बम्परमा पाएकाे पदले मन्त्रीले नेपाल सरकार र श्री ५ काे सरकारसमेत छुट्याउन सकेनन् : भट्टराई

 माघ १८, २०७७ आइतबार २०:३९:३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयाेग गरेर प्रतिनिधि सभा विघटन गरेकाे बताउनुभएकाे छ । 

दाहाल–नेपाल समूहको राष्ट्रिय युवा सङ्घ नेपाल पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले आइतबार गरेकाे भेलालाई  सम्बोधन गर्दै उहाँले यस्ता बताउनुभएकाे हाे । वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउन चुनावकाे नाटक गरेको दाबी गर्नुभएको छ ।

निर्वाचन आयोगका केही अधिकारीसँग भएको अनौपचारिक छलफलमा चुनाव भए पनि मङ्सिरमा हुने तर वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने सङ्केत आफूले पाएको उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा भट्टराईले केपी ओलीले बम्परमा बाँडेको केन्द्रीय सदस्य निर्वाचन आयाेगले नमानेपछि केपी ओली झन् तनावमा रहेको जिकिर गर्नुभयो । नेकपा अहिलेसम्म नफुटेको भन्दै आधिकारिक रूपमा चार सय ४१ सहित केन्द्रिय कमिटीसहितको बहुमत आफूहरूसँगै रहेकाले नेकपाको आधिकारिकता आफूहरूसँग भएको उहाँले दाबी गर्नुभयो ।

खानेपानीमन्त्री मणि थापालाई इङ्गित गर्दै भट्टराईले बम्परमा पाएको पदले आफू कहाँ छु र के हो भन्ने समेत थाहा नभएकाले नेपाल सरकार र श्री ५ को सरकारसमेत छुट्याउन नसकेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया