कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित

 चैत ४, २०७७ बुधबार १७:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।

अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएकाे माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार (हिजो) सम्म चलेको थियो । अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।

यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्राे मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । दोस्राे चरणअन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दाेस्राे मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया