‘घुमौँ पूर्व प्रदेश नम्बर १’ अभियान सुरु

 माघ १२, २०७७ सोमबार १५:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – ‘घुमौँ पूर्व प्रदेश नम्बर १’ भन्ने मुख्य नारासहित १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डसहितको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरुत्थान एवं प्रवर्द्धन अभियान जनकपुरबाट सुरु गरेको छ । 

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा नेपाल एसोसिएशन टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्रब प्रदेश तथा होटल सङ्घ नेपाल पूर्व शाखाको संयोजकत्वमा बीटुबीका लागि टोलीले जनकपुर, चितवन, पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीबीच छलफल गर्ने छ । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचलित व्यवसायीबीचको व्यवसाय प्रवर्द्धन गरिने छलफल बीटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा व्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको बताउनुभयो । 

एकआपसमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकीय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार–प्रसारकालागि के–कस्ता उपाय अघि सार्न सकिन्छ भन्ने विषयमा सम्बद्ध व्यवसायीबीच छलफलको आयोजना यो अभियान अन्तर्गत गरिने छन् । यस अभियान अन्तर्गत व्यवसायबीच सहकार्य गराइ आन्तरिक पर्यटकका लागि भ्रमण प्रवर्द्धनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ । 

टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरुत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सह–संयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, इटहरीका होटल व्यवसायी जीवन पराजुलीलगायतको सहभागिता रहेको छ । बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै मिति २०७७ माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ । 

काठमाण्डौ, भेडेटार र इलाम पर्यटक बस सेवा फागुनदेखि आन्तरिक पर्यटनमा पूर्वलाई काठमाण्डौसँग पर्यटक बस सेवाबाट जोड्ने उद्देश्यका साथ फागुन पहिलो हप्तादेखि काठमाण्डौ, भेडेटार र इलाम पर्यटक बस सेवा सञ्चालन हुने भएको छ ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बस सेवा स्वास्थ्य प्रोटोकलको पालना गरी २७ सिटकाे पर्यटक बसबाट गरिने भएको छ । अहिले काठमाण्डौबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्ज पर्यटक बस सेवा उपलब्ध छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी प्रवर्द्धन र बस सेवासँगै गुणस्तरको वृद्धिले नै पर्यटनले आशातीत प्रतिफल पाउने बताउनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया