गुल्मी : स्वास्थ्य चौकी बनाउन पाँच रोपनी जग्गा दान

 फागुन ५, २०७७ बुधबार २०:२६:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – स्वास्थ्य चौकी अभावमा समस्या भोग्दै आएका गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटका स्थानीय अहिले निकै खुसी बनेका छन् । स्वास्थ्य चौकी बनाउन जनप्रतिनिधिहरु जग्गाको खोजीमा भौतारिरहेको अवस्थामा स्थानीय दुई जनाले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएपछि रुपाकोटमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको होे । 

रुपाकोट घर भइ रोजगारीको सिलसिलामा बेलायत रहँदै आएका मोतीराज भण्डारी र तारानाथ भण्डारीले गएको वर्ष सात लाख रुपैयाँमा स्थानीयसँग खरिद गरेको जग्गा स्वास्थ्य चौकी बनाउन उपलब्ध गराएका हुन् । 

रोजगारीको सिलसिलामा विदेशमा रहे पनि आफ्नो जन्म ठाउँ फर्कँदा कहिले गोठमा, कहिले वडा कार्यालयको साँघुरो कोठाबाट बिरामीहरुले सेवा लिएको देखेपछि जग्गा दान गर्ने निर्णय गरेको मोतीराज भण्डारीले बताउनुभयो । 

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले भण्डारीद्वयले जग्गा दान गरेर समाजमा उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको भन्दै भवन बनेपछि बिरामीहरुको उपचारमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

जग्गा दान गरेका भण्डारीद्वयले भवन बनेपछि त्यसका व्यवस्थापनका लागि आवश्यक सामग्री, एम्बुलेन्सलगायतमा समेत सहयोग गर्दै जाने बताएका छन् । 

भवन निर्माणको जिम्मा पाएको डी एण्ड डी पुष्पाञ्जली जेभीका प्रमुख सञ्जय पन्थीले तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जग्गा उपलब्ध भएपछि कम्पनीले चन्द्रकोट गाउँपालिका ७ को रुपाकोटमा एक करोड ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण सुरु गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया