‘ओलीले दिएको पीडा कहिल्यै बिर्सन सकिन्नँ, आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको ?’

 चैत ४, २०७७ बुधबार १३:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् ।

भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षाैँसम्म सँगै लडेका साथीलाई दिनुसम्म पीडा दिएको गुनासो गर्नुभयो । ‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने षड्यन्त्र गर्नुभएको छ । आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको होला ? केपी ओलीले दिएको पीडा त कहिल्यै पनि बिर्सन सकिन्नँ’, शाक्यले भन्नुभयो । 

अध्यक्ष ओलीमा नैतिकता नै नभएको शाक्यको आरोप छ । ‘तपाईँले संविधान र लोकतन्त्र मास्ने नियतका साथ गरेको प्रतिगामी कदमलाई सर्वोच्चले उल्टाइदियो, यदि तपाईँमा अलिकति पनि नैतिकता बाँकी रहेको हुन्थ्यो भने राजीनामा दिइहाल्नुहुन्थ्यो तर तपाईँमा अलिकति पनि नैतिकता रहेनछ, उल्टै अरूलाई सिकाउँदै हिँड्नुभएको छ’, नेतृ अष्टलक्ष्मी शाक्यले भन्नुभयो । 

तत्कालीन एमाले र माओवादी केन्द्रको एकताकै सहारामा ओली सत्तामा पुगेको र त्यसपछि मनपरी गर्दै एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको नेतृ शाक्यको भनाइ छ ।  

सर्वोच्चले एमाले बिउँताइदिएपछि २०७५ सालको जेठ ३ गतेअघिकै अवस्थामा फर्कनुपर्नेमा ओलीले बालुवाटारमा गुट चलाउने र आफ्नो चाकरी गर्नेलाई मात्रै पद दिएर अरूलाई चिढाएकाे शाक्यको आरोप छ ।  

एमालेलाई एकताबद्ध बनाउने हो भने ओलीले अहिलेसम्म गरेका गल्तीमा क्षमा माग्नुपर्ने र भविष्यमा लोकतन्त्र र पार्टीको विधान विरोधी काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने शाक्यले बताउनुभयो । 

‘आत्मालोचना गर्नुहोस्, सबैलाई समेट्नुहोस्, अवसर छ, विधान मिच्न पाउनुहुन्न । २८ गतेको निर्णय तत्कालै फिर्ता गर्नुहोस् । माफी माग्नुहोस् । हामी चाहन्छौँ एमाले एक होस्’, शाक्यले भन्नुभयो ।  

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया