सरकारकाे सामर्थ्यले भ्याएन, किसानलाई नाेक्सान नहुने गरी विदेशी लगानी भित्र्याउनुपर्छ : मन्त्री अर्याल

 चैत ९, २०७७ सोमबार १५:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ । सोमवार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरू छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी आवश्यक भएकाले किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको हो । 

कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । किसानलाई नोक्सान हुन नदिने गरी, किसानलाई संरक्षण गर्ने गरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्र्याउने मन्त्री अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा साना व्यवसायी किसानलाई मार्ने गरी होइन । उहाँहरूको संरक्षण गर्ने गरी, उहाँहरूको अझै थप विकास गर्ने गरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला आज कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आज ठूलो लगानी गर्नुपर्ने कुरा सरकार एक्लैले गर्न सक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामर्थ्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानी पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ, उत्पादन बढाऔँ, निर्यात पनि गर्ने । हामीलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रा किसानलाई निरुत्साहित बनाउने गरी होइन । हाम्रा किसान, व्यवसायीलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसान जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्र छन् । ती क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

मन्त्री अर्यालले कोभिड–१९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई हजारौँको सङ्ख्यामा रोजगारी सिजर्ना गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवा हजारौँ युवालाई रोजगारीको कार्यक्रम लिएर अगाडि बढेका छौँ । फार्मको रूपमा, ठूला–ठूला फार्म व्यावसायिक हिसाबले लैजाने गरी हजारौँ युवालाई हामी रोजगारी दिने गरी, उहाँहरूको पनि लगानी राज्यको पनि लगानी गर्ने गरी अगाडि बढेका छौँ ।’

मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गर्नुभयो । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्राङ्गारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उहाँको भनाइ छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया