नागरिक कहिलेसम्म ‘भेडा’ बनिरहने  ?

 फागुन २, २०७७ आइतबार १३:२७:४८ | हरि ज्ञवाली
unn.prixa.net

वि.सं. २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् लौहपुरूष गणेशमान सिंहले तत्पश्चातको चुनावमा आफ्नी श्रीमती मङ्गलादेवी सिंह र पुत्र प्रकाशमान सिंह दुवै पराजित भएपछि रिसको झोकमा राजधानीवासीलाई ‘भेडा जनता’ को संज्ञा दिए ।

यो संज्ञा, ‘पदवी’ र ‘बिम्ब’ लाई कालान्तरमा नागरिक आफैँले पनि रमाइलो मानी गफगाफ हुँदा ‘हामी त भेडा नै रहेछौँ’ भन्दै आत्मस्वीकारका अभिव्यक्ति बेलाबेलामा प्रकट गर्ने गरेका छन् । दासतापूर्ण मनोवैज्ञानिक चिन्तनका कारण नागरिकले आफ्नै नेताहरूकै बोलीमा लोली मिलाएर भेडोजस्तै एकोहोरो बनिरहेका तथ्य घटनाक्रमहरूले स्पष्ट पार्छन् ।

देश परिवर्तनका लागि नेपाली नागरिक राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा धेरैपटक नेताहरूका भेडा बनिसकेको प्रमाण ती घटनाक्रमहरूले देखाउँछन् । यो फगत आरोप हैन, ऐतिहासिक र वस्तुगत यथार्थ हो ।

नागरिक भेडा बने कि बनाइए ?

नेपाली नागरिक आफैँ भेडा बनेका छन् कि राजनीतिक नेताहरूले उनीहरूलाई विभिन्न बहाना र निहुँमा भेडा बनाएका छन् ? यो आफैँमा एउटा अनुसन्धानको विषय हो ।

विसं. २००७ सालअघि हाम्रा पुर्खालाई ‘जनताले दुःख पाउनुको एकमात्र कारण राणाशासन हो’ भनियो । हाम्रा पुर्खाहरूले त्यही बुझे । जानी–नजानी राणा शासन फ्याँक्न क्रान्ति गरे । तर २००७ सालको प्रजातन्त्रपछि देश झन् अस्थिर बन्यो । 

२०१५ सालको आम चुनावमा देशको इतिहासमै पहिलो पटक दुई तिहाइको सरकार बन्यो । त्यसलाई पाखा लगाएर राजा महेन्द्रले २०१७ सालमा मौलिक व्यवस्थाको नाममा पञ्चायत जन्माए । ३० वर्षसम्म पञ्चायतले दमन गरेको भनेर नागरिकलाई आन्दोलित बनाउने काम भयो ।

‘निर्दलीय पञ्चायती व्यवस्था मुर्दावाद !’ भन्दै नागरिक सडकमा ओर्लिए । २०४६ सालमा त्यसलाई पनि मिल्काए । प्रजातन्त्रको पुनर्बहालीले देशमा विकास, सुशासन र समृद्धि आउला भन्ने आशा गरियो । अब चाहिँ केही हुन्छ भनेर जनता बुरूक्क उफ्रिए तर परिणाम निराशाबाहेक केही भएन ।

प्रजातन्त्रको पुनर्बहालीको केही वर्षमै केही मान्छेहरू जङ्गल पसे । अब त ठूलै उपलब्धि हुनेछ भनेर नागरिकले त्यो पनि पत्याए । हजारौँले ज्यान दिए, हजारौँको ज्यान लिए । त्यो पनि विनाश र विध्वंशबाहेक अरू केही भएन । जनता भेडामात्रै बने । 

पुनः गणतन्त्रको नाममा २०६२/०६३ सालमा जनआन्दोलन भयो । राजतन्त्रका कारण नागरिकले दुःख पाएको भनियो । गणतन्त्रका लागि नागरिक मर्न, मार्न र बलिदानी दिन तयार भए । 

संविधान निर्माणपछि कम्युनिस्टहरूलाई चुनावमा जिताए देशमा स्थिरता र समृद्धि आउँछ भनियो । नागरिक सुखी र समृद्ध हुन्छन् भन्ने आशा देखाइयो । त्यही आशामा २०७४ सालमा करिब दुई तिहाइ मत दिएर नागरिकले कम्युनिस्टलाई सरकारमा पुनः विराजमान गराए ।

पदीय भागबण्डा र स्वार्थ नमिलेपछि तीन वर्षमै फेरि यतिखेर अर्को चुनावको नाटक गरेर नागरिकलाई पुनः भेडा बनाइँदैछ । कसले पद पाउने वा कसलाई सुम्पने बारेमा विभिन्न समूहले एकपछि अर्को रूपमा सडकमा सङ्ख्यात्मक टाउका देखाउँदै स्वार्थपूर्ण तमासा देखाउँदै छन् । सिद्धान्तहीन एवम् स्वार्थपूर्ण नेता र पार्टीको अनावश्यक हाहामा लागेर नेपाली नागरिक निरन्तर भेडो बनिरहको यो अर्को बलियो प्रमाण हो । 

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रको नाममा हामी धेरैपटक नेताहरूको भेडो बनिसकेका छौँ । अहिले गणतन्त्रको नाममा नागरिकलाई भेडा बनाइँदै छ । यतिखेर कम्युनिस्ट पार्टीका केपी ओली समूह र प्रचण्ड–माधव समूहमा विभक्त भएर पार्टीका शीर्ष नेताहरू अत्यन्तै तल्लोस्तरको गालीगलौज र आरोप–प्रत्यारोपमा सिँगौरी खेलिरहेका छन् ।

हाम्रो समाजमा अस्वाभाविक मानिएका तर नेपाली शब्दकोषका तमाम गाली एवम् अश्लील शब्दहरूसमेत एक–अर्काविरूद्ध प्रयोग गरेर सडकमा तमासा देखाइरहेका छन् । सिद्धान्त, विधि, त्याग, तपस्या, बलिदान र सङ्घर्षलगायतका कम्युनिस्ट शब्दहरू अहिले उनीहरूको शब्दकोषमा छँदै छैनन् ।

नेतृत्व तहमा पलाएको हदैसम्मको छाडापन, अहमता, संवेदनहीनता, अदूरदर्शिता र कर्तुतले कम्युनिस्ट पार्टी कुनै पनि काेणबाट राजनीतिक पार्टीजस्तो लाग्दैन । तर पनि नागरिक एकोहोरो भेडा बनेर उनीहरूकै पक्ष–विपक्षमा सडक र सञ्जालमा तँछाडमछाड गरिरहेका छन् । यस्तो अवस्थामा गणेशमान सिंहले भनेजस्तै कुरै नबुझी हाहामा मात्र लागिरहने एकोहाेरो भेडो नभने अरू के भन्ने ?

‘जनता भेडा बाख्रा हुन्, जे भने पनि हुन्छ, तिनको त बुद्धि नै हुँदैन’ भन्ने राजनीतिक नेतृत्व वर्गले बुझिसकेको छ । त्यसैले त नेताहरूको मनपरी चलिरहेको छ यहाँ । राजनीतिक दलका शीर्षस्थ नेताहरू आ–आफ्नो पदीय स्वार्थका लागि एकआपसमा निहुँ खोजी झगडा गर्छन् । अनि स्वार्थ नमिलेपछि देश बनाउने बहानामा एकअर्कालाई सत्तोसराप गर्दै नागरिकलाई भिडाउँछन् । 

उनीहरूको पदीय भागबण्डा र स्वार्थ मिल्दा हामी पनि मिलिदिनुपर्ने, ताली बजाइदिनुपर्ने, हर्षबढाइँ गरिदिनुपर्ने अनि उनीहरूको पदीय भागबण्डा र स्वार्थ नमिल्दा चाहिँ हामी मर्ने गरी, मार्ने गरी आन्दोलनमा गइदिनुपर्ने बिडम्बना र नियतिको अन्त्य कहिले होला ? आखिर कुनै पार्टीका अमुक नेतालाई कुर्सीमा विराजमान गराउन वा कुनै नेतालाई कुर्सीबाट हटाउन नागरिक रातदिन उनीहरूको शिखण्डी किन बनिरहने ? कतिञ्जेल उनीहरूको भेडो बनिरहने ? अब भने सोच्नैपर्छ  ।

भेडो बनिरहने कि अब नेताहरूलाई भेडा बनाउने ? 

सामन्तवाद र दलाल पुँजीपति वर्गको अन्त्य गर्दै समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य बोकेका कम्युनिस्ट पार्टीमा अहिले मौलाएको नव दलाल पुँजीपतिको उदयले वर्तमान व्यवस्था र राजनीतिक नेतृत्वप्रति अविश्वास र घृणाको वातावरण विकसित हुँदैछ ।

नागरिकको जीवनस्तर सुधार गर्छाैँ भनेर राजनीतिमा लागेको नेतृत्वको जीवनशैलीमा कायापलट हुँदा नागरिकको अवस्था झनै दयनीय बन्दै गएको छ । कसैले भन्यो भन्दैमा सबै पछि लाग्ने, एउटा भिरबाट लड्यो भने सबै भेडा भिरबाट लड्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ । अब भेडा भेडासँग, बाख्रा बाख्रासँग हुने कि फगत भेडामात्र बनिरहने ? सधैँभरि नेताका भेडा बनिरहने कि कहिलेकाहीँ उनीहरूलाई पनि भेडा बनाउन आँट गर्ने ? नागरिकले अब निर्णय गर्नैपर्छ । 

अन्तिम अपडेट: साउन १६, २०७८

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया