खोप नै कोरोनाको औषधि होइन, स्वास्थ्य मापदण्ड पालना गर्न नबिर्सौं

 माघ १९, २०७७ सोमबार १०:४२:३२ | डा. सागर राजभण्डारी
unn.prixa.net

वैज्ञानिकको अथक प्रयासका कारण छोटो समयमै कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्यो । नेपाललाई सुहाउँदो खोप हामीले पायौँ । यो खोप अहिलेसम्म लगाउँदै आइएका खोपहरुमध्येकै सबैभन्दा सुरक्षित खोप हो । भारतलगायत थुप्रै देशमा सफल रुपमा परीक्षण भइसकेको छ ।  यसको प्रयोगले गम्भीर खालको असर कतै पनि देखिएको छैन ।  

जनमानसमा अहिले पनि खोपसम्बन्धी नकारात्मक सोचाइ छ । नयाँ र छोटो समयमा विकसित भएको खोप भएकाले केही शंका हुनु स्वभाविक हो । खोप सुरक्षित छ । ढुक्कले लगाउँदा हुन्छ भन्ने सन्देश दिनका लागि मैले पहिलो खोप लगाएको हो ।अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । हामीले अहिलेसम्म सयौँ खोपहरुको प्रयोग गरिसकेका छौँ । हरेक वर्ष हामी हात्तीपाइले रोगविरुद्धको खोप लगाउँछौँ । अरु पनि विभिन्न खालका औषधिको प्रयोग गरिरहेका हुन्छौँ ।  

त्यसले पनि केही न केही प्रतिकूल असर देखाएको हुन्छ । तर हामीले त्यसलाई सामान्य मानेजस्तै कोरोनाको खोप पनि सामान्य मानौँ । खोप लगाएका कसैलाई पनि गम्भीर समस्या देखिएको छैन ।  सकारात्मक कुराहरु मात्र सोचौँ । खोप लगाएकामध्ये केहीलाई सामान्य समस्या देखिएको छ । 

खोप लगाएको केही घण्टासम्म सामान्य ज्वरो आउने, जिउ दुख्ने, थकाइ महशुस हुने जस्ता लक्षण देखिएको छ भने त्यो सामान्य हो । प्यारासिटामोल खाएपछि वा ५,६ घण्टापछि आफैँ निको हुन्छ । कसैलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको छैन । खोप लगाएको १५ मिनेटभित्रै अचानक श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, बेहोस भएमा गम्भीर समस्या भएको बुझ्नुपर्छ । यस्तो भएमा अस्पताल भर्ना हुनुपर्छ ।  

कोरोना खोपका कारण भारतमा केही व्यक्तिको ज्यान गएको अथवा अस्पताल  नै भर्ना गर्नुपरेको भन्ने कुराहरु गलत हुन् । अर्कै खोपका कारण त्यस्तो भएको हो ।  कोरोना भाइरसका कारण गम्भीर प्रकारको लक्षण कसैलाई पनि देखिएको छैन । तर नयाँ खोप भएकाले दीर्घकालीन असर देखिन्छ वा देखिँदैन भन्ने बारेमा भने अध्ययन गर्न बाँकी नै छ । 

अहिले ल्याइएको खोप नियमितभन्दा पनि आकस्मिक प्रयोगका लागि ल्याइएको हो । १८ वर्ष मुनिका, गर्भवती, स्तनपान गराउने  तथा सुत्केरीलाई दिनु हुँदैन भनेर बारम्बार भनिएको छ । दीर्घकालीन समस्या हुन सक्छ की ? भनेर नै खोप लगाउन नहुने व्यक्तिहरु छुट्याएको हो । 

कोरोना भाइरसको स्पाइट प्रोटिन राखेर खोप बनाएको हो । यो एन्टिजेनको रुपमा दिइने हो । खोप, रोग नसार्ने तरिकाले बनाइएको छ । कोरोना भाइरस प्रवेश गरिसकेपछि हाम्रो शरीरले थाहा पाउँछ । यदि खोप लगाएको छ भने खोपले विकास गरेको  प्रतिरोधात्मक क्षमताले भाइरस हाम्रो शरीरमा पस्न पाउँदैन । भाइरस छिर्ने ढोका सिल हुन्छ । 

तर खोप लगाउनेबित्तिकै यसले काम गर्ने भने होइन । एक हप्ता वा दुई हप्ताभित्र यसको एन्टिबडी बन्छ ।  ४ देखि ६ हप्तासम्म पिक लेभलमा विकसित हुँदै जान्छ ।  एउटा खोप लगाउँदैमा पूर्ण स्वस्थ भइँदैन । यसको प्रभाव देखिन दोस्रो डोज लगाउनै पर्छ । 

फूलुको भाइरस बनाउँदा प्रयोग गरिएको टेक्नोलोजी जस्तै खालको टेक्नोलोजीकाे प्रयोग गरेर  खोप बनाइएको हो । कोरोनाको खोपमा कोरोना भाइरसकै स्पाइट प्रोटिन मिसाइएकाले गम्भीर लक्षण नदेखिन सक्छ ।

खोप कुनै औषधि होइन । न यो रामवाण नै हो । यसले शरीरमा प्रवेश गरेको भाइरसलाई मार्न सक्दैन । खोप लगाएको छ भने पनि भाइरस सर्ने सम्भावना हुन्छ । तर थोरै भाइरसहरु मात्र शरीरमा छिर्न सक्छन् ।  खोप लगाइसकेपछि कोरोना लाग्यो भने जटिल समस्या देखिँदैन । आईसीयू, भेण्टिलेटरमै राख्नुपर्ने अवस्था हुँदैन । खोप लगाएको व्यक्तिमा पनि रोग सार्ने सम्भावना हुन्छ । त्यसकारण खोप लगाइसकेपछि पनि  ढुक्क हुनु हुँदैन । 

कोरोनासँग सम्बन्धित लक्षण देखिएमा एकान्तबासमा बस्नुपर्छ । परीक्षण गर्नुपर्छ । परीक्षण गर्दा पोजेटिभ देखियो भने आइसोलेशनमा बस्नुपर्छ । गम्भीर समस्या भएमा अस्पतालमा भर्ना गर्नुपर्छ । स्वास्थ्य मापदण्डको पालना गर्न भुल्नु हुँदैन । भौतिक दूरीको ख्याल गर्नै पर्छ ।  यी कुराहरुलाई अक्षरश पालना गर्यौँ भने कोरोना भाइरसको संक्रमणबाट मात्र होइन अरु रोगको  संक्रमणबाट पनि बच्न सक्छौँ । 

जाँडरक्सी, चुरोटलगायतका शरीरलाई हानी गर्ने कुराहरु  खानु हुँदैन । मास्क अनिवार्य लगाउनुपर्छ । यसो गर्न सकेमा  आफू, परिवार र समुदायका मानिसलाई बचाउन सकिन्छ । अहिले ‘फ्रन्ट लाइनर’लाई मात्र खोप लगाइएको छ ।

‘फन्टलाइनर’ सङ्क्रमितसँग  प्रत्यक्ष सम्पर्कमा रहन्छन् । त्यसकारण उनीहरुलाई पहिला लगाइएको हो । आम मानिसले त केही समय कुर्नै पर्छ । कोरोना सङ्क्रमितको संख्या कम भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुग्ने बिरामीको संख्या कम छैनन् । तुलनात्मक रुपमा थोरै कम मात्रै हो । 

अरु अस्पतालहरुले कोरोनाको बिरामीको त्यति व्यवस्थापन गरेका छैनन् । पछिल्लो समय परीक्षणको दर एकदमै कम छ । परीक्षणको दर कम हुनुमा थुप्रै कारणहरु छन् । पहिला थोरै ल्याब थिए । मानिसको भीडभाड हुन्थ्यो । तर अहिले कोरोनाको परीक्षण गर्ने ल्याबको संख्या धेरै छ । तर परीक्षण गर्नेको संख्या कम छ ।

पहिला निःशुल्क परीक्षण गरेको समयमा एउटै व्यक्तिले सात, आठ पटक परीक्षण गरेको पनि भेटियो । त्यसले गर्दा नम्बर पनि बढेको हुन सक्छ । कतिपय देशमा एकपटक कोरोना महामारी उच्च बिन्दुमा पुगेर कम भएको २ देखि ४ महिनामा दोस्रो लहर आएको  छ । नेपाल पनि जोखिममा नै छ । 

खोप अभियान अहिले पनि चलिरहेको छ । अहिले अस्पताल केन्द्रीत भएर खोप लगाइएको छ । बिस्तारै हाम्रो गाउँठाउँका स्वास्थ्य केन्द्रसम्म पुग्छ । त्यसपछि झनै सहज होला । स्वास्थ्यकर्मीले पहिला लगाउनुभएकाले सामान्य लक्षण देखिएमा उहाँहरु आफैँले पनि उपचार गर्न जान्नुभएकै छ । सामान्य लक्ष्यण केही घण्टामा अर्थात् केही दिनमै निको हुन्छ । आत्तिनु पर्दैैन । निर्धक्क भएर खोप लगाउन अनुरोध छ। 

नेपालको राजनीतिक अवस्था, भीडभाड र प्रदर्शनले कोरोना सङ्क्रमितको संख्या फेरि बढ्न सक्छ ।  स्कुलहरु खुलिसकेका छन् ।  लापरबाही भयो भने छिट्टै नै दोस्रो लहर आउन सक्छ । त्यसैले सावधानी अपनाउनुपर्छ।

(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा‍.सागरराज राजभण्डारीसँग उज्यालाे सहकर्मी जानुका दुवाडीले गरेकाे कुराकानीमा  आधारित)

अन्तिम अपडेट: चैत ३०, २०८०

डा. सागर राजभण्डारी

राजभण्डारी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया