कर्णाली : दुर्गमका नागरिकलाई टेलिमेडिसिन सेवा

 माघ ३०, २०७७ शुक्रबार १०:४९:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ । 

जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन । 

दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका  हुन । टेलिमेडिसिन सेवा सुरू भएपछि बिरामीलाई सहज भएको र स्वास्थ्य सेवाको पहुँचमासमेत वृद्धि हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

कर्णाली प्रदेशमा स्वास्थ्य सेवा सुलभ छैन । एकातिर दरबन्दीअनुसार चिकित्सक छैनन् भने अर्कोतिर स्वास्थ्य पूर्वाधारको अभाव उस्तै छ । भौगोलिक विकटताका कारण चिकित्सकहरूको रोजाइमा कर्णाली पर्दैन ।

दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ मात्र होइन स्वास्थ्यकर्मी भेट्नसमेत मुस्किल छ । प्रदेशमा ६६ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । एक सय ३३ दरबन्दी रहेकोमा अहिले २८ जना चिकित्सक मात्र कार्यरत छन् । प्रदेशमा एक जना चिकित्सकले झण्डै आठ हजारलाई सेवा दिनुपर्ने अवस्था छ ।

चिकित्सकसँगै नर्स, पारामेडिक्स र महिला स्वास्थ्य स्वयम्सेविकाहरुकाे कर्णालीमा निकै अभाव छ । एक जना नर्सले एक हजार एक सय ३२, परामेडिक्स एक जनाले एक हजार ७२ र महिला स्वास्थ्य स्वयंसेविकाले एक जनाले चार सय २२ जनालाई सेवा दिँदै आएका छन् । 

स्वास्थ्य सेवामा पहुँच बढाउन तथा बिरामीको सहजताका लागि थालिएको अभियान टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । प्रविधिको प्रयोगबाट सबै नागरिकले स्वास्थ्य सेवा लिन पाउने अवस्था भने अझै पनि छैन । चिकित्सक अभावमा विशेषज्ञ सेवा लिनबाट वञ्चित केही नागरिकलाई भए पनि राहत मिलेको बताइएको छ । 

प्रदेश अस्पतालले गएको वैशाखदेखि टेलिमेडिसिन सेवा सुरु गरेको हो । प्रदेश सरकारले दुर्गममा रहेका सीमान्तकृत समुदायलाई लक्षित गरी प्रदेश अस्पतालकै जसरी विशेषज्ञ सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरू गरेको थियो । अहिले यो सेवा दिन कर्णाली प्रदेश अस्पतालसँग ६ जिल्लाका दश वटा पालिका जोडिएका छन् ।

प्रदेश अस्पतालकाअनुसार मुगुको मुगुमकार्मारोङ र खत्याड गाउँपालिका, जाजरकोटको जुनीचाँदे र बारेकोट गाउँपालिका, हुुम्लाको सर्केगाड, अदानचुुली र चंखेली गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिकामा टेलिमेडिसिन सेवा उपलब्ध छ  । 

केहीदिन पहिले मात्र दैलेखको महाबु गाउँपालिका र डोल्पाको ठूलीभेरी नगरपालिकामा पनि सेवा विस्तार गरिएको छ । अहिले प्रदेशभर १० वटा पालिकाका ४० वटा स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन गरिएको छ । यीमध्ये एक जिल्ला अस्पताल हो भने अरू स्वास्थ्य संस्थाहरू हुन् । यी संस्थाहरुबाट कोरोना सङ्क्रमितसहित करिब एक हजार बढीले सेवा लिएका छन् । 

टेलिमेडिसिन सेवाको प्रभावकारिता दिन प्रतिदिन बढ्दै गएको प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बताउनुभयो । अहिले सुरुवाती चरणमा केही संस्थाहरू मात्र समेटिए पनि बिस्तारै प्रदेशका सबै ठाउँबाट सेवा पुग्ने उहाँले जानकारी दिनुभयो । विशेष गरेर उहाँको नेतृत्वमा प्रदेश अस्पतालबाट सेवा सञ्चालन गरिरहेको छ । 

उहाँले भन्नुभयो ‘विकट ठाउँमा विशेषज्ञ चिकित्सक अभावमा नागरिकले सेवा नपाउने समस्या छ । यो प्रविधिले नागरिकले आफू बसेकै ठाउँबाट सेवा लिन सक्छन्।'  डा. केसी अबको मेडिसिनको भविष्य भनेकै टेलिमेडिसिन सेवा भएको बताउनुभयो ।  

स्वास्थ्य समस्या भएका व्यक्तिले घरमै बसेर डाक्टरहरूबाट परामर्श लिन सकिने भएकाले यो सेवा कर्णालीका लागि बढी प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ । उहाँले दैलेखको महाबु गाउँपालिकामा रहेको अस्पतालमा डाक्टरका लागि विज्ञापन गर्दा पनि नगएपछि अहिले टेलिमेडिसिन जडान गरेर सेवा दिएको उहाँले जानकारी दिनुभयो । 

टेलिमेडिसिन प्रदेश सरकारको ड्रिम प्रोजेक्ट भएकाले पनि यसलाई प्रभावकारी रूपमा अघि बढाइनुपर्ने डा. केसीले उहाँले बताउनुभयो । 

यसरी दिइन्छ सेवा

टेलिमेडिसिन सेवा सञ्चालनका लागि प्रदेश अस्पतालमा अपरेटर कक्ष बनाइएको छ । त्यहाँ टेलिमेडिसिन अपरेटरको व्यवस्था गरिएको छ । कर्णाली कियर सफ्टवेयरको माध्यमबाट टेलिमेडिसिन सेवा दिइन्छ । 

टेलिमेडिसिन अपरेटर नरेन्द्र चन्दकाअनुसार दुर्गम ठाउँका स्वास्थ्य संस्थामा ओपीडी सेवाका लागि आएका बिरामीहरूको त्यहाँ उपचार हुन नसकेको अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको हिस्ट्री लेखेर पठाउँछन् । त्यही आधारमा अपरेटरले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई जानकारी गराउँछन् र चिकित्सक र बिरामी तथा स्वास्थ्यकर्मीसँग प्रत्यक्ष भिडियो कन्फ्रेन्समार्फत जोड्ने काम गरिन्छ । 

इन्टरनेटको पहुँचमा नभएको ठाउँमा टेलिफोनबाट पनि परामर्श दिने गरिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया