सर्वोच्चको आदेशले उब्जाएको प्रश्न : नेकपा कानुनी रूपमा फुट्ला कि जुट्ला ?

 फागुन १२, २०७७ बुधबार ८:४८:३२ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभा विघटनको घोषणा भएको पुस ५ गतेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता दुई समूहमा विभाजित छन् । एकातिर केपी शर्मा ओली र अर्कातिर पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल समूह । दुवै पक्षले आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा समेत आफ्नो उपस्थिति देखाउन खोजेका छन् । तर निर्वाचन आयोगले कसैलाई पनि आधिकारिकता दिएको छैन ।

ओली समूहले आफूसँग कार्यकारी अध्यक्ष, महासचिव र माईन्युट रहेकोले नेकपाको आधिकारिक समूह आफूहरु रहेको दाबी गर्दै आएको छ । प्रचण्ड–नेपाल समूहले कार्यकारी अध्यक्षसहित बहुमत सदस्य आफूहरुसँग रहेको दाबी गर्दै आफूहरुको निर्णयलाई निर्वाचन आयोगले सदर गर्नुपर्ने बताउँदै आएको छ । 

नेकपाको दुबै समूहले एक/अर्का नेतालाई विभागिय कारबाहीसमेत गरेका छन् । तर, उनीहरु पार्टी फुटेको कुरालाई भने स्वीकार गर्न तयार छैनन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याएपछि अब नेकपाका दुई समूहबीच एकता होला कि कानुनी रुपमै विभाजन होला भन्ने आम चासो बढेको छ । 

ओलीसँग समझदारीको सम्भावना छैन : प्रचण्ड–नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले केही दिनअघि पार्टी कार्यालय पेरिसडाँडामा आफ्ना केन्द्रीय सदस्यलाई नागरिकता र पार्टी सदस्यताको परिचयपत्रसहित उपस्थित हुन भन्यो । नागरिकता र पार्टी सदस्यताको परिचयपत्र संकलन गरेको प्रचण्ड–नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै निर्वाचन आयोगमा उपस्थित हुने बताउँदै आएको छ । आफ्नो पक्षमा बहुमत रहेको देखाउन प्रचण्ड–नेपाल समूहले नागरिकता र पार्टी सदस्यताको परिचयपत्र संकलन गरेको छ ।

आफ्नै पार्टीको संसदीय दलको नेता, अध्यक्ष एवं प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेलगत्तै अरु राजनीतिक दलले भन्दा पहिले प्रचण्ड–नेपाल समूहले असंवैधानिक भनेको थियो । संविधानमै नभएको व्यवस्थालाई प्रधानमन्त्री ओलीले प्रयोग गरेर राष्ट्रपतिमार्फत पारित गराएको भन्दै यो समूह रुष्ट छ । अब तत्कालका लागि ओली समूहसँग सहकार्यको सम्भावना नरहेको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै अब केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । उहाँलाई पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ भने राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउने प्रचण्ड–नेपाल समूहको तयारी छ । नयाँ सरकार गठनमा नेपाली कांग्रेस, जसपालगायत राजनीतिक दलहरुसँग सहकार्य गर्ने तर, ओलीसँग सहकार्य हुन नसक्ने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

राष्ट्रिय सहमति गरेर अघि बढ्न आफू तयार रहेको र आफ्नो प्राथमिकता पद नरहेको तर तत्कालका लागि ओलीसँग समझदारीको सम्भावना नरहेको प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । प्रचण्ड–नेपाल समूहका नेताहरु अब जुट्ने सम्भावना नरहेको बरु राजनीतिक घटनाक्रम नयाँ मोडमा अघि बढेको बताउन थालेका छन् ।

ओली समूहको तयारी 

ओली समूहका नेताहरुले प्रतिनिधिसभा विघटनको निर्यय बदर गर्ने सर्वोच्चको आदेश स्वीकार गर्ने भन्दै यसबाट राजनीतिक अस्थिरता सुरु हुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकअघि नै राजीनामा दिने कि अविश्वासको प्रस्ताव फेस गर्ने भन्ने विकल्पमा प्रधानमन्त्री ओली परामर्शमा हुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएको १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्ने आदेश जारी गरेकोले पनि १३ दिनभित्र राजीनामा नदिए उहाँले अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने देखिन्छ ।

अबको सत्ता समीकरण आफू अनुकूल बनाउनका लागि ओली समूहले जोडबल गरिरहेको देखिन्छ । प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलहरुसँग सत्ता समीकरण गर्न सकिने आधारको खोजीमा प्रधानमन्त्री ओली हुनुहुन्छ । 

तत्काल राजीनामा, संसदमा अविश्वास प्रस्तावको सामना र सत्ता समीकरणको अभ्यासमध्ये कुनै एक विकल्प रोजेर अघि बढ्नुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई छ । यसबारे थप छलफल गरेर के गर्ने भन्नेबारे निर्णय लिईने नेकपाको ओली समूहका नेताहरुले बताएका छन् । नेकपाका केही नेताहरुले भने दुबै समूह मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

वामदेवको एकता अभियानले काम गर्ला ?

नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एकताका लागि भन्दै अभियान नै घोषणा गरेर अघि बढ्नुभएको छ ।  प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै उहाँले आफ्नो एकता अभियानले सफलता पाउने दाबी गर्दै आउनुभएको छ । प्रतिनिधिसभा पुनःस्थापनाले झनै पाटी एक ढिक्का भएर जाने सम्भावना बढेको उहाँको बुझाई रहेको छ ।

संसद पुनःस्थापना भएसँगै पार्टी पनि पुनःस्थापित भएर जाने उहाँको तर्क छ । नेकपाका दुबै समूहले एक अर्कोसँग मिल्न सक्ने सम्भावना कम रहेको बताइरहँदा उपाध्यक्ष गौतमको ‘रसायनले’ दुई समूहलाई जोडेर फेरि नेकपा एकढिक्का भएर अघि बढाउन भूमिका खेल्ला ? धेरैले चासोपूर्वक हेरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया