गोरखामा भव्यताका साथ मनाइयो पृथ्वी जयन्ती, नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न माग

 पुस २७, २०७७ सोमबार २०:५:४८ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाका जनप्रतिनिधि र नागरिक अगुवाहरूले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा बनाउनुपर्नेमा जोड दिएका छन् । यसअघि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई राष्ट्रियरूपमै मनाउने गरिएकोमा पछिल्लो समय भने सार्वजनिक बिदा कटौती गरिएको छ । आधुनिक नेपालको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानलाई राष्ट्रले भुल्न नहुनेमा पनि उनीहरूको जोड छ । 

२ सय ९९ औँ पृथ्वी जयन्तीका अवसरमा गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकाममा भएको कार्यक्रममा नेपाल एकीकरण र जनसहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै इतिहासविद् प्राध्यापक डाक्टर राजाराम सुवेदीले पृथ्वीनारायण शाहको एकीकरण अभियानमा प्रत्यक्षरूपमा सहयोग पुर्‍याएका व्यक्ति र समुदायको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । 

पूर्वजहरूको योगदानकै कारण हामीले अहिले स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर बस्न पाएको उहाँले बताउनुभयो । राष्ट्रले पूर्वजहरूको योगदान भुल्दै गइरहेको अवस्थामा गोरखा नगरपालिकाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाएकोमा सुवेदीले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान झल्कने भौतिक संरचना बनाइ इतिहासप्रति रुचि भएकाहरूलाई गोरखामा आकर्षण गर्न सक्नुपर्ने बताएका छन् । उनीहरूले पृथ्वीनारायण शाहको तस्बिर अङ्कित मुद्रा र हुलाक टिकट प्रकाशन गर्नुपर्नेलगायतका विषयमा सङ्घीय सरकारले चासो दिनुपर्ने बताए ।

यस्तै गोरखा नगरपालिकाको नाम परिवर्तन गरि पृथ्वीनारायण नगरपालिका राख्नुपर्ने केही वक्ताहरूले माग गरेका छन् ।  

गोरखा सङ्ग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिक परिसरमा कार्यक्रम हुनुअघि हरमटारी खेलकुद मैदानबाट झाँकीसहितको र्‍याली निकालिएको थियो ।

गोरखा नगरपालिकाको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरि यो वर्षको पृथ्वी जयन्ती मनाइँदैछ । गोरखा नगरपालिकासहित पालुङटार नगरपालिका तथा सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आफ्नो पालिकामा आज बिदा दिएका छन् । 

यसैबीच पृथ्वी जयन्तीको अवसरमा गोरखाको गोरखनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया