एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षाका लागि, सङ्घीय गणतन्त्रकाे रक्षाका लागि, सङ्घीयता पक्षधर शक्तिसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दालाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ, त्यस्ता शक्तिसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँच गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल केपी ओली समक्ष पटक–पटक राखिएको भए पनि ओलीले झुलाएकाे बताउनुभयो । आफ्नो माग जसले पूरा गर्छ उसैलाई समर्थन गर्ने नेता महतोको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरि गर्ने ? त्यसैका लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरूलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? माग पूरा गरे हुन्छ नत्र हुँदैन । हामीले भन्दै आएका माग जसले पूरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो । रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल आजको होइन नि, यो त पटक–पटक राखेकै हो नि, केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्नेबाहेक केही काम गरेका छन् केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्याे नि ।’
जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो मुद्दाबारेमा सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताउनुभयो । नेकपा (एमाले) सँग सत्ता समीकरणबारे छलफल गर्न कार्यदल नबनेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘हामीले सरकारको चर्चा गरेको छैन अहिले । कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेको छैन ।’
सत्ता समीकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो मुद्दा सम्बोधन भए सरकारबारे सोच्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।