काठमाण्डौका केही ठाउँमा पानी परेर भल बग्यो, मौसमविद्को रेकर्डमा भने ‘छिटपुट वर्षा’ मात्रै

 फागुन ६, २०७७ बिहिबार ७:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधवार दिउँसोपख काठमाण्डौको पश्चिमी र दक्षिणी भेगमा पानी पर्याे ।

बिहानैदेखि सामान्य बद्ली भए पनि पानी नै पर्ला भन्ने धेरैलाई लागेको थिएन । मौसमविद्ले समेत पानी नै पर्छ भनेका थिएनन् । कतैकतै छिटपुट वर्षा हुनसक्ने मौसमविद्को अनुमान थियो । तर काठमाण्डौको पश्चिमी र दक्षिणी भेगमा मौसमविद्को अनुमानलाई समेत फेल गराउने गरी भल नै बग्ने गरी पानी पर्यो ।

पानी पर्दैन भनेर छाता र रेनकोट नबोकी बाहिर निस्केकाहरु बेलुकी भिज्दै घर फर्किए । धेरै समयपछि राम्रो हिउँदे वर्षा भयो भनेर किसान खुसी भए । तर जल तथा मौसम पूर्वानुमान महाशाखाको रेकर्डमा भने बुधवार काठमाण्डौमा ‘छिटपुट वर्षा’ मात्रै भएको भन्ने उल्लेख छ । 

‘वर्षा मापन गर्ने ठाउँमा छिटपुट वर्षा मात्रै भयो, त्यसैले काठमाण्डौको दक्षिणी र पश्चिमी भेगमा पानी परे पनि हाम्रो रेकर्डमा परेन’ महाशाखाका मौसमविद् मिनकुमार अर्यालले उजयालोसँग भन्नुभयो, ‘काठमाण्डौका अरु ठाउँमा पानी पर्यो भन्ने हामीलाई थाहा छ, तर मापन गर्ने ठाउँमा नपरेपछि यति मिलीमिटर पानी पर्याे भनेर रेकर्ड राख्न सकेनौँ ।’

महाशाखाले अहिले काठमाण्डौको एअरपोर्टमा राखेको वर्षा मापन यन्त्रबाट रेकर्ड राख्ने गरेको छ । अहिले खण्डवृष्टि हुने सिजन भएकाले एउटै ठाउँमा पनि कतै पानी पर्ने र कतै पानी नपर्ने हुने गरेको मौसमविद् अर्यालको भनाइ छ । प्रि-मनसुन सुरु हुने बेला खण्डवृष्टि हुने मौसमविद् अर्यालले बताउनुभयो ।

आज पनि काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् अर्यालकाअनुसार काठमाण्डौ उपत्यकासहित पूर्वी तराई र पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि बद्ली भएर हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने र केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया