महाेत्तरीमा क्रसिङ सिजनमै उखु अभाव, खरिद गर्न उद्याेगीबीच हानथाप

 माघ १६, २०७७ शुक्रबार १८:२:५६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गौशाला नगरपालिका १ मा रहेकाे एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रिज लिमिटेड रामनगर देशकै सबैभन्दा बढी उखु क्रसिङ गर्ने उद्योगको रूपमा चिनिन्छ । कुनै समय ५८ लाख क्विन्टल उखु क्रसिङ गरि देशकै सबैभन्दा ठूलो चिनी उद्योगको रुपमा चर्चा पाएकाे यस उद्योगमा अहिले उखुको अभाव भएको हो ।

२०७७ पुसकाे पहिलो हप्तादेखि यस वर्षकाे क्रसिङ सुरु गरेकाे यस उद्योगमा उखुको अभाव भएको हो । उखुकाे अभावलाई 'नाे केन' भनिन्छ । चाहिँदाे उखु आपूर्ति नहुँदा मिल मुस्किलले  १० देखि १२ घण्टासम्म मात्र चल्ने गरेकाे छ । गएकाे वर्ष माघमा उखु ल्याउने सवारीसाधनको अत्यधिक भिड हुने उद्योग परिसर यस वर्ष भने सुनसान देखिएको छ । 

उखु खेतीमा किसानको विकर्षण

नगदेबालीका रूपमा परिचित उखु खेती गर्ने किसानहरू समयमा भुक्तानी नपाएकै कारण उनीहरूले उखु लगाउन छाडेका छन् । उखु बिक्री गरेका किसानले पैसा लिनका लागि लामो समयसम्म आन्दोलन गर्दा पनि भुक्तानी पाउन नसक्नु, चलान (उखु आपूर्तिका लागि दिइने पुर्जी) समयमा नदिनु, उद्योगले किसानको हकहितमा कटौती गरेपछि उनीहरू उखु खेतीतर्फ विकर्षण भएको गौशाला नगरपालिका ९ का किसान मनु अधिकारीको भनाइ छ । 

चिनी मिलमा उखु बिक्री गर्दा झन्झटिलाे भएपछि उखु खेती गरेका किसान स्थानीय क्रसर व्यवसायीलाई नगदमा उखु बिक्री गर्दै आएको किसान अधिकारीले बताउनुभयो । उद्योगपतिले उधारोमा उखु लिएर भुक्तानी दिन तीन वर्षसम्म किसानलाई झुलाउनु, सरकारले अनुदान दिन झन्झटिलो प्रक्रिया लागू गर्नु, उखु किसानको समस्यामा सरकार उदासिन हुनु, उखु उत्पादनमा लागत बढ्दै जाँदा मूल्य भने घट्दै जानु, समयमा वर्षा नहुनुजस्ता कारणले उखु खेती ४० प्रतिशतले घटेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो ।

उद्योगले नगदमै उखु खरिद गर्दै

उद्योगमा उखुको अभाव भएपछि एभरेस्ट चिनी उद्योगमा कार्यरत कर्मचारी अधिकांश समय उखुको जोहो गर्न किसानको घरघरमा धाउँदै आएको पाइएको छ । यस वर्ष उखुको जोहो गर्न खेतखेतमा पुगेका कर्मचारीले नगदमै उखु खरिद गर्न थालेका छन् । यस वर्ष उखु खेती नै घटेपछि उद्योगीको निद्रा हराएको छ । उनीहरू उद्योग चलाउन नगदमै उखु किनिरहेको किसान चन्देश्वर सिंहकाे भनाइ छ । चिनी मिलका कर्मचारी झोलामा रुपैयाँ बोकेर गाउँमै काँटा गरेर नगद भुक्तानी गरिरहेकाे सिंहले बताउनुभयो । उखु खरिद गरेको १० दिनमै भुक्तानी दिइने नीति अपनाइएको चिनी उद्योगले अहिलेसम्म झण्डै ३० करोड रुपैयाँ किसानको बैंक खातामा भुक्तानी पठाइसकेको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासकाे दाबी छ । 

यस वर्ष क्रसिङ सिजनअन्तर्गत उद्योगले अहिलेसम्म १० लाख १० हजार क्विन्टल उखु क्रसिङ गरेकाे महाप्रबन्धक दासले जानकारी दिनुभयो । यस वर्ष देशैभरि उखु खेती घटेपछि उद्योगीबीच उखु खरिद गर्न हानथाप भइरहेको छ ।

उखु अभावकै कारण चार उद्योग बन्द

नेपालमा रहेका १४ उद्योगमध्ये यस वर्ष उखु अभावकै कारण चार वटा चिनी मिल सञ्चालनमा आउन नसकेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । केन्द्रीय अध्यक्ष मैनानीले भन्नुभयो, ‘उखु बिक्री गरिएको किसानलाई समयमै भुक्तानी नदिएकै कारण चार वटा चिनी मिल यसभन्दा अगाडिका वर्षदेखि बन्द अवस्थामा रहेको छ । यस वर्ष सञ्चालन अवस्थामा रहेको १० उद्योगलाई उखुको अभाव सिर्जना भएको छ ।’ 

मैनालीले अगाडि भन्नुभयो, ‘सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, श्रीराम सुगर मिल उखु नपाएर गएकाे वर्षदेखि नै बन्द छ । नवलपरासीको लुम्बिनी चिनी करखाना पाँच वर्षदेखि बन्द छ । नवलपरासीकै अर्को इन्द्रिरा सुगर मिल पनि किसानलाई भुक्तानी दिन नसकेर बन्द भएको दुई वर्ष भएको छ ।’

उखुको अभाव भएपछि उद्योगले दोंगा नजिक उखु डम्पिङ गर्दै आएका छन् । दिनभरिमा जम्मा भएको उखु रातिको समयमा क्रसिङ गर्ने गरेकाे छ । दैनिकरूपमा एक लाख क्वन्टिल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले अहिले मुस्किलले १० हजार क्विन्टल उखु क्रसिङ गर्ने गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया