दैलेख घटना : आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु

 चैत १२, २०७७ बिहिबार १४:३७:५४ | अमर सुनार
unn.prixa.net

फाइल फाेटाे

दैलेख – चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ ।

सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजीरसिंह थापाले दिएको उजुरीका आधारमा मानसिंहलाई बिहीवार पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजीत सुनारले बताउनुभयो ।

सुकी आफू, तीन छोरी र एक छोरासमेत पाँच जनाले गएकाे फागुन २४ गते बिहान कर्णालीमा हाम फालेर ज्यान गुमाउनुभएको थियो । घटनामा सुकी, उहाँका छोरीहरू १५ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, सात वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।

घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा भेटिएकाे थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उहाँका छोरा ललितको शव, त्यस्तै १० दिनपछि कान्छी छोरी रोशनीको शव कर्णाली नदीमै भेटिएको थियो ।

आठबीस नगरपालिका ३ जाक्सी तलको कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव अछामको पञ्चदेवलविनायक नगरपालिका ४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।

शव भेटिएकै जिल्लामा मुद्दा चलाउने प्रहरीको तयारी भए पनि ज्यान गुमाउनेहरू पनि दैलेखकै भएको र उजुरीकर्ताले पनि दैलेखमा मुद्दा चलाउँदा आफूहरूलाई सहज हुने जनाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराइएको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

घटनाको उपज

सुकी र चार सन्तानको आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएका सुकीका श्रीमान् मानसिंह बडुवालले मिडिया चर्चा भएजस्तो ज्यादै धेरै तनाव दिएको नदेखिएको घटनालगतै अनुसन्धानमा संलग्न दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।

घटनाबारे आरोपित मानसिंह बडुवालले भन्नुभयाे, ‘भारतबाट आएको तीन महिना भएको थियो । बच्चा बसेछ, उसले फाल्दिउँ भनी मैले हुन्छ भनेँ । त्यसका लागि गाउँमा ब्याजे लगाएको १० हजार फिर्ता मागेर ल्याएँ, एक हजार मासेँ । पाँच हजार बाकसमै छोडिछ, चार हजार लिएर छोराछोरी लिएर सबैको ज्यान हालिछ (फालिछ) । अहिले माइतीले मुद्दा हाले, कानुन मान्नै पर्‍याे । बच्चा फाल्ने कुरा पनि नाइँ भनेको थिइनँ, उसका मनमा के होर चल्यो । आफू र बच्चाहरूसमेतको ज्यान हाली । आफू गइ–गइ, मलाई बाँचेको फाँदो ।’ तर उजुरीकर्ता बजीरसिंह थापाले मानसिंहले तनाव दिएका कारण आफ्नी दिदी सुकी र भान्जाभान्जीकाे ज्यान गएकाे प्रतिक्रिया दिनुभएकाे छ ।

घटनाको मनोवैज्ञानिक विश्लेषण

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रोशनी सानो मान्छे भएका कारण बाँधिएको ठाउँबाट अलग्गिएका कारण ढिला फेला परेको हुन सक्ने त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सन्देश ढकालको विश्लेषण छ ।

घटनाबारे समाचारमा आएका विवरणको आधारमा आमाले आत्महत्या गर्ने दृढता लिएको र आफू मरिसकेपछि बालबालिकाले दुःख पाउँछन् भन्ने चिन्ताले सबैको ज्यान जाने लिने निधो गरेको हुन सक्ने आफ्नो ठम्याइ रहेको मनोविद् विनोद पौडेलले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत ४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया