डेढ करोड ठगी आरोपमा युवती पक्राउ

नक्कली विवाह गर्दै, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै

 पुस २३, २०७७ बिहिबार २०:१०:१ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ । 

पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९) रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभावमा पारि डेढ करोड ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी, नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बहानामा कोरोना रोकथामका लागि राहत बाँडेको नाममा दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिइ बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

ठाउँठाउँमा युवाहरूसँग नक्कली विवाह गर्ने, अमेरिका–जापान पठाइदिने बहानामा ती युवतीले ठग्ने गरेको बताइएको छ । सुनसरी, झापालगायत जिल्लामा उनीविरुद्ध उजुरी परे पनि दैलेख प्रहरीको पहलमा काठमाण्डौबाट पक्राउ गरी उनलाई आजै मात्र हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख ल्याइएको हो । 

सुरुमा एक युवालाई फेसबुकमा साथी बनाएकी आरोपित विद्याले उनकै घरमा बस्दै आएकाे र कोरोना र पहिरो पीडित परिवारहरूलाई राहत सहयोग वितरण गरेर ती युवाको पारिवारिक राजनीतिक पहुँचको सहारामा ठगी गरेकाे खुलेकाे छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया