टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्रीलगायतका सामान बेच्ने चार जना पक्राउ

 माघ ११, २०७७ आइतबार २०:१९:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – नेपाल टेलिकमको बीटीएस साइट (टावर) मा लाखौँ रुपैयाँ बराबरको सामान लगेर बेच्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सामान लगेर बेच्ने कार्यमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका १३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, त्यही नगरपालिका ३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, ३५ वर्षीय पवन जैसवाल र गोलबजार नगरपालिका ४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गएकाे पुस २३ गते बिहान सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको झण्डै १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लगेका थिए । अन्य तीन जना भने उनलाई ती सामान निकाल्नेदेखि खरिद–बिक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयाे ।

घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सीसीटिभी, स्थानीयको बयान र टेलिकमको सहयोगमा गएकाे मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको हाे । उनीहरूको साथबाट लुट्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्रबको मिनी ट्रक, सात वटा ब्याट्री बरामद गरिएको र अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले बताउनुभयो  ।

पक्राउ परेकाहरूमाथि डाँकासम्बन्धी मुद्दामा १० दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया