डोटीमा प्याराग्लाइडिङले पर्यटकको आकर्षण बढ्दै

 माघ २९, २०७७ बिहिबार १०:३०:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिका-२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।

करिब एक महिनादेखि बुडर तथा रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ सुरु गरिएपछि प्याराग्लाइडिङ गर्नेहरुको आकर्षण बढ्न थालेको हाे। 

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका क्षेत्रका स्थानीयको रोजाइमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरतबहादुर कुँवरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले प्याराग्लाइडिङ उडान गर्न सुरु गरेपछि आन्तरिक पर्यटकहरु बढ्दै गएका छन्, अहिले यहाँ चहलपहल बढ्नुका साथै होटेल व्यवसाय पनि राम्रै चलेको छ ।’ अहिले दैनिक जसो ७/८ जना आन्तरिक पर्यटकहरुले दैनिक प्याराग्लाइडिङ उडान गर्ने गरेको छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिले जनाएको छ । 

करिब २० मिनेटको उडान अवधि रहेको यस प्याराग्लाइडिङ उडानमा बुडर, छतिवन, रुपसकाँडा, बाजीलेक तथा डडेल्धुरा जिल्लाका भित्री मधेसमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ। 

समितिकाअनुसार प्याराग्लाइडिङका लागि चार हजार रुपैयाँको टिकट तोकिएको छ । रुपसकाँडामा अहिले दैनिक दुई वटा प्याराग्लाइडिङ टेण्डमबाट उडान सञ्चालन भइरहेको छ । छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समिति तथा स्काइलाइन प्रालि पोखराले पर्यटकहरूलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् ।

रुपसकाँडामा हावाको वेग स्थिर हुने हुँदा प्याराग्लाइडिङ उडान भर्न सहज हुने गरेको पाइलट विष्णु तिमिल्सिनाले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'कुनै ठाउँमा हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न समस्या हुन्छ तर यहाँ सबै मिलेकाले उडान भर्न सजिलाे छ ।'

जोरायल गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर मल्लले प्याराग्लाइडिङको आकर्षण बढाउन थप कार्यक्रमहरु अघि सार्ने योजना बनाइएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया