सैन्य ‘कू’ पछि म्यानमारमा रहेका नेपाली भाषीको अवस्था

 माघ २१, २०७७ बुधबार ११:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दीपक भट्टराई/म्यानमार

म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि एक खालको अन्योलको वातावरण सिर्जना भएको छ । यहाँ रहेका झण्डै डेढ लाख नेपाली भाषी पनि अब के होला भन्ने अन्योल र त्रासमा छन् । ​

सैन्य ‘कू’ पछि संकटकाल लागेकाले अवस्था कस्तो होला भन्ने आम मानिसमा डर बढेको छ । इन्टरनेट सेवा पनि बन्द गरिदिएकाले सञ्चारमाध्यम र खबर पढ्न र हेर्नबाटै बञ्चित हुने हो कि भन्ने आशंका पनि बढेको छ ।
सैन्य ‘कू’ लगत्तै म्यान्मारमा मोबाइल फोन केही समयसम्मका लागि बन्द भएको थियो ।  अहिले म्यानमारमा रातको समयमा कर्फ्यू लागिरहेको छ । 

म्यानमारमा अहिले झण्डै डेढ लाखको संख्यामा नेपाली भाषी छन् । अखिल म्यानमार देशीय हिन्दु महासंघका अध्यक्ष सागर घिमिरेका अनुसार, नेपाली भाषीहरु राजनीतिक रुपमा सक्रिय छैनन् । उनीहरु विगतदेखि नै सेनाको कठोर शासन भएको देशमा बसेकाले पनि आफूहरुलाई असजिलो पर्छ कि भनेर सचेत छन् ।

आफ्ना पेशा, व्यवसाय र दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने चिन्ता उनीहरुको प्रमुख चासोको विषय हो । राजनीतिक रुपमा नेपाली भाषीहरु निरपेक्ष छन् । सैन्यू ‘कू’ पछि अहिलेसम्म नेपाली भाषीहरु कतै अप्ठ्यारो अवस्था परेकाबारै कुनै पनि जानकारी नआएको घिमिरेले बताउनु भएको छ ।   

केहीले भने सामाजिक सञ्जालमार्फत् गीत, कविता, स्टाटसमार्फत सैन्य ‘कू’ को विरोध गरिरहेका छन् । अहिलेसम्मको अवस्थाले म्यानमारका नागरिक र नेपाल भाषीको अवस्थामा केही पनि फरक पारेको छैन । बुधवार जनजीवन बिस्तारै सामान्य जस्तै देखिएको छ । सडकमा गाडीको संख्या पनि बाक्लो छ । पसलहरु पनि हिजोभन्दा लामो समयसम्म खुलेका छन् ।  सडक र बजारमा सेनाको उपस्थिति पनि पहिलो दिनको तुलनामा निकै कमी भएको छ । जनजीवन समान्यजस्तै बन्न थालेकाले पनि होला सार्वजनिक ठाउँमा मानिसको ओहोरदोहोर बढेको छ । तर, सडक र बजारमा सेनाको उपस्थिति घटे पनि हिरासतमा रहेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेता र अधिकारकर्मीहरुका घर वरिपरि भने सेनाको उपस्थिति अझै पनि बाक्लो छ ।

देशमा रक्तपात निम्तन सक्छ भन्ने डरमा कसैले पनि विरोधका कार्यक्रम र जुलुस निकाल्न सकेका छैनन्  । तर, सेनाको समर्थनमा भने ठाउँ ठाउँमा उत्सव प्रदर्शन जस्तो भईरहेको छ । सैन्य ‘कू’ को विरोधमा डाक्टरले सामूहिक राजीनामा दिने, कर नतिर्ने लगायतका काम भने  सुरु भएका छन् । सडक प्रदर्शनमा जाँदा रक्तपातको स्थिति आउन सक्ने भएकाले  पनि नागरिकले शान्तिपूर्ण तरिकाले विरोधको फरक शैली रोजेका छन्  । 

भोलि के होला भन्ने अन्यौलकै कारण नागरिक दिनमा पनि कर्फ्यू लाग्ने हो कि भन्ने त्रासमा छन् । यसै कारण पैसा झिक्न एटीएम मेसिनमा लामो लाइनमा लाग्ने गरेको छ । यस्तै, बैंक तथा खाद्यान्न सामग्री किन्न पसलमा पनि ग्राहकको लामो लाइन देखिन्छ  । तर, पहिलो दिनको तुलनामा अहिले वातावरण बिस्तारै सहज र सामान्य बन्दै गएको छ । 

म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वभर आलोचना भए पनि तत्काललाई यसले यहाँ असर गर्ने देखिंदैन । थोरै जनसंंख्या, उर्बरभूमि लगायतका कारणले म्यानमार आत्मनिर्भर रहेकाले अन्तर्राष्ट्रिय दबाब र प्रभाव पर्ने सम्भावना तत्काललाई छैन । 

चीनको वैदेशिक नीति तटस्थ खालको भएको र उसले म्यानमारलाई सहयोग गरे अरु देशले लगाएको प्रतिबन्धले खासै फरक पर्दैन । 

(म्यानमार बसेर साढे तीन वर्षदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार दीपक भट्टराईसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया