चील जस्तै आकाशमा उडेको देख्दा दङ्ग परे मालिकाबासी

 फागुन २९, २०७७ शनिबार १४:३१:२८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – खुल्ला आकाशमा मानिसहरु चील जस्तै सजिलैसँग उडेको देख्दा गाउँबासी दङ्ग परे । कतिपय त घरको काम छोडेर हतारहतार गर्दै मानिस कसरी उड्दा रहेछन् भनि एकोहोरो आकाशमा हेरिरहे । कतिपयलाई त यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पानासम्म पनि थिएन ।

तर गुल्मीको मालिका गाउँपालिकामा पन्ध्र दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ्ग महोत्सवले यति बेला सबैको मन लोभ्याइ दिएको छ । यहीबेला धेरैले प्याराग्लाइडिङको पहिलोपटक अनुभव पनि बटुले । तर मनमा रहर भए पनि त्यही मनभित्रबाट निस्केको डरका कारण कतिपयले भने गाउँमै आएको अवशर गुमाए ।

‘शुरुमा त मनमा कताकता डरलागेको थियो तर धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरेँ’ गाउँपालिका उपाध्यक्ष देवा अर्यालले प्याराग्लाइडिङ्ग गरेपछि खुसी व्यक्त गर्नुभयो ।

आकाशमा चरा जस्तै उड्दै गर्दा सुन्दर पाखापखेरा र डाँडाकाँडा नजिकबाट देख्दा निकै रमाइलो लागेको उहाँले बताउनुभयो । मनोरञ्जनसँगै अरुलाई पनि उत्साह दिनका लागि आफूले प्याराग्लाइडिङ्ग गरेको गाउँपालिका उपाध्यक्ष देवा अर्यालको भनाइ छ ।

मालिका गाउँपालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यहरुको खोजीमा टेवा पुर्याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ्ग महोत्सव आयोजना गरिएको थियो । १५ दिनसम्म सञ्चालन भएको महोत्सवमा ८६ उडान गरिएको थियो । गएको मंसिर अन्तिम हप्ता स्काइ लाइन प्याराग्लाइडिङ्ग पोखराको टोली मार्फत मालिका गाउँपालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परीक्षण गरिएकोे थियो । स्काइ लाइन प्याराग्लाइडिङ्ग पोखराका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङ्गको हिसाबले पोखराको विकल्प बन्न सक्ने बताउनु भएको छ ।

भौगोलिक दृष्टिकोणले मालिका गाउँपालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे डौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचुर सम्भावनाहरु रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ ।

मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सव मार्फत मालिका प्याराग्लाइडिङ्गको हिसाबले एउटा व्यावसायिक हब बन्न सक्ने भन्दै पालिकाको तर्फबाट आउने दिनमा थप सहयोग र निरन्तरताको लागि पहल गर्ने बताउनु भएको छ । बाह्य पर्यटकहरुले लामो दुरीमा प्याराग्लाइडिङ्ग गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङ्गको लागि उपयुक्त गन्तव्य हुन सक्ने थापाले बताउनु भयो ।

व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाको तर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ्ग महोत्सव सञ्चालन गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताउनु भएको छ । गाउँपालिका आफैले महोत्सव सञ्चालन नगरे पनि स्थानीय संघ संस्थाहरुले गरेका कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया