साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
कोख र काखमा छोराछोरी नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले बा भन्दा रहेछन् । माधवकुमार नेपालले चोर औँला ठड्याउँदै विरोध गरेपछि धेरैले यो कुराको पत्तो पाए ।
आफूलाई आफ्नै छोराछोरीले मात्रै बा भन्ने, तर ओलीलाई धेरैका छोराछोरीले बा भन्ने गरेको कुरा नेपाललाई चित्त बुझेन । यसअघि एउटै पार्टीमा छँदासम्म त चित्त बुझेकै थियो । छुट्टा भिन्न भएपछि चित्त बुझ्ने कुरो पनि भएन । त्यसैले सार्वजनिक कार्यक्रममै नेपालको दुखेको चित्तबाट पीपको भेल बग्यो । ओलीलाई किन बा भन्ने भनेर कार्यकर्तालाई र्याखर्याख्ती पारे । तर ओलीलाई बा भन्ने कार्यकर्ताको कुरो चाहिँ अर्कै रहेछ ।
‘जसले बाको जस्तो व्यवहार गरे, उसैलाई बा भन्ने हो । नेपालले जा जस्तो व्यवहार गर्छन्, ओलीले बा जस्तो व्यवहार गर्छन् । जा जस्तो व्यवहार गर्नेलाई धाइ बा पनि भन्न सकिँदैन, तर बा जस्तो व्यवहार गर्नेलाई मज्जाले बा भनिन्छ, अरुलाई के को टाउको दुखाइ ?’ उनीहरु भन्छन् । त्यसैले उनीहरु केपी बा नै भन्न रुचाउने रहेछन् । माधवलाई मन नपरे पनि, प्रचण्डलाई पिरो भए पनि ओलीलाई बा भन्नेहरुको सम्बोधन यताउता नहुने प्रष्टै देखियो ।
ओलीलाई धेरैले केपी बा भन्ने गरेको कुरा थाहा पाएपछि मलाई चाहिँ हाम्रा माथ्लाघरको हजुरबाको याद आयो । उहाँलाई पनि धेरैले बा भन्छन् । तर केपी बा र माथ्लाघरका हजुरबामा आकाश जमिनको फरक छ । एकछिन केपी बालाई छोडेर मेरो माथ्लाघरे हजुरबाको कुरा गरौँ ।
सन्तानले डाँडाकाँडा ढाकोस् भनेर आशीर्वाद थाप्ने जमानाका मान्छे भएर पनि हजुरबाका जम्मा पाँच मात्रै सन्तान । तीन छोरा, दुई छोरी । छोराहरुलाई पढेलेखेकी बुहारीले पत्याए, अनि छोरीहरुलाई पनि पढेलेखेकै ज्वाइँले माया गरेर आ-आफ्ना घर लगे । छोरा सम्झिँदा दङ्ग हजुरबा छोरी सम्झँदा त झन् त्यसै त्यसै मख्ख !
तर माथ्लोघरका हजुरबालाई सधैं एउटा चिन्ताले पिरोलिरहन्छ, त्यो हो– आफू कसको मात्रै बाउ ? यसले पनि बा भन्छ, उसले पनि बा भन्छ । बाउ भन्नु पर्नेले पनि बा भन्छ, बाउ भन्न नपर्नेले पनि बा नै भन्छ । पहिले छोराछोरीले मात्र बा भन्थे । आफ्ना पाँच सन्तानले त बा भन्ने नै भए ।
बुढा पहिले आफ्ना पाँच सन्तानका मात्रै बा । सबै छोराछोरीको बिहे भयो । त्यसपछि बुढालाई बा भन्नेहरुको ताँती लाग्न थाल्यो । छोरीलाई लाने ज्वाइँले पनि बा नै भनेर बोलाउन थाले । छोराले ल्याएका बुहारीहरुले पनि बा नै भनेर ढोग्न थाले।
ज्वाइँसित गएका छोरीहरुले छोराछोरी पाए । बुहारी भित्र्याएका छोराहरुका पनि छोराछोरी भए । बुढा नातिनातिनाका समेत धनी भए । नातिनातिनाका बोली फुट्न थालेपछि उनीहरुले पनि बा नै भनेर बोलाउन थाले ।
बाको बा र आमाको बालाई त आफूले हजुरबा र हजुरआमा भनेर बोलाइन्थ्यो । श्रीमतीको बाउलाई पनि ससुराबा भन्ने गरिन्थ्यो । अनि आफ्नो बाउलाई श्रीमतीले पनि ससुराबा भनेर बोलाउँछिन् । तर आफूलाई चाहिँ सबैले बा मात्रै भन्छन् । न नातिनातिनाले बाको अघिल्तिर हजुर जोड्छन् । न ज्वाइँ र बुहारीहरुले ससुरा भन्छन् ।
छोराछोरीले पनि बा, बुहारीले पनि बा, ज्वाइँले पनि बा, ज्वाइँ छोरी र छोरा बुहारीबाट जन्मेका नातिले पनि बा, नातिनाले पनि बा ! कहिलेकाहीँ बुहारीका दिदीबहिनी र दाजुभाइ घरमा आउँछन् । उनीहरुले पनि बा नै भनेर बोलाउँछन् । अनि ज्वाइँका दाजुभाइ र दिदीबहिनीसँग पनि कहिलेकाहीँ भेट हुन्छ । उनीहरुले पनि बा नै भन्छन् ।
हुँदाहुँदा बाटोमा भेटिएका नचिनेका मान्छेले पनि बा फलानो ठाउँमा जाने बाटो कता हो भनेर सोध्छन् । ल ठीकै छ, कहिलेकाहीँ भेट हुनेले त बुढा मान्छेलाई बा नै भनेर बोलाए रे । तर सधैं भेट भइरहने छोराबुहारी र नातिनातिना सबैले बा भनेर बोलाएपछि आफू कसको चाहिँ बाउ, कसको चाहिँ नबाउ भनेर बुढा अलमलमा परेका छन् ।
बुहारीलाई बाको अघिल्तिर ससुरा झुन्ड्याएर बोलाउन अप्ठ्यारो हुन नपर्ने हो । अनि नातिनातिनालाई बाको अगाडि हजुर झुन्ड्याएर हजुरबा भनेर बोलाउँदा मज्जै हुनुपर्ने हो । तर उनीहरुका बाउआमाले आफूलाई ड्याडी र बाबा, ममी र मम भनेर भन्न सिकाए । तर, आफूलाई भन्नुपर्ने बा र आमा चाहिँ हजुरबा र हजुरआमातिर सारिदिए । यो सबै छोराबुहारीकै गल्ती हो भन्ने निष्कर्ष बुढाले निकाले । तै पनि मलाई बा नभन भनेर भन्ने आँट चाहिँ बुढाले अहिलेसम्म पनि गर्न सकेका छैनन् ।
अरुबेला त सबैले बा भन्दा पनि त्यति फरक पर्दैन । तर चाडपर्व र काजकर्ममा घरका सबै मान्छे सँगै भएको बेलामा चाहिँ बुढालाई अप्ठ्यारो पर्छ । छोराछोरीले बा यसलाई के गर्ने भनेर सोध्न नभ्याउँदै बुहारीले भन्छिन्–बा यसलाई यता राखेको छु है । उतिखेरै नातिनातिना झ्याम्मिँदै आउँछन् र गोजी छाम्दै भन्छन् – बा चकलेट किन्ने पैसा दिनुस् न । त्यहीबेला कुर्सीमा गमक्क परेर बसेको ज्वाइँले बात गर्ने मेलो सुरु गर्छ – अनि बा हजुरको प्रेसर हिजोआज कस्तो छ ?
अहिलेसम्म त प्रेसर ठीकै थियो, तर सबैले एकैपटक बा भनेर बोलाउन थालेपछि चाहिँ बुढाको प्रेसर बढ्न थाल्छ । किन मलाई बा भनेको भनेर सोध्न पनि नमिल्ने, अबदेखि बा नभन भनेर हप्काउन पनि नमिल्ने ।
जसले पनि बा भनेर बोलाउन थालेपछि बाको परिभाषा नै फेरिएको हो कि भन्ने आशङ्का बुढालाई लाग्यो । हत्तपत्त शब्दकोश पल्ट्याएर हेरे – ‘बा भनेको बाबु, बुवा, पिता । आफूलाई जन्माउने व्यक्ति । कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति ।’
यो परिभाषाअनुसार त आफूले जन्माएका पाँच सन्तानले मात्र आफूलाई बा भन्न पाउँछन् । अरुले पनि बा भन्ने हो उनीहरुलाई आफूले धर्मपुत्र या धर्मपुत्री राखेको हुनुपर्छ । तर न ज्वाइँ धर्मपुत्र, न बुहारी धर्मपुत्री । न नातिनातिनालाई आफूले जन्माएको ।
कुरा केलाउँदै, खोतल्दै जाने हो भने आफूलाई बा भनेर बोलाउनेसँगको नाता सम्बन्धमै अरुले पनि शंका गर्ने डर ! त्यसैले यसमा धेरै दिमाग खियाउनुभन्दा कसैले बा भनेर बोलाउँदा हँ भन्नुमै ठीक लागेर माथ्लोघरका हजुरबा अहिलेसम्म चुप नै छन् ।
चुप लाग्न बाध्य माथ्ला घरका हजुरबा हिजोआज कसैले बाभन्दा झसङ्ग हुन्छन् ! तर त्यसको उल्टो केपी शर्मा ओली त आफूलाई जस्ले बा भन्दा पनि मख्ख मात्रै पर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।