विदेशबाट फर्किएर पुर्ख्यौली पेसामा रमाउँदै युवा

 माघ २६, २०७७ सोमबार १९:५९:२१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – झण्डै १२ वर्ष कतार र मलेसियामा बिताउनुभएका सोलुदूधकुण्ड नगरपालिका ३ फलामखानीका पदमबहादुर विश्वकर्मा अहिले पुर्ख्यौली पेसामा रमाइ रहनुभएको छ । लामो समय विदेशमा बिताए पनि गाउँ फर्किएपछि परम्परागत पुर्ख्यौली पेसाको संरक्षणमा जुटेको उहाँकाे भनाइ छ ।

ओखलढुङ्गाको रगनीमा धातुसम्बन्धी उद्योग सञ्चालन गरेर विदेशको भन्दा दोब्बर आम्दानी गरिरहेको विश्वकर्माले बताउनुभयो । साथै उहाँ अन्य चार युवालाई रोजगारी दिन सफल हुनुभएको छ ।

यस्तै कतारमा चार वर्ष बिताएर फर्कनुभएका शुक्राज घतानी पनि अहिले पुर्ख्यौली पेसामै लाग्नुभएको छ । मासिक २५ हजार रुपैयाँ कमाउन विदेशको तातो घाममा दैनिक १२ घण्टा खट्नुपरेको स्मरण गर्दै अहिले पुर्ख्याैली पेसाबाटै मासिक ५०/६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।  

धातुजन्य सामग्रीको माग बजारमा बढेको र भएको सीपलाई व्यवहारमा उतार्न सक्ने हो भने नेपालमा पनि सम्भावना भएको १० वर्ष साउदीमा बसेर फर्कनुभएका कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।
विदेशमा १० वर्षसम्म पसिना बगाए पनि प्रगति गर्न नसकिएको भन्दै त्यसको दोब्बर कमाइ स्वदेशमै गर्न सकिने कृष्णबहादुरको भनाइ छ ।  

लोदिङका रमेश घतानी पनि कतारमा झण्डै पाँच वर्ष बिताएर चार वर्षअघि फर्कनुभयो । हिजोआज उहाँ तामा, पितललगायतका धातुजन्य सामग्री उत्पादनमा लाग्नुभएको छ । रोजगारीका लागि भन्दै गाउँघरका युवा विदेशिने क्रम बढेको छ । कतिपय आफ्नै रूचिले जान्छन् भने कतिपय अर्काको देखासिकी र लहलहैमा लागेर पनि जान्छन् ।

तर विदेशमा जाँदा लाग्ने लगानी र परिश्रम स्वदेशमै गर्दा राम्रो आम्दानी गर्न सकिने व्यवसायी जीतबहादुर विश्वकर्माको भनाइ छ । परम्परागत पेसा र व्यवसाय सङ्कटमा पर्दै गएको विवरण सार्वजनिक भइरहेका बेला सोलुखुम्बुका युवा भने पुर्ख्यौली व्यवसायमा रमाइरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले परम्परा मात्र धानेका छैनन्, आम्दानी पनि गरिरहेका छन् । आफूहरूले यही पेसाबाट मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको वैदेशिक रोजगारमा आठ वर्ष बिताएर दुई वर्षअघि फर्कनुभएका तामाखानीकै रामकुमार विश्वकर्माले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया