सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा चिकित्सक पक्राउ

 चैत १४, २०७७ शनिबार ८:५६:२५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रवार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।

राजविराजकाे छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई ​उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । 

डा. जैसवालले त्यही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी ३२ वर्षीया महिलालाई अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेका धमलाले बताउनुभयो। 

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलामाथि बालिकालाई जाँच गर्ने बहानामा अश्लिल क्रियाकलाप गरेका प्रहरीले जनाएकाे छ । 

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा. जैसवालले भने आफूले शिशुलाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएका थिए।

पीडितले शुक्रवार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनुभएको छ । प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

अस्पतालले तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया