नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

 माघ २१, २०७७ बुधबार ९:५४:२७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका-५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाकाे २ लाख गरी १२ लाख रुपैयाँको लागत तथा १ लाख रुपैयाँ बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।

स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका लागि करिब २ महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुंगाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् ।

 खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुई वटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकोमा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयबासीहरुलाई राहतको महसुस भएको स्थानीयबासी कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । 

कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति विनय विक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया