‘अहिले पनि सरकार नबदल्ने हो भने टाउको समातेर रुनुको विकल्प हुँदैन’

 चैत २७, २०७७ शुक्रबार १६:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन सङ्घकाे केन्द्रीय कार्यसमितिले काठमाण्डाैमा आयोजना गरेकाे राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍याे भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भए पनि सरकार बदल्न इमानदार प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘संसद्को रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍याे कि गरेन, कसरी गर्‍याे, यसको पनि लेखाजोखा इतिहासमा हुने छ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले यो अहिलेको निरङ्कुशतातिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ । विकल्पका लागि हामी उदार बनेर, जसरी विकल्प आउँछ त्यसरी, हामीले सम्झौता गरेर अरू पार्टीहरूसँग मिलेर हामीले बदल्ने काममा इमानदार प्रयत्न गर्नुपर्छ । 

नेता पौडेलले विगतमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताउनुभयो । त्यसैले चुनाव–चुनाव भनेर बस्न नहुने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अब एउटा चान्स त हामीले अस्ति नै मिस गरिसकेका छौँ । जुन बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन्, त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव–चुनाव–चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो, हाम्रा साथीहरूको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’ 

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । अहिलेको सरकारको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकाले त्यसलाई बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन, पार्टी यस्तो अवस्थामा छ । चुनावमा हाम फाल्ने कुराले हामीलाई कहाँ पुर्‍याउँछ । आज हामीले एउटै कुरा सोचौँ कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनका लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषदमा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्‍याङ चढ्न खोजेको पुष्टि भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने नेता पाैडेलले बताउनुभयो । व्यवस्था बचेमा मात्रै सत्ता आफैँ आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘व्यवस्था बचाउनुपर्छ, सत्ता भन्दा व्यवस्थालाई महत्त्व दिनुपर्छ । सत्ता भन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौँ र इमानदार प्रयत्न गर्‍याैँ भने सत्ता आफै आउँछ ।’ 
समुदायलाई लोकतान्त्रिकीकरण गर्न आफूलाई पनि लोकतान्त्रिकीकरण बनाउन तयार हुनुपर्ने नेता पाैडेलले बताउनुभयो । अहिले कम्युनिस्टहरू पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाइँमा लाग्न उहाँले

कर्मचारीहरूलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईँलाई पक्ष हाम्रो लिनुहोस् भन्दिन तर पक्षपात रोक्नुहोस् । निष्पक्षता अपनाउनुहोस् । पक्षपातको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस् । नाङ्गो रूपमा कम्युनिस्टहरू पक्षपातको शासनमा उत्रेका छन, आजको हाम्रो लडाइँ तिनैसँग हो । हाम्रो लडाइँ यही सिद्धान्तको लडाइँ हो । सत्ताको लडाइँ होइन ।’

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया