चरन क्षेत्र बने सामुदायिक वन : घट्यो भेडापालन, लोप हुँदै परम्परागत राडीपाखी

 पुस २९, २०७७ बुधबार १२:४६:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : भेडापालनको लागि आवश्यक पर्ने चरन क्षेत्र सामुदायिक वन बनेपछि भेडाको उनबाट बन्ने पराम्परागत राडीपाखी लोप हुने अवस्थामा पुगेको छ ।

आधुनिक गलैंचाले बजार ओगटेको र भेडाको उन समेत पाउन मुस्किल परेको राडीपाखी व्यवसायीहरु बताउँछन् ।  केही वर्ष अघिसम्म गाउँघरमा भेडा तथा च्याङग्राको उनबाट बन्ने राडीपाखीको माग राम्रै थियो । तर अचेल भेडा पालन व्यवसाय घटेसँगै उन र राडीपाखीको उत्पादन समेत घटेको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका टेक बहादुर मगरको भनाइ छ ।

थुलुङ दुधकोसी गाउँपालिकाका संगम राईका अनुसार स्थानीय राडीपाखीलाई बजारमा आएको रङ्गीचङ्गी गलैंचाले समेत विस्थापित गरेको छ । झट्ट हेर्दा मानिसको ध्यान तान्ने र राडीपाखी भन्दा सस्तोमा समेत पाइने गलैँचातर्फ प्रयोगकर्ताको ध्यान केन्द्रित भएकाले परम्परागत राडीपाखी लोप भएको उहाँ बताउनुहुन्छ । 

विशेष गरी गुरुङ जातिको पुर्ख्याैली पेशासँग जोडिएको राडीपाखीको महत्व जन्म देखि मृत्यु संस्कारसँग समेत गाँसिएको हुन्छ । स्वास्थ्यको दृष्टीकोणले पनि अन्य धागोको कपडा भन्दा उनबाट बनेको राडीपाखी उपयुक्त हुने स्थानीय अनुभवीहरु बताउँछन् । तर पछिल्लो पिंढीले यसकाे महत्व बुझ्न नसक्नु र सम्बन्धित निकायले समेत चासो नदिनुले यसको प्रयोग कम हुँदै गएको स्थानीय बुढापाका बताउनुहुन्छ ।

‘अहिलेका पुस्ताले यसको महत्व बुझ्दैनन्, झिल्के कपडा लगाउन थाले, राडीपाखीलाई त बिर्सिहाले नि’, ओखलढुङगा, रुम्जाटारका नरदेवि गुरुङ चिन्ता व्यक्त गर्नुहुन्छ । 

राडीपाखीको उत्पादन र बजार बढाउन सके सयौंलाई रोजगारी दिन सकिने सम्भावना छ । त्यसका लागि भेडापालक किसान र राडीपाखी व्यवसायीलाई स्थानीय सरकारले सघाउनुपर्ने राडीपाखी व्यवसायीहरुको माग छ ।

सोलुखुम्बु र ओखलढुंगामा मात्रै बर्सेनि लाखौँ मूल्य बराबरको राडीपाखी उत्पादन हुने गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया