नेकपामा शब्दवाणको प्रतिस्पर्धा र गाली संस्कृति

 माघ ४, २०७७ आइतबार १३:४०:७ | हरि ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू यतिखेर अत्यन्तै तल्लो स्तरको गालीगलौज र आरोप–प्रत्यारोपमा सिँगौरी खेलिरहेका छन् । त्याग, तपस्या, बलिदान र सङ्घर्षलगायतका कम्युनिस्ट–शब्दहरू अहिले उनीहरूको शब्दकोषबाट हराएजस्तो अनुभूति हुँदैछ । 

विचारमा अलिकति विमति हुनेबित्तिकै एक–अर्कालाई सत्तोसराप गर्ने र उछितो काढ्ने प्रवृत्ति नेपालको कम्युनिस्ट पार्टीमा २००६ सालदेखि नै देखिन्छ । यो उनीहरूको ‘संस्कृति’ नै बनेको छ । पार्टी स्थापनालगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबन्द आन्दोलन’ भन्ने बहसबाट सुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तर्विरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ भन्ने दस्तावेजीय सबाल–जवाफमा परिणत भएको थियो । पार्टीको अन्तर्विरोध र विवाद चौथो महाधिवेशनसम्म आइपुग्दा ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तकाकार–आरोपमै परिणत भयो । तत्कालीन अवस्थामा यो एक खालको आरोप–प्रत्यारोपपूर्ण शब्दवाण वा सैद्धान्तिक युद्ध नै थियो । 

आफूसँग असहमत हुने जतिलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी एजेण्ट’, ‘नवसामन्त’, ‘भ्रष्टाचारी’ र ‘बुर्जुवा’ भनेर बोल्ने, लेख्ने र सत्तोसराप गर्ने परम्परागत संस्कृति र गाली साहित्यको विशाल शब्दभण्डार नै पाइन्छ, कम्युनिस्ट पार्टीमा । गाली पुराणको विश्वविद्यालय नै कम्युस्टिहरूसँग रहेको अनुभूति हुन्छ, उनीहरूको सैद्धान्तिक अभिव्यक्ति र शब्दवाणका ती भाषाशैली हेर्दा । 

‘छापामार शैली’को आश्चर्यजनक पार्टी एकीकरणसँगसँगै शृङ्खलाबद्ध मनमुटावमा रहेका केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार वर्ष नपुग्दै १९ पृष्ठको ‘आरोप–पत्र’ को बदलामा ३८ पृष्ठको ‘प्रत्यारोप–पत्र’ मार्फत शब्दवाण र गाली–युद्धको महासङ्ग्राममा उत्रिएका छन् । एक–अर्कालाई खुइल्याएर नाङ्गेझार पार्ने तीव्र प्रतिस्पर्धामा लागेका छन्, यतिखेर उनीहरू  । 

कुनै बेला ‘नायक’ छवि बनाएका नेतृत्वकर्ता यतिखेर गाली–युद्ध गर्दै ‘खलपात्र’ मा परिणत भइरहेका छन् । व्यक्तिगत इगो, पदीय अस्तित्व, गुटगत पहिचान अनि नाफा–नोक्सानको हिसाबमात्रै हेर्ने र एकअर्कालाई गाली गर्ने ‘स्वार्थी समूहको झुण्ड’ जस्तो बनेको छ, कम्युनिस्ट नेतृत्व । राजनीतिक संस्कार, मूल्य–मान्यता र आदर्शलाई तिलाञ्जली दिँदै यी पात्रहरू गाली–संस्कृति र शब्द–वाणमार्फत् कम्युनिस्ट राजनीतिको ‘दाहसंस्कार’ तर्फ उद्यतजस्तो देखिन्छन् । उनीहरूको विगत र वर्तमानका अभिव्यक्तिगत शैलीले यही कुरालाई प्रस्ट पार्छ ।   

उतिखेरै पुष्पलाललाई ‘गद्दार’ र मनमोहन अधिकारीलाई ‘दरबारको पोष्यपुत्र’ भनियो । पार्टी स्थापना गर्ने पुष्पलाललाई ‘गद्दार’ ठान्ने र राजासँग घाँटी जोड्ने केशरजङ्ग रायमाझीलाई ‘राष्ट्रवादी’ देख्ने पनि कम्युनिस्टहरूको एउटा समूह थियो त्यतिबेला । कालान्तरमा रायमाझी ‘लाल गद्दार’ सावित भए भने पुष्पलाल ‘क्रान्तिकारी’ ठहरिए । 

अझ विडम्बना, पुष्पलाललाई विसं २००८ सालमै महामन्त्रीबाट हटाएपछि लामो समयसम्म नेता बन्न दिइएन । यसको उत्कर्ष चौथो महाधिवेशनवालाका मुख्य नेता मोहनविक्रमले ‘गद्दार पुष्पलाल’ पुस्तक नै लेखेर उनलाई अपमानित गरे ।

विसं २०५४ सालमा एमालेले केपी ओलीकै स्वार्थमा ‘राष्ट्रघाती महाकाली सम्झौता’ गरेको तथ्य प्रस्तुत गर्दै पार्टी फुटाउने वामदेव गौतमलाई उनकै पूर्व सहकर्मीहरूले टुँडिखेलको खुलामञ्चबाटै मुलुकको ‘एक नम्बर भ्रष्टाचारी’ घोषणा गरे । तर तिनै ‘महा–भ्रष्टाचारी’लाई केही वर्षपछि पुनः पार्टीको उपाध्यक्ष बनाइयो ।

एकपटक नेकपा नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै ‘सहिदपत्नी र विधवा ताक्ने व्यक्ति’ भनेर एक टेलिभिजन–अन्तर्वार्तामै आक्रोश पोखे । उनले भनेकी ‘सहिदपत्नी र विधवा’ को हुन् ? न कहिले खुल्यो न त त्यसबारे कुनै खोज–अनुसन्धान नै भयो । मानिसहरूले सामान्य अनुमान लगाउने कुरा अर्कै हो ।  

उता दुई ठाउँबाटै चुनाव हारेका माधव नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गरेका प्रचण्डले केही समयपछि आफैले ‘विषवृक्ष’ को आरोप लगाए । कटवाल प्रकरणपछि प्रचण्डले सत्ता छाड्नुलगत्तै नेपाललाई ‘विषवृक्ष’ को संज्ञा मात्र दिएनन्, ‘कठपुतली र रिमोट कन्ट्रोलबाट चलेको’ भन्दै सत्तोसराप गरे । त्यसको बदलामा नेपालले माओवादी नेतृत्वलाई ‘श्रीलङ्काको लिट्टे जस्तै गरी समाप्त पार्ने’ अभिव्यक्ति दिएर प्रतिशोधात्मक भावना प्रकट गरे । 

माओवादी सडक आन्दोलनमा पुग्दा प्रचण्डले ‘हरुवा’ भन्दै नेपालको उछितो काढ्न छाडेनन् । नेपालले पनि ‘अविश्वसनीय’, ‘धोकेबाज’ र ‘षड्यन्त्रकारी’ जस्ता विशेषणसहित प्रचण्डको तीव्र विरोध गरे । नेपालले प्रचण्डलाई ‘फटाहा’ र ‘भ्रष्ट नेता’ भनिरहे ।

प्रधानमन्त्रीबाट हट्नुपरेको झोँकमा प्रचण्डले ‘अब सोझै दिल्लीसँग भिड्ने’ भन्दै भारतलाई शक्ति देखाउन त्यसबेला मुलुकभर अनिश्चितकालीन आमहड्ताल गरेका थिए । 

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन गएका केपी ओली केही दिन देशमा नभएको मौका छोपेर संसद् बैठकमा वरिष्ठ नेता नेपालले ‘देश डुब्न लाग्यो’ भन्दै ‘नयाँ माझी’ को आवश्यकता औँल्याए । तर त्यसको प्रतिउत्तर अमेरिकाबाटै दिँदै प्रधानमन्त्री ओलीले ‘देश डुब्दैन, म आउँदैछु’ भन्ने जवाफ फर्काए । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही असोजमा गोरखा पुगेर प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रुपियाँ कमिसन खाएर भ्रष्टाचार गरेको आरोप लगाए । यो आरोपको पुष्टि न कतैबाट भयो न त आरोपितहरूका तर्फबाट कुनै खास प्रतिवाद नै । 

एकपटक नेकपा निकट विद्यार्थी सङ्गठनका एक अध्यक्षले आफ्नो फेसबुक वालमा पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई ‘हार्दिक श्रद्धाञ्जली’ नै दिए ।

स्वयम् प्रधानमन्त्री केपी ओलीले बाबुरामलाई ‘धेरै पढेर बिग्रेको’ भन्दै ‘भ्यागुता जस्तै भुँडी फुटेर मर्ने’ सम्मको अभिव्यक्ति दिएका थिए । तत्पश्चात् प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई ‘अरिङ्गाल’ बन्न दिएको निर्देशन पनि त्यत्तिकै आश्चर्यजनक छ । 

हालैमात्र प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्न कत्ति पनि हिचिकचाएनन् । 

उता २०७५ सालमै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले पुष्पकमल दाहाल (प्रचण्ड) र बादललाई बझाङको विशाल जनसभामा ‘लाल गद्दार’ घोषणा गरेका थिए । 

त्यसो त झापालीहरूको विद्रोहलाई ‘व्यक्ति हत्या’ भन्ने र माओवादी जनयुद्धलाई ‘१७ हजारका हत्यारा र लुटेरा ग्रुप’ को संज्ञा दिने अनि तत्कालीन एमालेलाई ‘लिङ्ग पहिचान नभएको गुट’ भनेर आरोप लगाएर पनि एमाले–माओवादीबीच ‘छापामार शैली’ को एकता हुनु अर्को आश्चर्यजनक घटना नै थियो ।  

विगतमा ‘जनादेश’ साप्ताहिकमा टीएन प्रधानको नामबाट ‘मदन–आश्रित हत्याको योजनाकार तथा सञ्चालक खड्ग ओली र माधव नेपाल नै हुन्’ भनेर शृङ्खलाबद्ध फेहरिस्त प्रस्तुत गर्ने रचनाकार अरू कोही थिएनन्, कम्युनिस्ट भनिनेका ‘कर्तुत’ नै थिए ।

एउटा अनलाइन पत्रिकामा नेता भीम रावलको नाम दिँदै ‘ओलीले महिलाको किड्नी फेरेकाले दिमाग बिग्रिएको’ भन्ने झुटो खबर दिने गोयबल्स शैलीको स्कुलिङ अरू कसैबाट हैन, पार्टीको विरासतबाटै सिकेको कुरा हो । 

प्रचण्ड–माधव समूहको एउटा विरोध कार्यक्रममा राष्ट्रपतिका विरूद्ध लगाइएका आपत्तिजनक नारा र प्रधानमन्त्रीसँगको सम्बन्धबारे अतिरञ्जित प्रसङ्ग उठाउने प्रवृत्ति पनि कम्युनिस्ट कार्यकर्ताले पार्टीभित्रबाटै सिकेको परम्परागत शैली र संस्कृतिको उपज नै हो ।     

यतिखेर नेकपामा त्यही परम्परागत शैली र सांस्कृतिक उपजस्वरूप पुनः गाली–युद्ध र शब्दवाण सुरु भएको छ । कात्तिक २८ मा कार्यकारी प्रचण्डले पेस गरेको १९ पेजको ‘आरोप–पत्र’ को बदलामा मङ्सिर १३ गते अध्यक्ष एवम् प्रम ओलीबाट ३८ पेजको ‘प्रत्यारोप–पत्र’ आएपछि एक–अर्काप्रति आरोप, सत्तोसराप र लाञ्छना तीव्र गतिमा प्रकट भएका छन् । गालीका अनेक आरोप र शब्दवाण लिएर नेताहरू एक–अर्काविरूद्ध रणमैदानमा उत्रिएका छन् । क्षणिक स्वार्थका लागि अनर्गल आरोप, गाली–गलौज एवं झुट्टा प्रचारमा उनीहरू जमेर लागेका छन् । 

प्रधानमन्त्री ओलीलाई ‘सनकी’, ‘दम्भी’ ,‘निरङ्कुश’, ‘गणतन्त्रविरोधी’, ‘बयलगाडे’ जस्ता शब्दले आरोपित गरिँदैछ त ओलीले प्रचण्डलाई ‘षड्यन्त्रकारी, ‘धोकेबाज’, ‘जनहत्यारा’ भन्दै  माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ को उपमा दिएका छन् ।

‘बाँदरको माया लागेर घरमा ल्याएको, घरै भत्काउन लाग्यो ।’, ‘सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ जस्ता प्रधानमन्त्रीका अभिव्यक्तिको अर्थ के लगाउने ? ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ?’ ‘यति–यति मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि जम्मा गर्छ ।’ ‘गोरु नाङ्गै देख्दा मलाई लाज लाग्दैन ।’ प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले मुलुकको समृद्धि र विकाससँग के तात्विक साइनो राख्लान् ? विस्मयपूर्ण र आश्चर्यजनक विषय छ ।  

हालैमात्र पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई ‘लुकेर बसेको विषालु सर्प’ को संज्ञा दिए । यसैगरी पूर्वमन्त्री योगेश भट्टराईले चितवनको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्थामाथि नै प्रश्न उठाए । पूर्वमन्त्री विना मगरले ओली एक ‘तानाशाही’ र ‘अराजकतावादी’ भएको आरोप लगाइन् । यस्ता तमाम अभिव्यक्ति, उदाहरण र घटनाक्रमहरूले नेपालका कम्युनिस्ट नेताहरूमा अन्तर्निहित गाली संस्कृति, असभ्यता र अराजक शैलीलाई उदाङ्गो पारेका छन् । 

नेकपाको नेतृत्व यतिखेर समस्यै–समस्याले ग्रस्त छ । गाली र सत्तोसरापको योे सांस्कारिक अनि विरासतीय शैली आम नागरिकको स्वच्छ दृष्टिमा अत्यन्तै आपत्तिजनक देखिन्छ । नेतृत्व तहमा पलाएकोे हदैसम्मको अहमता, संवेदनहीनता, अदूरदर्शिता र कर्तुतले कम्युनिस्ट पार्टी कुनै पनि कोणबाट राजनीतिक प्राणीजस्तो लाग्दैन । नागरिकले त्यत्रो विश्वास गरेर सिंहदरबारको सिंहासनमा पुर्‍याएकाे कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएकोे आरोप–प्रत्यारोपपूर्ण संस्कृति र गाली–युद्धले नेपालका कम्युनिस्टहरूलाई मात्र कलङ्कित र आलोचित बनाएको छैन, अपितु देशको समग्र विकास, समृद्धि र संस्कारमा समेत नकारात्मक असर पारिरहेको छ ।

तसर्थ परम्परागत गाली संस्कृतिको विरासत बोकेर वर्तमानको अहङ्कार र असभ्यतापूर्ण शब्दवाणको महासङ्ग्राममा उद्यत कम्युनिस्ट नेतृत्वको अझै पनि चेत खुलोस्  । नत्र दम्भ र अहमताको यो हदसम्मको ‘बेवकुफी’ धूलिसात् हुन कत्ति पनि बेर लाग्ने छैन । अस्तु ।   

अन्तिम अपडेट: चैत ४, २०८०

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया