कागजपत्र लगेर कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भइसक्यो
मंसिर ३०, २०८१ आइतबार
कम्पनी दर्ता गर्दा प्रक्रिया कम्पनी ऐन अनुसार हुन्छ । यो प्रक्रियामा व्यवसाय दर्ता प्रक्रिया बढी छ । कम्पनी ऐन अनुसार संस्थापकहरुले समझदारी गरेको प्रवन्ध पत्र र नियमावलीको नमूना मस्यौदा कम्पनी रजिष्ट्रार कार्यालयको वेबसाइटमा हुन्छ । त्यो भरेर अनलाईनमै पेश गनुपर्ने हुन्छ ।
गएको असारपछि हामीले नयाँ सफ्टवेयर लागू गरेका छौं । अनलाइनमा निवेदन दिएर अनलाइनमै दर्ता प्रक्रिया सम्पन्न गर्न सक्ने बनाइएको छ । घरमै बसेर कम्पनी दर्ता गरेको प्रमाण पत्र डाउनलोड गर्न सकिन्छ । कम्पनीको राजश्व पनि घरमै बसेर तिर्न सकिने व्यवस्था गरेका छौं । यो शुरुवात भएकाले केही प्रयोगकर्ता अभ्यस्त नहुँदा समस्या आएको देखिन्छ ।
पछिल्लो पाँच महिनामा झन्डै आठ हजार कम्पनी पूर्ण रूपमा अनलाइनमा दर्ता भएका छन् । अहिले कागजपत्र लगेर कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भइसक्यो । सामान्यतया नाम स्वीकृत हुन तीनदेखि पाँच दिनसम्म लाग्छ भने कागज सहिछाप र नोटरीमा पनि केही समय लाग्छ । त्यसैले कम्पनी दर्ता प्रक्रिया शुरु गरेको १० देखि १५ दिनसम्म लाग्छ । तर पछिल्लो समय अनलाइन प्रणालीका प्रक्रिया र कर्मचारीले ढिलासुस्तीले डेढ महिनासम्म लाग्ने गरेको सेवाग्राहीबाट गुनासो आयो । यी समस्याको अनुभूति भएको हुँदा नयाँ सफ्टवेयर शुरु गरेका हौं ।
केही सकारात्मक सङ्केत देखिएका छन् । कम्पनी र अन्य व्यवसायमा केही फरक छ । कम्पनीमा प्राकृतिक रूपमा दुई वा बढी साझेदार हुन्छन् भन्ने मान्यता हुन्छ । कम्पनीमा कुनै पनि बिन्दुमा एक वा एकभन्दा बढी सेयर हुन जान्छ । सार्वजनिक कम्पनीमा लाखौं शेयर होल्डर हुन्छन् । यसलाई ऐन नियमले नै केही प्रावधान थप गरेको हुन्छ । यसमा लामो पद्धत्ति भएकाले कानून सुधारको तयारी भइरहेको छ ।
तीन दिनभित्रै कम्पनी दर्ता गर्ने लक्ष्य
कम्पनीको दर्ता प्रक्रिया विशेगरी कम्पनीको नाम जुधाउन मिल्दैन । कम्पनीको नाम प्रमाणीकरण नहुँदासम्म निवेदन दर्ता भएको मानिंदैन । अहिले नाम प्रमाण्ीकरण भएको झन्डै एक हप्तामा कम्पनी दर्ता भइरहेको छ । अब तीन दिनभित्र कम्पनी दर्ता गर्ने कार्यालयको लक्ष्य छ । बाहिरी देशमा नाम दर्ता प्रमाणीकरण नेपालभन्दा कडा प्रणाली छ । यदि नाम दर्ता भएको एक हप्तासम्म कम्पनी दर्ता भएन भने हामीले गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेका छौं । त्यहाँबाट सम्बोधन हुन्छ । केही समयपछि कम्पनी दर्ताको समयावधि दुई दिनभित्रै गर्ने कार्यालयको योजना छ । यसका लागि केही जनशक्ति र प्रविधि थप्नुपर्ने हुन्छ ।
गुनासो सम्बाेधन गर्ने प्रयास
कर्मचारीले बिचौलियाको काम छिटो गर्ने तर आफै कागजात बोकेर आउने सेवाग्राहीको काम ढिलो हुने गरेका केही गुनासा आउने गरेका छन् । हामीले दुई जना कर्मचारी सेवा प्रवाहका लागि तोकेका छौं । अहिले अनलाइनमा दैनिक साढे दुई सयसम्म कम्पनी दर्ताको निवदेन पर्ने गरेको छ । धेरै निवेदन पर्दा छिटो काम गर्न सकिएको छैन । त्यसैले १५ दिनसम्म लाग्ने गरेको छ । तर कसैको डेढ महिनासम्म लाग्ने गरेको समस्या अपवादको रूपमा छन् । यस्ता समस्या हटाउनका लागि अनुगमन इकाइ बनाएका छौं । अनुगमन इकाइबाट कर्मचारीको कार्यभार हेरेर उसलाई सचेत गराइन्छ । अनि एउटा निवदेन प्रक्रिया सकेर मात्र अर्को निवदेनमा जाने प्रक्रिया बनिरहेको छ । पुरानो अनलाइन प्रणालीमा कर्मचारी र कार्यालयको सम्पर्कमा आउने सेवाग्राही अभ्यस्त भएको हुँदा नयाँ प्रणाली चुस्त नभएको देखिन्छ । कार्यालयमा सेवाग्राहीको काम बारेको ढिलासुस्ती भएको पहिचान नै गरेर नयाँ प्रणाली ल्याएका हौं । विगतको पुराना कमी कमजोरी, प्रणाली हटाउन र सेवा प्रवाह सुधार गर्न नयाँ प्रणाली लागू भएको हो । अहिले दर्ता प्रक्रियामा दुई जना कर्मचारी संलग्न भएका छन् । पछि एक जनामात्र कर्मचारीले काम सक्ने गरी तयारी भइरहेको छ । अब दर्ता गर्ने अधिकारीसँग सेवाग्राहीले भेट्नुपर्ने, भन्नुपर्ने अवस्था नआउने गरी तयारी गरिरहेका छौं । अहिले आठ हजारको तथ्याङ्क हेर्दा १० प्रतिशत मात्र गुनासो आएका छन् ।
कसैले आज निवेदन दिएर सबै काम आजै सक्न खोज्दा काम नभएको हुन सक्छ । दर्ताको हकमा जुन–जुन कार्यालयमा बोधार्थ पत्र जानुपर्ने हो ईमेलबाट सम्बन्धित कार्यालयमा जान शुरु भइसकेको छ । दर्तापछिको प्रक्रियामा रुजु गर्नुपर्छ । यसका लागि हामीले तह घटाउँदै छौं । सेवाग्राही कार्यालय जान नपर्नेगरी काम भइरहेको छ । यसका लागि कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ । कर्मचारीले पनि घरबाटै काम गर्न सक्ने सम्भावना देखिएको छ । नेपाल सरकारको हाजिरीको नियममा तादम्य मिलाउन पर्ने हुँदा मस्यौदा तयार पार्दैछौं । कम्पनी रजिष्ट्रारको कार्यालय केही केन्द्रकृत भएको देखिन्छ । कम्पनी दर्ताका लागि बुटवल र इटहरीमा दुई वटा कार्यालय छन् । यी कार्यालयमा दर्ता बाहेक अन्य काम हुन सकेका छैनन् ।
अहिलेसम्म तीन लाख ५० हजार कम्पनी दर्ता भइसकेको छ । एक महिनामा झन्डै २० हजार कम्पनी दर्ता भइरहेको छ । त्यसअनुसार कर्मचारीको सङ्ख्या सीमित छ । कर्मचारीका बारेमा हामीले मन्त्रालयमा कुरा राखेका छौं । केही विषयमा पुनरावलोकन गर्नुपर्छ भन्ने प्रारम्भिक प्रस्ताव रहेको छ । यी सबै कुरा समेटेर अगाडि बढेमा कम्पनी दर्ता र अन्य प्रक्रिया पनि सरलीकरण गर्न सकिन्छ । अहिले कम्पनी रजिष्ट्रार कार्यालयको प्रविधि परिवर्तन भइरहेको छ । त्यसले गर्दा काममा केही ढिला भइरहेको हो । केही दिनमा भित्रै काममा सुधार देखिन्छ ।
कम्पनी दर्ताको लागि अबको तयारी
नयाँ तथा पहिलो पटक कम्पनी दर्ता गर्ने मानिसलाई अप्ठेरो पर्न सक्छ । संक्षिप्त भाषामा भिडियोसहित जानकारी कम्पनी राजिष्ट्रार कार्यालको वेबसाइटमा छ । तर वेबसाइटमा गएर हेर्ने बानी कम भएको देखिएको छ । यो समस्या विदेशमा पनि छ ।
लहडले कम्पनी दर्ता गर्ने र केही महिनामै बन्द गर्ने प्रवृत्ति विश्वभर नै देखिन्छ । अध्ययन अनुसार ९० देखि ९५ प्रतिशत कम्पनी तीनदेखि पाँच वर्षमा बन्द हुने गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्ता गर्दा सहजीकरणको लागि हटलाइन डेस्क र कार्यालय समयबाहेकको समयमा ईमेलमार्फत सहजीकरण गर्ने व्यवस्थाका लागि तयारी गरिरहेका छौं । यसका लागि कार्यान्वयमा आउन केही समय लाग्छ । अहिले सेवाग्राहीले गुनासा लिएर आएको खण्डमा प्राविधिक र प्रशासनिक टोलीमार्फत सम्बोधन पनि भइरहेको छ ।
वैदेशिक लगानीका कम्पनीको हकमा प्रारम्भिक काम उद्योग विभागमार्फत हुन्छ । उद्योग विभाग र कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर एकीकरण भई स्वचालित तरिकाले उद्योगको जानकारी आएकोमा थप कागजपत्र कुनै पनि आवश्यक पर्दैन । अहिले कागजी प्रमाणीकरण चाहिँ नोटरीले गर्नुपर्छ । अब नोटरी गरेको कागजपत्र स्क्यान गरेर ईमेलबाट पनि आदानप्रदान गर्न मिल्ने हुँदा विश्वका जुनसुकै देशबाट कम्पनी दर्ता गर्न सकिन्छ । यो प्रणाली लागू पनि भइसकेको छ ।
यो प्रणालीलाई सुदृढ गर्न तथ्याङ्कहरु, राष्ट्रिय परिचय पत्र, प्यान नम्बर एकीकरणको काम भइरहेको छ । राष्ट्रिय परिचय पत्रमा नम्बर अनिवार्य गरिएकोमा मुद्दा परेकोले तत्कालका लागि अनिवार्य गरिएको छैन । तर यसलाई एकीकरण गर्न तयारी अवस्थामा रहेका छौं ।
वैदेशिक लगानीलाई हामीले प्रवर्द्धन र प्रोत्साहन गर्ने नै रहन्छ । कम्पनीको सङ्ख्यात्मक वृिद्धलाई हेर्दा कम्पनी दर्ता गर्दा गाह्रो भएर नेपाल वैदेशिक लगानीको समस्या आएको होइन । अहिलेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन लाख ५० हजार वटा कम्पनी दर्ता भएका छन् । यस्तै वार्षिक २० देखि २५ हजार वटा कम्पनी दर्ता भइरहेका छन् । त्यसैले कम्पनी दर्ताको लागि उदार र सामान्य प्रक्रिया छ । साथै अहिले भौतिक रूपमा उपस्थित हुनु पर्दैन । राजश्व तिर्न पनि अनलाइन प्रणालीबाट तिर्न सकिन्छ ।
(कम्पनी रजिष्ट्रारकाे कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अधिकारी कम्पनी राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार हुनुहुन्छ ।