'समुदायको नजिक खोप केन्द्रहरु विस्तार गर्दै लैजाने तयारी छ'

 फागुन २३, २०७७ आइतबार ७:१३:१४ | डा. समिर अधिकारी
unn.prixa.net

आजदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरेर दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुरुवात गर्नु हुनेछ । पहिलो खोप अभियान गएको माघ १४ गतेदेखि सुरु भएको थियो । पहिलो चरणमा,धेरै जनसङ्ख्यालाई जोगाउन सक्ने सानो वर्गलाई खोप लगाइयो । पहिलो चरणमा भएका कमी कमजोरीलाई सुधारेर दोस्रो चरणमा खोप लगाइन्छ । खोप लगाउनका लागि सबै तयारी पूरा भइसकेको छ । 

५५ वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर खोप लगाइने भनिए पनि त्योभन्दा पनि अझ जोखिम समूह ६५ वर्षभन्दा माथिकालाई सुरुमा खोप लगाइन्छ । त्यसपछि उमेर समूह घटाउँदै खोप दिइन्छ  । खोप केन्द्र व्यवस्थापनका लागि समन्वय, आवश्यक सामग्री व्यवस्थापन, केन्द्रसम्म खोप पुर्याउने, खोप लगाउनका लागि परिचालित हुने स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थालगायतका सबै काम भइसके । 

यस्तै खोप केन्द्रमा हुन सक्ने सम्भावित घटनालाई व्यवस्थापन गर्नेदेखि खोप लगाउन जानेलाई समन्वय गर्नेबारे पनि सबै तयारी भइसकेको छ । यो भनेको खोप सुरु गर्ने अवस्थासम्मको सबै तयारी सकिएको हो ।

सरकारले पहिलो चरणको खोप अभियान सञ्चालन गर्दा पनि बढी प्राथमिकतामा परेका र त्यसपछि क्रमश : कम प्राथमिकतामा परेकाको छनोट गरेको थियो । जसरी पहिलो चरणको सुरुवातमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, त्यसपछि पत्रकार र जनप्रतिनिधिलाई लगाइयो।

यो चरणमा पनि ज्येष्ठ नागरिकहरुमै पनि पहिला ६५ वर्षभन्दा माथि उमेर समूहकालाई लगाउन लागिएको हो । त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइन्छ । यसमा अलमलिनु पर्ने कुरा केही छैन । त्यसपछि बिस्तारै कम उमेर समूहकालाई खोप लगाउँदै जाने हो । 

जनसङ्ख्याको ७२ प्रतिशत नागरिक सबैलाई खोप लगाउने भनेर सरकारले त्यहीअनुसारको  तयारी गरिरहेको छ ।

खोपहरु आउँदै गर्छन् : प्राथमिकताको आधारमा लगाउँदै जाने हो  

विश्वभरको मागअनुसार खोप उपलब्ध हुन सकेको छैन । यस्तो अवस्थामा पनि नेपालले खोप ल्याएको छ । यो सकारात्मक कुरा हो । 

विश्वका धेरै विकसित देशलेसमेत सुरु गर्न नसेकेको खोप अभियान नेपालले छिट्टै नै सुरु गर्यो । तीव्र प्रतिस्पर्धाको अवस्थामा  खोप ल्याउने विषयमा पनि हामी अगाडि नै छौँ । दक्षिण एसियामा भारतपछि नेपाल खोप लगाउने पहिलो देश बनेको छ ।

अहिलेसम्म अभियान नै सुरु गर्न नसकेका देशले पनि खोप प्राप्त गरुन्  र हाम्रो अभियान पनि निरन्तर चल्दै जाओस् भन्ने उद्देश्य सरकारको हो । यहीअनुसार सरकारले पनि काम गरिरहेको छ । भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरिसकेको थियो । त्यसमध्ये १० लाख डोज आयो । बाँकी १० लाख डोज खोप आउने क्रममा नै छ । २,४ दिनको मात्र फरक होला तर समयमै आउँछ । 

कोभ्याक्स सुविधामार्फत् पनि ठूलो संख्यामा खोप आउँछ । सरकारले अर्को चरणमा ५० लाख डोज खरिद गर्नका लागि पनि प्रक्रिया अगाडि बढाइरहेको छ । खोपहरु आउँदै जान्छन् र प्राथमिकताका आधारमा लगाउँदै पनि जाने हो ।  

कोभ्याक्स सुविधामार्फत् पनि ३ लाख ४८ हजार डोज खोप नेपाल भित्र्याइएको छ । खोपको उत्पादन कम भएकाले  खोप खरिदका लागि निक्कै प्रयास गर्नुपर्छ । तैपनि सरकार लागिपरेको छ । धेरै खोप एकैपटक ल्याएर राख्नु उचित हुँदैन । खोप थन्क्याएर राखेर, खेर गयो भने नेपाललाई ठूलो आर्थिक भार पर्न सक्छ । अहिले एकैपटक धेरै खोप नल्याइएको भण्डारण क्षमता नभएर होइन ।   

अझै पनि धेरै लाख डोज खोप राख्न सक्ने क्षमता नेपालमा  छ । खोप लगाइदिनसक्ने क्षमता, ढुवानी क्षमता आदिलाई  हेरेर बिस्तारै खरिद प्रक्रिया अगाडि बढाउन खोजिएको हो । अहिलेसम्म खोप लगाएको अनुभव विश्लेषण गरेर त्यसकै आधारमा अगाडिको बाटो तय गर्दै जाने हो । बिस्तारै समुदायको पहुँच हुने गरि खोप केन्द्रहरु बढाउँदै लगिन्छ । पायक पर्ने ठाउँमा खोप उपलब्ध हुनेगरी सरकारले व्यवस्था गरिरहेको छ । 

खोप केन्द्र तोक्ने र कस्ले कुन समयमा लगाउने भनेर समन्वय गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । स्थानीय सरकारले जिल्ला खोप समन्वय समितिसँगको समन्वयमा काम गर्छ । 

खोप केन्द्रहरु धेरै टाढा छैनन्  

खोप केन्द्रसम्म जान नसक्नेहरुका लागि पालिकाले नै व्यवस्थापन गर्छ । अहिलेको चरणमा पनि खोप केन्द्रहरु धेरै टाढा छैनन् । सकेसम्म  समुदायको नजिक खोप केन्द्रहरु विस्तार गर्दै  लैजाने तयारी भइरहेको छ । वृद्धाश्रममा भएकाहरुलाई त्यही गएर खोप लगाउन निर्देशन गरिएको छ । 

नजिकैको खोप केन्द्रमा जान नसक्ने जनसङ्ख्या धेरै हुँदै गयो भने त्यसलाई पनि विश्लेषण गरेर सरकारले फेरि आवश्यक तयारी थाल्नेछ । खोप लगाउन जानुभन्दा अगाडि स्वास्थ्य केन्द्रमा आफ्नो अवस्था के छ, अरु केही समस्या छ या छैन भनेर सजग हुनुपर्छ र खोप केन्द्रमा रहेका स्वास्थ्यकर्मीले सोधेमा पनि आफूले सबै जानकारी गराउनुपर्छ । 

सम्बन्धित स्वास्थ्यकर्मीले खोप लगाउन आएकाको अवस्था थाहा पाएपछि  त्यसैअनुसार जानकारी तथा परामर्श  दिनुपर्छ । त्यतिमात्र नभइ खोप लगाउने बेलामा पनि खोप सुरक्षित भएको र खोप लगाइसकेपछि आधा घण्टा आराम गर्नका लागि स्वास्थ्यकर्मीले अनुरोध गर्नुपर्छ । खोप लगाउनेले आफूले पहिलो डोज लगाएपछि दोस्रो डोज कहिले लगाउने भनेर सोध्नुपर्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चारमाध्यम र सम्बन्धित निकायले  खोपका विषयमा पटकपटक जानकारीहरु दिइरहेका छन् । खोप एकदमै सुरक्षित भएकाले डराउनु पर्दैन । योभन्दा अगाडि पनि नेपालमा विभिन्न रोगविरुद्ध खोप अभियान  सञ्चालन भएका थिए । 

खोपले धेरैभन्दा धेरैको ज्यान जोगाउन सफल भएको छ । खोप लगाएपछि धेरै रोगहरु निर्मुल भएका, कम भएका प्रशस्तै उदाहरण छन् । नियमित लगाइने खोपहरुबाट पनि सामान्य समस्या  देखिन्छ । कोरोनाको खोप नयाँ हो भन्दैमा डराउनु पर्दैन । 

सुरुमा खोपबारे केही नकारात्मक भ्रमहरु फैलिए । ती भ्रमहरु अहिले कम हुँदै गएका छन् । कसैले भ्रमपूर्ण कुराहरु सुनाएमा पनि आधिकारिक कुरा के हो भनेर बुझ्नुपर्छ । आधिकारिक व्यक्ति वा संस्थाको कुरा बुझेर र सुनेर त्यहीअनुसारको धारणा बनाउनुपर्छ । र सूचना सम्प्रेषण गर्नुपर्छ । 

कागले कान लग्यो भनेर कसैले भन्यो भने कागको पछाडि दौडिनुभन्दा कान मसँग छ कि छैन भनेर हेर्नुपर्छ । नयाँ विषयमा समाजले पहिला नै आफ्नो धारणा बनाएका हुन्छन् । आफ्नै धारण फैलाइरहेका पनि हुन्छन् । त्यसको पछाडि लाग्नु हुँदैन । 

नेपालमा अहिलेसम्म साढे ४ लाखभन्दा धेरैले खोप लगाइसकेका छन् । खोप लगाउनेमध्ये लाखौँ स्वास्थ्यकर्मी हुनुहुन्छ । विश्वमा २८ करोडभन्दा धेरैले  खोप लगाइसकेका छन् । तर खोपकै कारण कसैको पनि ज्यान गएको छैन । त्यसैले कसैले खोपलाई लिएर नराम्रो टिकाटिप्पणी गरेको छ भने पनि पत्याउनु हुँदैन  । 

कोरोनाको खोप या जुनसुकै खोप लगाउँदा सियोले छालालाई घोचेपछि अलिअलि दुख्छ । सामान्य  टाउको दुख्ने, सामान्य वाकवाकी लाग्ने हुन्छ । यो स्वाभाविक घटना हो । मुर्छा परेमा, एक्कासी गाह्रो भएमा त्यो अस्वाभाविक घटना हो । त्यही भएर खोप लगाइसकेपछि केही समय स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भनिएको हो । नेपालमा त्यस्तो अस्वाभाविक घटना कसैलाई पनि भएको छैन ।

आधा घण्टाभित्रमा गम्भीर समस्या देखिएन भनेपछि फेरि गम्भीर समस्या देखिने सम्भावना  त्यति हुँदैन । नेपालमा जम्मा ८ जनालाई समस्या देखिएर अस्पताल भर्ना गरिएको त्यो पनि अहिले ठिक भइसकेको छ । 

खोप नै कोरोनाको औषधि होइन   

खोप नै औषधि होइन । जनस्वास्थ्यको मापदण्डको पालना गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

खोप पनि लगाउँदै जाने र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्दै जानुपर्छ । समुदायमा रहेका १० जनामध्ये ७ जना सुरक्षित भएपछि अर्कोमा सर्ने चक्र कम हुन्छ । त्यही भएर समुदायमा १० जना छन् भने ७ जनाले खोप लगाउनै पर्ने हुन्छ । त्योसँगै सधैंभरि भन्दै आएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न छुटाउनै भएन । 

नेपालमा कोरोना भाइरसविरुद्धको खोप आइपुग्न एक वर्ष लाग्यो । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोना मात्र नभइ अरु रोगबाट पनि बच्न सकिन्छ । कोरोनाको अहिले लगाइएको पहिलो डोज खोप लगाएको न्यूनतम ४ हप्तामा  र अधिकतम १२ हप्ताको अन्तरालमा लगाउँदा राम्रो हुन्छ । पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज पनि त्यसैगरी लगाउने तयारी भइरहेको छ । 

(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा .समिर अधिकारीसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित ) 

अन्तिम अपडेट: चैत २३, २०८०

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया