ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्राे हुन्छ : शेरबहादुर देउवा

‘कांग्रेसले केही गर्दैन भनेर भाेट नदिएर हराए, अहिले फेरि कांग्रेस नै चाहियाे’

 फागुन १२, २०७७ बुधबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताउनुभएको छ । 

बुधवार महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्रो हुने बताउनुभएको हो । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरूले दबाब नदिने बताउनुभयो । 

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताउनुभयो । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडि कि त आफ्नो बहुमत पुर्‍याउनु पर्‍याे, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताउनुभयो । कांग्रेसले केही गर्दैन भनेर नागरिकले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले केही गर्दैन भनेर नागरिकले हराए, भोट दिएनन्, अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली नागरिक, बुद्धिजीवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताउनुभयो । उहाँले कसैले पनि कुनै पनि बहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया