तातोपानी नाका केही समयका लागि बन्द हुने

 पुस २४, २०७७ शुक्रबार १९:२४:२६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ ।

भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ ।

बाढीले मितेरी पुल जगको दायाँ–बायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक सङ्घ–संस्था र कम्पनीलाई सूचित गरेको छ । तर अझै आधिकारिक रूपमा जानकारी नआएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुने बारे आधिकारिक खबर नपाएको बताउनुभयो ।

वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थन्किएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । तर पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी दिन बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया