कोरोनाको जोखिम बढे पनि सीमा नाकामा कडाइ छैन

 चैत १०, २०७७ मंगलबार १४:३:१५ | जानुका दुवाडी
unn.prixa.net

केही हप्तादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको छ ।

भारतमा उच्च बिन्दुमा पुगेर नियन्त्रण उन्मुख पुगिसकेको कोरोना भाइरसको सङ्क्रमण दर एक्कासी बढ्न थालेपछि नेपालमा पनि यसको डर बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेखेर उच्च सतर्कता अपनाउन र  भारतबाट आउनेहरुको परीक्षण गर्न निर्देशन दिइसकेको छ । 

सरकारले सीमानाकामा निगरानी गर्न निर्देशन दिए पनि धेरैजसो नाकाहरुमा निगरानीको काम अगाडि बढ्न सकेको छैन । केही नाकाहरुमा बल्ल सुरु गर्ने तयारी छ । केही सीमानाकालाई व्यवस्थित बनाउने  भन्नेबारे अझै अन्योल नै छ । 

नेपाल र भारतबीचको सीमानाकामा अब त कोरोना सकिसक्यो र कहिल्यै पनि आउँदैन भनेझैँ मानिसहरु निर्बाध रुपमा आउनेजाने गरिरहेका छन् । मोरङको जोगबनी नाकामा पनि अहिलेसम्म कुनै पनि खालका सुरक्षाका उपायहरु अवलम्बन गर्न थालिएको छैन । यो नाकाबाट पनि दैनिक रुपमा सामान्य अवस्थामा जस्तै मानिसहरु आवतजावत गरिरहेका छन् । 

भारतमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको र नेपालमा समेत जोखिम हुँदासम्म  यो नाकाबाट भारत जाने र आउनेको  डाटा राख्ने कामसमेत सुरु भएको छैन । सामान्य ज्वरो नाप्ने काम वा हेल्थडेस्क पनि स्थापना गरिएको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले स्वास्थ्य टोलीसहितको बैठक बसिसकेको र अब भने निगरानी बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो 'हामी बैठक बसिसकेका छौँ । अब छिट्टै निगरानी बढाइन्छ' भारतबाट जोगबनी नाका हुँदै नेपाल छिर्नेलाई एन्टिजेन विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि परिपत्र गरिसकेकाले अब छिट्टै निगरानीका सबै प्रक्रिया सुरु हुन्छ' उहाँले भन्नुभयो । 

पछिल्लो समय मोरङमा १० जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमण देखिएकाहरुमा नयाँ भाइरस हो वा पुरानै हो ? भनेर ट्राभल हिस्टी हेर्ने काम भइरहेको उहाँले बताउनुभयो । यस्तै उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने तयारी पनि भइरहेको  निरौलाले बताउनुभयो । 

थप प्रभावकारी र व्यवस्थित कसरी बढाउने भन्ने विषयमा भने फेरि बैठक बसेर छलफल गर्ने उहाँले बताउनुभयो । जोगवनी नाकामा पहिलेदेखि नै हेल्थ डेस्क भएकाले त्यसैलाई थप प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । 

कैलालीमा रहेको नेपाल भारतका सीमानाका  गौरीफन्टा पनि धेरै मानिसको आवतजावत हुने महत्त्वपूर्ण नाका हो । तर यो नाकामा पनि अहिलेसम्म कुनै कडाइ गरिएको छैन । भीडभाड उस्तै छ । भारत जाने र आउनेको लर्को पनि उस्तै छ ।  नाकामा पुगेर आउनुभएका स्थानीय नारायणी जोशी नेपाल प्रवेश गर्नेको डाटा लिने कामसमेत यो नाकामा सुरु नभएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ 'अहिले त डाटा लिने कामसमेत बन्द भएको रहेछ । ज्वरो नापेको पनि  देखिएन ।' उहाँले थप्नुभयो 'कतिपय मानिसहरु त मास्कसमेत नलगाइ हिँडेका छन् । मास्क नलगाउनेलाई मास्क लगाउनसमेत कसैले आग्रह गरेको छैन ।'

यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा भने सामान्य निगरानीको काम सुरु भएको छ । बिहान साढे ६ बजेदेखि ८ बजेसम्म  भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई नाकामा ज्वरो नाप्न  सुरु गरिएको छ । यस्तै एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण पनि थालिएको छ । छिटो रिपोर्ट आउने भएकाले कन्ट्याक ट्रेसिङ गर्न पनि सहज हुने भएकाले परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । डाटा इन्ट्री गर्ने काम पनि सुरु भएको छ । 

दाङको कोइलाबास नाकामा अहिलेसम्म कुनैपनि सतर्कता अपनाइएको छैन । यो नाकामा पनि सामान्य ज्वरो नाप्ने, हल्थ डेस्क राख्नेलगायतका कामसमेत सुरु भएको छैन । सरकारले निर्देशन दिएकाले अब भने निगरानी बढाउने काम सुरु गर्ने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि  दाङमा विपद्  व्यवस्थापन समितिको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । तर यो नाका लगभग ठप्प जस्तै रहेको पौडेलले बताउनुभयो ।

यो नाकाको नेपालतर्फ भन्सार कार्यालय भए पनि भारततर्फ नभएकाले सामान ल्याउन पाइँदैन । अहिले यो नाका  लगभग ठप्पजस्तै रहेको उहाँको भनाइ छ । त्यही भएर भारतबाट दाङ आउने धेरैजसो  मानिसहरु नेपालगञ्जको कृष्णनगर नाका भएर  आउँछन् । 

तैपनि कोही शङ्कास्पद बिरामीहरु भेटिएमा भने निगरानी बढाउने, ज्वरो नाप्ने, हेल्थ डेस्क राख्ने, क्वरेण्टीन बनाउने, आइसोलेशन बनाउनेलगायतका तयारी अगाडि बढाउने उहाँको भनाइ छ । सङ्क्रमितहरु बढ्न थालेमा सुरुमा  नेपालमा सङ्क्रमण बढेको बेला जस्तो खालको निगरानी र सर्तकता अपनाइएको थियो, त्यस्तै खालको सतर्कता अपनाइन्छ ।  

यस्तै दार्चुलासँग सीमा जोडिएको धार्चुला नाका र बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि अहिलेसम्म  कुनै पनि कडाइ गरिएको छैन । व्यवस्थित पनि बनाइएको छैन । यी नाकाहरुमा पनि विपद् व्यवस्थापन समितिको बैठक बसेर मात्र जनस्वास्थ्यका मापदण्ड अपनाउनेलगायतका काम गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्वराज जोशीले बताउनुभयो । 

अबको एक महिनामा नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सचेत रहन इपिडिमियोलोजी तथा रोग  नियन्त्रण महाशाखाले अनुरोध गरिसकेको छ । त्यही भएर नाकाहरुमा कडाइ गर्न भनिसकेको छ । तर नाकाहरुमा भने सरकारले भनेअनुसारको कुनै पनि तयारी भएको छैन । कोरोना भित्रने जोखिम नाकाहरुबाट धेरै हुने भएकाले यी ठाउँमा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । 

सरकारले यसभन्दा अगाडि नै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । सभा, जुलुस, गोष्ठीलगायतका भीडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । केही दिनयता छिमेकी भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।

सरकारले  भने जोखिम बढेपछि  भारतसँग सीमा जोडिएका नाकामा निगरानी गर्न थालेको जनाएको छ । सम्भावित जोखिमयुक्त ठाउँहरुमा सरकारले एन्टिजेन परीक्षणका लागि आवश्यक किटसमेत पठाउन थालेको महाशाखाका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न पनि सरकारले आग्रह छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया