‘सुनौलो भविष्यका कुरा, थोरै-थोरै बचतले हुनेरैछन् पूरा’

 चैत १२, २०७७ बिहिबार १४:४१:२५
unn.prixa.net

रामकुमार थापा

धादिङ – जसरी नदीनाला मिलेर सागर बन्छ । एउटा/एउटा ईट्टा थप्दै जाँदा घर बन्छ । त्यस्तै दिनमा १०/२० रुपैयाँ बचत गर्दै जाँदा एक दिन लाखौँ रुपैयाँ जम्मा हुन्छ ।

धादिङकी रविना पोखरेललाई पनि थोरै थोरै बचत गरेर लाखौँ रुपैयाँ जम्मा गर्नुछ । परदेश गएका श्रीमानलाई घर फर्काउनुछ । त्यसैले उहाँलाई अहिले खुत्रुकेमा पैसा नराखी निन्द्रा नै लाग्दैन । 

‘समयमै पैसा बचत गरे, भविष्य उज्ज्वल हुने रहेछ’, रविना भन्नुहुन्छ, ‘पहिले बच्चालाई चाउचाउ, बिस्कुट र घरमा दैनिक खर्च गरेर सक्किने पैसा अहिले खुत्रुकेमा जम्मा हुन थालेको छ ।’

पहिले कहिले केही कहिले केही गर्दै दिनमा सय पचास रुपैयाँ त्यत्तिकै सकिन्थ्यो । तर अहिले १०⁄२० रुपैयाँ खुल्ला पैसा हुने वित्तिकै रविनाको हात खुत्रुकेमा पुग्छ । पहिले पैसा खर्च गर्न केही नमान्ने रविना अहिले कसरी पैसा बचत गर्नुपर्छ भन्ने सोच्न थाल्नुभयो त ?

रविना खुशी हुँदै भन्नुहुन्छ, ‘ वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि मैले पैसाको महत्व बुझेँ अनि बचत गर्नुपर्छ भन्ने लाग्यो ।’

गएको वर्ष फागुनमा रविनाको गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षामा रविना पनि सहभागी हुनुभयो ।
नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामीले ३९ जिल्लाका १५६ पालिकामा विप्रेषण प्राप्त गर्ने  परिवारका सदस्यका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिरहेको छ ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारका लागि लक्षित यो कक्षामा सहभागी भएपछि विस्तारै रविनाको सोचमा पनि परिवर्तन आयो ।

‘सूर्य उदाएदेखि अस्ताएसम्म पैसा खर्च भइराख्थ्यो, कहिले बच्चालाई खाजा, कहिले घरमा नुन, तेल, मसला त कहिले अन्य खाद्यान्न’ रविनाले आफ्नो अनुभव सुनाउनुभयो, ‘सुरुसुरुमा त मलाई बचत गरेर के हुन्छ र जस्तो लाग्थ्यो, कक्षामा सहभागी हुँदै जाँदा कम आम्दानी हुँदा पनि बचत गर्न सकिँदो रहेछ भन्ने बुझ्दै गएँ ।’

अहिले रविनाको सोचाइ मात्र परिवर्तन भएको छैन, व्यवहार पनि परिवर्तन भएको छ । दैनिक रुपमा आम्दानी र खर्चको हिसाब राख्न थाल्नुभएको छ । खर्चको लेखाजोखा गर्दै जाँदा अनावश्यक खर्च घटाउन सकिन्छ भन्ने बुझ्नुभएको छ । त्यसैले त उहाँ अहिले दिनमा २० रुपैयाँ खर्च कटाएर खुत्रुकेमा जम्मा गर्नु हुन्छ । 

‘श्रीमानले कमाएको पैसाको महत्व बुझेँ’

वित्तीय साक्षरता कक्षाले रविनालाई पैसा बचत गर्न मात्रै सिकाएन, रेमिट्यान्सको महत्वबारेमा पनि सिकायो । विदेशमा श्रीमानले दुःख गरेर कमाएको पैसाको सदुपयोग गर्नुपर्छ, भविष्यको लागि आधार तय गर्नुपर्छ भन्ने पनि सिक्नुभयो । 

महिना महिनामा रविनाको श्रीमानले पैसा पठाउनु हुन्थ्यो । एकैपटक आफ्नो हातमा धेरै पैसा आउँदा रविनालाई त्यसलाई कहाँ खर्च गर्ने थाहै हुन्नथ्यो । श्रीमानले विदेशबाट पठाएको पैसाले घरखर्च लगायत ऋण तिर्नुहुन्थ्यो । त्यसबाट बाँकी रहेको पैसा कहाँ सकिन्थ्यो पत्तै हुन्नथ्यो । हातमा पैसा भएपछि अगाडि जे दिखिन्छ त्यहि किन्ने बानीले गर्दा श्रीमानले कमाएको पैसा सबै सकिन्थ्यो ।

‘श्रीमानले २ वर्ष दुबैबाट पठाएको पैसा कहाँ कति खर्च भयो अहिलेसम्म अत्तोपत्तो छैन’, रविना ओठ टोक्दै भन्नुहुन्छ, ‘एउटा सामान किन्ने सोच बनाएर पसल गयो अनि अरु सामान नि देखेपछि मन परिहाल्थ्यो, अनि किन्ने गर्थें, त्यसरी नै पैसा सकिन्थ्यो ।’

यति मात्र होइन रविनालाई सबै कुरा एक्लै धान्नुपर्दा कहिलेकाहीँ गाह्रो पनि हुन्थ्यो । पैसा लेनदेनको मेसो नजान्दा पैसा कहाँ सकियो थाहै हुँदैन थियो । यस्तै एक जना कमाउने बाँकी सबैले खर्च गर्ने हुँदा परिवारमा असमझदारी समेत बढ्थ्यो । 

कक्षामा बस्न थालेपछि भने रविनालाई पैसा लेनदेनदेखि पैसा बचत गर्न निकै सहज भएको छ । दैनिक रुपमा खर्च घटाएर बचत गर्न थाल्नु भएको छ । पैसा बचत गरेर मात्र हँुदैन पैसाले पैसा कमाउन सक्ने ठाउँमा लगानी गर्नसके भविष्य सुरक्षित हुने उहाँको बुझाइ छ । त्यसैले रविना अहिले खुत्रुकेको बचत सहकारीमा जम्मा गर्नुहुन्छ ।

‘म अहिले दैनिक २० रुपैयाँ खुत्रुकेमा राख्छु, महिनामा ६ सय रुपैयाँ जम्मा हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘अनि त्यसलाई फुटाएर साना किसान कृषि सहकारी संस्थामा व्यक्तिगत बचत गर्न थालेको छु ।’

यस्तै रविनाले दैनिक खर्चको हिसाब राख्ने, परिवारमा छलपल गर्ने, पारिवारिक बजेट बनाएर खर्च गर्ने, फुर्सदको समयमा मेतापातमा काम गरेर आम्दानी गर्ने गर्नुभएको छ । वित्तीय महत्व बुझिसक्नुभएको छ । पैसालाई सही ठाउँमा कसरी लगाउने भन्ने कुरा उहाँको दिमागमा खेलिरहन्छन् । त्यसैले त होला, उहाँले आफ्नो छोराको बिमा गर्ने पनि सोच्नुभएको छ । 

‘मैले छोराको बिमा गर्नका लागि वित्तीय लक्ष्य समेत बनाइसकेको छु, अब आउँदो जेठमा छोराको बिमा गर्छु’, उहाँ भन्नुहुन्छ, ‘सुनौलो भविष्यका कुरा, थोरै-थोरै बचतले हुनेरैछन् पूरा’

समग्रमा वित्तीय साक्षरता कक्षामा सहभागी भएर आफूले धेरै कुरा सिक्न पाएको उहाँ बताउनुहुन्छ । 

‘कक्षामा सहभागी हुनुभन्दा पहिले परदेशमा श्रीमानले कुर्सीमा बसेर कमाउने त हो जस्तो लाग्थ्यो, तर उहाँले निकै दुःख गरेर कमाउनुहुँदो रहेछ भन्ने बल्ल बुझेँ’, उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘त्यसैले श्रीमानले मरुभूमिमा पसिना बगाएर कमाएको पैसा अनावश्यक खर्चमा नसकौँ बरु बचत गर्न थालौँ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया