विगतको भन्दा निकै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउनुभयो ।

बिहानको समय माइनस ३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने लुक्लामा मङ्गलबार बिहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । साेलुखुम्बुकाे तल्लो क्षेत्रमा हावा चलेसँगै तापक्रम बढेको महसुस भएको स्थानीयले बताएका छन् ।   

तस्बिर : सामाजिक सञ्जाल

अन्तिम अपडेट: चैत ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया