व्यङ्ग्य - ओलीका उखानको सप्रसङ्ग व्याख्या

 पुस २५, २०७७ शनिबार ९:६:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

हिजोआज मुसुक्क मुस्कुराउन, पेट मिचिमिची हाँस्न र जिउमा काउकुती लगाउन टेलिभिजनमा हाँस्य-व्यङ्ग्य कार्यक्रम हेर्नै पर्दैन । कार्टुन र हाँस्य-व्यङ्ग्य कार्यक्रमले भन्दा बढ्ता मज्जा नेकपाका नेताहरुका भाषणले दिइरहेको हुन्छ । 

नेकपामा कुन नेताको पो कुरा गर्नु ! वामदेव गौतम आफू कतै छैन भन्छन्, तर दुवै समूहका उनी उपाध्यक्ष हुन् । हाँस्नको लागि वामदेवको भाषण सुन्नै पर्दैन, उनको यही अवस्था मनोरञ्जन लिन काफी छ ।

ओली, प्रचण्ड, नेपाल, खनालका त कुरै नगरौँ । एक-एकको अनुहार, विगत र वर्तमान, अनि भाषण सम्झँदैमा हाँसोको फोहोरा छुट्छ । त्यसमाथि पनि सरकारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बोली सुनेपछि लास बनेर घाटमा पुगेको मान्छे पनि चित्ताबाट जुरुक्क उठेर चित खाँदै हाँस्न बेर मान्दैन ।

ओलीका कुन बोलीको मात्रै बेलिबिस्तार लगाउनु ? २०७५ सालमा औँला ठाडो पार्दै ओलीले बोलेका थिए - ‘दुई वर्षभित्रमा काठमाण्डौलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाण्डौ आउँछन् ।’ 

तर यो हप्ताकाे पहिला दुई दिन ओलीले बोलेको उल्टो भयो । अस्ति दुई दिन काठमाण्डौको मौसम बद्ली के भएको थियो, यहीका बासिन्दाको सास प्रदूषणले झण्डै खुस्काइ दियो । मान्छे बस्न अयोग्य सहरहरुको सूचीमा काठमाण्डौ एक नम्बरमा पर्यो भन्ने कुरा विश्वका मान्छेले थाहा पाए । अहिले पनि अवस्था यस्तो छ कि सफा हावामा मात्रै कति सास फेर्ने, एकपटक काठमाण्डौको प्रदूषणमा पनि सास फेरौँ भनेर पर्यटक यहाँ आउन बेर मान्दैनन् ।

यो त दुई वर्षअघिको ओलीको बोली र त्यसको व्याख्या । त्यतिबेला ओलीले गफ दिएका ग्याँसका पाइप, चुच्चे रेल र पानीजहाजका कुरा एकछिनलाई बिर्सौं । बितेका दुई हप्ता यता ओलीले विरोधी नेतालाई भित्तामा पुर्याउने गरी दुई सय पटक ओकलेका गोलीजस्ता बोलीका केही अंशलाई मात्र सप्रसङ्ग व्याख्या गरी हेरौं ।

  •  प्रचण्ड र माधव नेपालकै कारण एकता गरेको तीन वर्षसम्म पार्टीले गतिहीन भएको निष्कर्ष सुनाउँदै ओलीले भने, ‘दुईवटा नटबोल्ट फेर्दा गाडी अगाडि बढ्यो । हामीले फेरेको पनि होइन, आफैं फुक्लिएको नटबोल्ट । खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएको थियो, पार्टी गतिसाथ अगाडि गयो ।’ 

  -   त्यो त हेर्दै थाहा भयो नि । नटबोल्ट खुस्केपछि ओलीले चलाएको गाडी ओरालो कुदेको कुदेकै छ । कहाँ पुगेर ठोक्किने हो र कुन भीरमा पुगेर फाल हान्ने हो ! तर गाडी बेपत्तासित कुदिरहेको छ ।

  •  पार्टी वैधानिकताको प्रश्नमा प्रचण्ड र नेपाललाई कटाक्ष गर्दै ओलीले पेडा पसलेको संज्ञा दिए । ओलीले भने - ‘निर्वाचन आयोगबाट हिजो मैले पत्र प्राप्त गरेँ । उहाँहरुले निवेदन हाल्नुभएको रहेछ असली हामी हौं भनेर । यो बरमझियाको पेडा पसल हो र असली र नक्कली हुन ?’

 -    तर यसो भन्दा ओली आफैँले आफैँलाई सबैभन्दा पुरानो असली बुढोको पेडा पसल मेरै हो भन्ने कुरा पनि त सबैले बुझिरहेकै छन् ।

  •  नेकपाको वैधानिकता आफ्नो समूहले पाउने दाबी गर्दै ओलीले आयोग र सर्वोच्च अदालतले चार्ली च्याप्लिन चिन्ने तर्क गरे । ओलीले भने - ‘जसको घर हो, उ निवेदन हाल्न किन जान्छ ? कार्की ब्याङ्क्वेटमा खानपिन गरेर केपी ओलीलाई निकाल्दिऔँ भनेर घोषणा गर्नुभएछ । निर्वाचन आयोगमा पनि पत्र पठाउनु भएछ केपी ओलीलाई निकाल्यौँ भनेर । त्यो हेरेर निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँस्नुभयो मलाई थाहा छैन ।’

 -   पत्र हेरेर हाँसे कि रोए, त्यो त निर्वाचन आयोगका आयुक्तहरुलाई नै थाहा होला । तर ओलीको यो कुरा सुनेर आयोगका आयुक्तबाहेक दुनियाँका अरु सबै हाँसे । आयुक्तहरु त नेकपाको घरझगडा मिलाउने उपाय फेला नपारेर दिनरात रोइरहेका पो छन् ।

  •  आफ्ना सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ओलीले कुहिएको फलसँग दाँजे । ओलीले भने, ‘अब, भेट्नु कुहिएर झरेको दुईटा फलहरुले रुख मै हुँ भनेर दाबी गर्ने ?’

 -   सबैलाई थाहा भएकै कुरा हो, सँगै रहेका फल एउटा कुहियो भने अर्को पनि सद्दे रहँदैन । अस्तिसम्म ओलीसँगै रहेका दुईवटा फलको भेट्नु कुहिएको हो भने आफूलाई भेट्नुको पनि भेट्नु ठान्ने ओलीको हालत झन् के होला ? दुईवटै फलको मूल भेट्नु आफै हो भन्ने ओलीलाई दुनियाँले कसरी सग्लो ठान्दो हो कुन्नि !

  • ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको आन्दोलनलाई रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गर्दै भने, ‘अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ । उहाँहरुको हालत त्योभन्दा बढ्ता हुनेवाला छैन।

 -   रत्नपार्कमा औषधि बेच्ने सबैले मान्छे जम्मा पार्न सक्दैनन् भन्ने कुरा त सबैलाई थाहा छ । जसले तुक्का हालेर चटके कुरा गर्न सक्छ, बेकामे औषधिलाई बकम्फुसे तुक्का हालेर मान्छे हँसाउन सक्छ, मान्छे उसैकोमा जम्मा हुन्छन् । रत्नपार्कमा औषधि बेच्नेमध्ये यस्तो खुबी माधव नेपाल र प्रचण्डसँगभन्दा त ओलीसँगै बढी छ । त्यसैकारण अहिले माकुने र पुकदा त अहिले पिठो बेच्न पनि नसकिने हो कि भनेर हैरान छन् । 

  • आफूले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको दाबी गर्दै ओलीले भने, ‘अहिले भारतका हरेक मान्छेलाई नेपालमा प्रधानमन्त्री को छ भनेर सोध्नुभयो भने कण्ठै थाहा छ ।’

 -   भारतको कुरा छोडौं, चन्द्रमा र मंगलग्रहतिर पनि थाहा भैसक्यो होला नेपालमा प्रधानमन्त्री को छ भनेर । चुनाव अघि रेल र पानीजहाज ल्याउँछु भनेर पाँच वर्षलाई चुनिने, तर न रेल ल्याउन नसकेपछि झेल गरेर तीन वर्षमै चुनाव ल्याउने प्रधानमन्त्रीलाई नचिनेर हुन्छ र ! त्यसमाथि हाँस्यकलाकारलाई समेत उछिनेर सारा मान्छेलाई हँसाउन सक्ने कला भएका प्रधानमन्त्रीलाई नचिनौँ भन्नेलाई पनि चिन्न कर लाग्छ ।

  •  ओलीले एक एक हिसाब केलाएर भने, ‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा ।’

-   अनि बालुवाटारको चोटा कोठामा बसेको हिसाब चाहिँ कसले गरिदिने नि ? सबैतिरको हिसाब गर्ने हो भने दुवैतिर ठ्याक्कै ४२० पुग्छ भन्छन् जानकारहरु त !

  • माधव नेपालको आलोचना गर्दै ओलीले भने, ‘दुई ठाउँबाट चुनाव हार्ने, संविधानसभामा आउने । स्प्रिङ बोर्डमा उछिट्टिएजस्तो गर्ने । चुनावमा हारेको मान्छे जम्प गरेर संविधानसभा सदस्य । संविधानसभाको संवैधानिक समितिको सभापति अर्को स्प्रिङ बोर्डमा जम्प गरेको छ । अर्को स्प्रिङ बोर्डबाट हाइजम्प । जम्प, हाइजम्प, पोलजम्प । चुनाव हारेको मान्छे माथि पुगिराख्या, दुनियाँ छक्क । त्यस्तो लोकतन्त्र खोज्नुहुन्छ उहाँ ।’

 -  अनि उबेला माधव नेपालले हाइजम्प र पोलजम्प गरेको त पार्टीलाई पनि मज्जै भएको थियो त । अनि दुनियाँ त अहिले पो छक्क पर्दैछन् कस्तो रहेछ नेपालको लोकतन्त्र भनेर । अमेरिकामा ट्रम्पले त यहीँबाट सिकिसके । 

यी त ओलीका केही बोलीका सप्रसङ्ग व्याख्या मात्रै हुन् । ओलीका जिब्रोको व्याख्या गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैन भन्ने घामजत्तिकै छर्लंग छ । अनि अन्त्यमा ओलीले फुँदा गाँसेर भन्न बाँकी एउटा टुक्का पनि जोडी हालौँ । धेरैले अमेरिकामा ट्रम्पले गरेको उपद्रोलाई ओलीसँग दाँजे । 

अमेरिका र नेपालको लोकतन्त्र उस्तै रहेछ, ओलीको सिको गरे ट्रम्पले भनेका छन् । यस्तो सुनेर ओलीलाई कस्तो भयो होला ? अब उनले भन्नेवाला छन्, ‘ट्रम्पले मेरो सिको गरे भन्ने साथीहरुलाई सम्झाऔँ - ट्रम्प कहिल्यै ओलीजस्तो हुन सक्दैनन् । उनले टुक्का मिलाएर भाषण गर्न जान्दैनन् । बन्दुकको गोलीमा भन्दा ओलीको बोलीमा तागत हुन्छ भन्ने उनलाई थाहै छैन । त्यसैले उनी ओलीजस्तो कहिल्यै हुन सक्दैनन् । उस्तै पर्यो भने ओली चाहिँ ट्रम्पजस्तो हुन सक्छन् ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया