विवाहको उमेर २० वर्ष, दाइजो माग्नेलाई कारबाही

 भदौ १, २०७५ शुक्रबार ७:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने भएको छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ ।

शुक्रबारदेखि कार्यान्वयनमा आएको संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । 

अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्ने उमेर अबदेखि २० वर्ष राखिएको हो । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।

दाइजो माग्नेलाई कारबाही

दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई अब कडा कारबाही गरिने भएको छ । परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ ।

हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था नै थिएन । अहिले त्यसको आवश्यकता महसुस गर्दै यस्तो व्यवस्था ल्याइएको हो । अब दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ । 

यस्तै ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरेको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गरिने ऐनमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया